बिहीबार, जेठ ३, २०८१

इण्डोनेसियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

मेरोन्यूज २०७९ फागुन २० गते १९:५१

काठमाडौँ । इण्डोनेसियाको जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

Advertisement

जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी)का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेशनमा शुक्रबार राति करिब ८ः०० बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए ।

उक्त आगो निभाउन ५० भन्दा बढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब छ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ ।

विस्फोटले यस क्षेत्रका हजारभन्दा बढी बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो । प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्तलमा सारिएको छ ।

उक्त घटनामा आठ जना बेपत्ता भएको बताइएको छ । घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् ।

प्रतिक्रिया