मंगलबार, जेठ ८, २०८१

‘दर्शन सलाम…’ गीतका गायक डेभिड शंकर भन्छन्- विदेश पलायन सोच छैन (अन्तर्वार्ता)

मेरोन्यूज २०७९ फागुन २० गते १७:०१

चाहे पिकनिकमा होस्, या दोहोरी साँझमा, चाहे सार्वजनिक बसमा यात्रा गर्ने क्रममा होस् या रेडियोमा, केही गीतहरु सदाबहार बजिरहन्छन् । आम श्रोताहरुको मनमा गुन्जिरहन्छन् । गायक डेभिड शंकरले आवाज भरेका केही गीतहरु त्यस्तै कर्णप्रिय छन् । पहिलो नम्बरमा, दर्शन सलाम, किरिम पाउडर, शिरैमा शिरबन्दी जस्ता गीतहरु पस्किएर चर्चामा आएका शंकर लामो समयदेखि सांगितिक क्षेत्रमा संघर्षरत छन् ।

Advertisement

पाँचथरको कुममायोक गाउँपालिका ४ रानीगाउका शंकरले फिदिमबाट एसएलसी उत्तीर्ण गरे । शंकरदेव क्याम्पसबाट बिबिएस उत्तीर्ण गरेका उनी पहिल्यैदेखि गीत संगीतमा निकै रुची राख्थे । उनले पुतली सडकस्थित अनुराग संगीतमा ६ महिना र संगीतकार विकास चौधरीको इन्सिट्च्युट्मा तीन वर्ष संगीत सिके । मेरोन्युजका लागि नरेन्द्र रौलेले उनै गायक शंकरसँग गरेको छोटो कुराकानी ?

तपाईंले अहिलेसम्म कतिवटा गीत रेकर्ड गरिसक्नु भयो ?
गीतको संख्या त डेढ सय प्लस पुग्यो होला ।

तपाईंको पहिलो रेकर्डेड गीत कुन हो ?
एल्बमका लागि कल्ले भन्यो तिमीलाई म माया गर्दिन ? बोलको गीत हो । यो २०६५ सालमा रेकर्ड भएको हो । यो मेरो एकल गीत हो । यस गीतका दर्शक, श्रोता आफ्नै खालका छन् । व्यापक चर्चा नपाए पनि ठिकै चल्यो ।

सबैभन्दा हिट् गीतहरु कुन–कुन हो ? कुन गीतले तपाईंको पहिचान बनायो ?
घिनघिन मादल, पहिलो नम्बरमा, दर्शन सलाम, किरिम पाउडर, शिरैमा शिरबन्दी ।

यी गीतहरुले यति चर्चा बटुल्छन् होला भनेर सोच्नु भएको थियो ?
एक मनमा यी तीन वटा गीत चल्ला कि भन्ने चाहीं थियो । तर, धरमर थियो । यति लोकप्रिय होला, दर्शक, श्रोताहरुको मुखमुखमा झुन्डिएलान् भन्ने थिएन ।


सांगितिक यात्राका सिलसिलामा अहिलेसम्म कति देश पुग्नु भयो ?
१० वटा देशमा पुगें । बेलायत, स्वीट्जरल्याण्ड, दुबई, कतार, मलेसिया, अस्ट्रेलिया घुमिसकें । बेल्जियम लगायत केही देश दोहोर्‍याएर पुगें । विदेश पुग्दा नेपालीहरुको माया पाएको छु । अत्यन्तै राम्रो प्रतिक्रिया दिन्छन् । त्यो माया, सद्भावले म मा अझै जिम्मेवारी बोध गराउँछ । अझैं राम्रो गर्नुपर्छ भन्ने आधार दिन्छ ।

गीत, संगीतमा लागेर जीवनयापन गर्न सकिन्छ ?
एक हिसाबमा छ । अर्को हिसाबमा छैन । कसरी ब्याख्या गर्न सकिन्छ भने, गीत संगीतलाई बुझेर, संघर्ष गर्दै गयो भने सम्भाबना छ । रातारात कमाउन, सफल बन्न सम्भब छैन । घर बनाउँछु, सुखी जीवन जिउँछु भन्न सक्ने अवस्था छैन । चलचित्रका गीतमा राम्रो पारिश्रमिक छ । अन्य ठाउमा बजेट हेरेर हुन्छ ।

तपाईंको मनमा विदेसिने सोच छ कि छैन ?
कोही सोखले पलायन भए । कोही बाध्यताले पलायन भए । अहिलेको अवस्थामा विदेसिने मेरो सोच छैन । जाने आउने घुम्ने आफ्नो ठाउमा छ । तर, बाहिरै गएर बस्छु भन्ने सोचेको छैन । अहिलेसम्म यसैमा रमाइरहेको छु । यहाँ स्वतन्त्र जीवन बाँचिरहेको छु । उता मिनेट मिनेटमा हिसाब गरेर काम गर्नुपर्छ । संघर्षपूर्ण जीवन बाँच्नुपर्छ ।

काठमाडौं आएपछि के कस्तो संघर्ष गर्नुभयो ?
शब्दमा भन्नै सकिदैन । संघर्षका लामै किताब बन्छन् होला । अरुका लागि प्रेरणाको किताब बन्न सक्छ । भविष्यमा छाप्नुपर्छ होला ।

युवा पुस्ताहरुलाई के म्यासेज छ ?
गीत संगीतमा केही गर्ने सोच छ भने ५/१० वर्ष लाग्छु, यो क्षेत्रमा समय दिन्छु, संघर्ष गर्छु भन्ने छ भने आउँदा हुन्छ । सबै कुरा बुझेर, ज्ञान बटुलेर आउँन सल्लाह दिन्छु । नसिकेर आयो भने व्यवसाययिक गायक बन्न गार्‍ह्रो छ ।

प्रतिक्रिया