शुक्रबार, वैशाख ७, २०८१

अब सबै सरकारी निकायका वेभसाइट एउटै ढाँचामा, नयाँ टेम्प्लेट निर्माण अन्तिम चरणमा

मेरोन्यूज २०७९ फागुन १४ गते १७:१३

काठमाडौँ । नेपाल सरकारका विभिन्न निकायहरूले निर्माण गर्ने वेभपेजहरू एउटा स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

राष्टिय सूचना तथा प्रविधि मन्त्रालयले तयार गरेको टेम्प्लेटलाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायहरूले आफू अनुकूल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएपछि निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो ।

हाल सरकारी निकायहरूले कार्यालयअनुसार निजी क्षेत्रको परामर्श सेवामार्फत वेभसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी बाह्य श्रोतको परामर्श सेवा लिएर वेभसाइट बनाउँदा त्यसको गुणस्तरीयता तथा सुरक्षामा समेत समस्या देखिने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो लिएको थियो ।

अहिले निर्माण भएका कतिपय कार्यालयका वेभसाइट पुरानो सोर्स कोड, प्रविधि तथा टेम्प्लेटहरू प्रयोग भई निर्माण भएकाले तिनी साइबर सुरक्षाका दृष्टिले उच्च जोखिममा रहेको गुनासो जनस्तरमा देखिन्छ । अर्कोतर्फ लेआउट तथा प्रयोगका दृष्टिले समेत सहज र सरल बनाउन सूचना प्रविधि केन्द्रलाई नयाँ टेम्प्लेट बनाउन निर्देशन दिइएसँगै यस विषयमा गृहकार्य गर्न सूचना प्रविधि केन्द्र, प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि शाखा र डेभलपर टिमसँग निरन्तर छलफलपछि नयाँ टेम्प्लेट परिमार्जन गरिएको हो ।

एउटै स्टाण्डर्डको ढाँचामा वेभपेज निर्माणले भविष्यमा वेभपेजहरूको सुरक्षा निरीक्षण (सेक्युरिटी इन्सपेक्सन) तथा प्रणाली अपडेट गर्नसमेत सहज हुनेछ । साइबर सुरक्षामा देखिने जोखिमलाई एउटै प्रणालीबाट हल गर्न सकिने तथा वेभ डेभलपमेण्टको क्षेत्रमा विकास हुने नयाँ प्रविधिलाई समेत एउटै प्लेटफर्मबाट अपडेट गर्न सहज हुनेछ ।

हाल कार्यालयले सरकारी बजेटमा निजी क्षेत्रको परामर्शमा वेभसाइट बनाउने परिपाटीले राज्यलाई आर्थिक भारसमेत थपिँदै गएको छ । हरेक निकायले वेभसाइट निर्माण गर्न प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने परिपाटीले वेभसाइट निर्माणमा मात्रै ठूलो बजेट खर्च हुने गरेको छ । प्रधानमन्त्रीले हरेक क्षेत्रमा मितव्ययिता अपनाउन निर्देशन दिनुअनुरुप अहिलेको अभ्यासले राज्यको श्रोत अनावश्यकरुपमा खर्च हुने क्रम रोकिने, मितव्ययिता बढने र प्राविधिक तथा प्रयोगका दृष्टिले समेत प्रभावकारी हुने देखिन्छ ।

त्यसैले स्टाण्डर्ड वेभपेजको ढाँचालाई सबै निकायले प्रयोग गर्नुपर्ने गरी तयारी अघि बढेको छ । प्रधानमन्त्री कार्यालय तथा सिंहदरबारका सबै कार्यालयबाट नयाँ टेम्प्लेट प्रयोगको कार्यलाई अघि बढाउँदै देशैभरिका सबै निकायमा प्रतिस्थापन गर्ने योजना रहेको छ ।

पछिल्लो समयमा सरकारी वेभपेजहरूमा अनाधिकृत प्रवेश गरी आक्रमण गर्ने, ह्याक गर्ने क्रम बढ्दो रहेको छ । सरकारी सर्भर तथा वेभसाइटहरूको प्राविधिक सुरक्षा कमजोर भएको गुनासो समेत जनस्तरमा देखिन्छ । यसका लागि अहिलेको अभ्यासले वेभसाइटहरूलाई सुरक्षित बनाउन छ । साइबर सुरक्षाका बारेमा अध्ययन गर्न भने मन्त्रिपरिषद्ले उच्च स्तरीय समिति निर्माण गरिसकेको छ ।

उक्त समितिले साइबर सुरक्षामा देखिएको जोखिमको सुक्ष्म अध्ययन गरी सुधारका उपाय पत्ता लगाउने छ । साइबर सुरक्षासँग सम्बन्धित सबै पक्षका बारेमा यो समितिले अध्ययन शुरु गरेको छ भने एउटै स्टाण्डर्ड टेम्प्लेटको काम पनि केही दिनमा पूरा हुन्छ । यसबाट सरकारले प्रयोग गरिरहेका सबै डिजिटल प्लेटफर्महरु उच्च स्तरमा सम्पादन हुने, सेवा तथा सूचना प्रवाह प्रभावकारी हुने तथा सुरक्षित हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया