शनिबार, वैशाख ८, २०८१

गुगलमा एक गल्तीले खाताबाट आठ लाख गायब, के तपाई त यस्ताे गल्ती गर्नुहुन्न ?

मेरोन्यूज २०७९ फागुन १४ गते १५:५०

अनलाइन ठगीका घटनाहरु तिव्र गतिमा बढिरहेका छन् । स्क्यामरहरूले मानिसहरूलाई फसाउन अनलाइन विभिन्न प्रकारका जालहरू फैलाउँछन्। यस्तै एक घटना भारतको नोएडामा पनि भएको छ, जहाँ एक प्रयोगकर्तासँग ८।२४ लाख रुपैयाँ ठगी भएको छ । यो ठगीको सम्पूर्ण मामला अनलाइन खोजमा भएको गल्तीसँग सम्बन्धित छ। 

पीडित दम्पती ज्येष्ठ नागरिक हुन्, जो आफ्नो डिशवाशरको लागि ग्राहक सेवा नम्बर खोजिरहेका थिए। उनीहरु नोएडाको सेक्टर १३३ मा बस्छन्। उजुरीका अनुसार अनलाइन ठगीको यो घटना जनवरी २२ र २३ तिरको हो । प्रहरीले यस विषयमा एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ । 

कसरी भयो ठगी ?
एफआईआरका अनुसार अमरजीत सिंह र उनकी श्रीमतीले गुगलमा आईएफबी डिशवाशरको ग्राहक सेवा नम्बर खोजिरहेका थिए। उनकी श्रीमतीले आईएफबी कस्टमर केयरको नाममा गुगलमा रहेको अनलाइन सर्चबाट एक नम्बर निकालिन् ।

यद्यपी, यो नम्बर बन्धन बैंकको ग्राहक सेवाको रूपमा देखाइएको थियो । वृद्धका अनुसार उनकी श्रीमतीले सोही नम्बरमा फोन गर्दा एउटी महिलाले फोन उठाइन् र सिनियरलाई फोन जोड्न भनिन् ।

यसपछि कथित सिनियर अधिकारीले उनकी श्रीमतीलाई फोनमा AnyDesk एप डाउनलोड गर्न भने र केही विवरणहरू सोधे। यसपछि ठगीहरूले महिलालाई १० रुपैयाँको लेनदेन गर्न भने, ताकि कम्पलेन दर्ता हुन सकोस् । 

प्रक्रियाको क्रममा, ठगहरूको कल धेरै पटक कट्यो र उनीहरूले व्यक्तिगत नम्बरबाट लगातार कल गरे। सोही दिन साँझ ४ः१५ बजे वृद्धको खाताबाट २।२५ लाख रुपैयाँको कारोबार भएको थियो । भोलिपल्ट बिहान मोबाइलमा अर्को म्यासेज आयो, जुन ५।९९ लाखको थियो।

पीडितले यसबारे प्रहरी र बैंक दुवैलाई जानकारी गराइन् । यसपछि उनले आफ्नो संयुक्त खाता रोक्का गरिन् । तर, त्यतिन्जेल ढिलो भइसकेको थियो र उनको खाताबाट धेरै पैसा काटिएको थियो। 

यसबाट तपाईं कसरी बच्न सक्नुहुन्छ ?

अनलाइन ठगीको यो घटना नयाँ होइन । यस्ता घटना विगतमा पनि धेरै पटक देखिएका छन् । स्क्यामरहरूले कहिलेकाहीँ ग्राहक सेवाको नाममा अनलाइन प्लेटफर्महरूमा धेरै नक्कली नम्बरहरू दर्ता गर्छन्।

जसका कारण उपभोक्ताले जहिले पनि अनलाइन सर्च गर्दा यो फेक नम्बर देख्छन् । प्रयोगकर्ताले कल गरेपछि, ठगी गर्नेहरूले उसलाई आफ्नो जालमा पाछर्न। यस्ता घोटालाहरूबाट आफूलाई बचाउनको लागि, तपाईंले अनलाइन खोजी गर्दा होसियार हुनुपर्छ।

तपाई यस्ता कुनै पनि नम्बरमा कल नगर्नुहोस्, बरु कम्पनीको आधिकारिक वेबसाइटबाट ग्राहक सेवा नम्बर लिनुहोस्। आफ्नो व्यक्तिगत उपकरणमा कुनै पनि डेस्क वा अन्य कुनै एप डाउनलोड नगर्नुहोस्।

यसले स्क्यामरहरूलाई तपाईंको डाटामा पहुँच दिन्छ। ग्राहक सेवाले तपाईसँग कहिल्यै पैसा माग्दैन, तपाईले कुनै पनि सेवाको लागि तिर्नु परे पनि सेवा सकेपछि तिर्नु पर्छ।

प्रतिक्रिया