शुक्रबार, चैत १६, २०८०

‘अभागी’ रामचन्द्रलाई भाग्य फेर्ने मौका !(बायोग्राफीसहित)

सरकार र पार्टी दुवैतर्फ पहिलो स्थान हासिल गर्न नसकेका पौडेल राष्ट्रपतिमा चुनिए उनको सुखद राजनीतिक विश्राम हुनेछ

मेरोन्यूज २०७९ फागुन १३ गते १२:४१

काठमाडौं । ४ बैशाख २०७५ मा पोखरा पुगेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल कार्यकर्तासँग धुरुधुरु रोएका थिए । पार्टी नेतृत्वको कार्यशैलीका कारण विरक्तिएका पौडेलले त्यसबेला कार्यकर्तासँग रुँदै भनेका थिए, – ”पार्टीभित्र झांगिएको बेथिति देख्दा कहिलेकाहीँ मलाई आत्महत्या गरूँझैँ लाग्छ ।”

राजनीतिमा उनलाई कहिल्यै चतुर खेलाडीका रुपमा हेरिएन । राजनीतिक दाउपेचमा कमजोर भएकाले उनी देशको र पार्टीको प्रमुख पदमा पुग्न नसकेको टिप्पणी हुने गथ्यो । तर, जीवनको उतरार्ध समयमा भने उनी विगत भन्दा अलिक चतुर देखिए ।

जसकाकारण एमालेको पञ्जामा परिसकेका माओवादी अध्यक्ष प्रचण्डलाई ओलीको शब्दामा ढोक्सा थापेरै भएपनि आफुतिर तान्न र सम्वैधानिक पद राष्ट्रपतिमा आफुलाई बलियो रुपमा प्रस्तावित गराउन सफल भएका छन् ।

२५ फागुनमा हुने राष्ट्रपति चुनावमा जित निकाल्न सके भने ७८ वर्षीय नेता पौडेलको ६ दशक पुरानो राजनीतिक जीवनले सन्तोषको सास फेर्ने छ । सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न अहिलेसम्म चुक्दै आएका पौडेल सेरोमोनियल नै भएपनि राष्ट्रपति पद उछिट्याउने अन्तिम चरणमा छन् ।

तत्कालिन पार्टी सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका थिए – रामचन्द्र पौडेल । त्यसपछि १३ औं महाधिवेशनमा उनी शेरवहादुर देउवासँग पार्टी सभापतिमा चुनावी प्रतस्पिर्धामा उत्रिए । ‘कार्यवाहक’ को फुर्को हटाउने उनको चाहना देउवाले पूरा हुन दिएनन । त्यसपछि उनले देउवाको पार्टी सञ्चालनमा खरो टिप्पणी गदैं आएका पनि थिए । त्यहीक्रममा पोखरा पुगेर ४ बैशाख २०७५ मा पौडेल कार्यकर्तासामु धुरुधुरु रोएका थिए ।

Advertisement

तर १४ औं महाधिवेशनबाट उनले मझधारको राजनीति गरे । हुनत: विगतदेखि वर्तमानसम्म कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी नेताका रुपमा पौडेललाई चिनिन्थ्यो । तर १४ औं महाधिवेशनयता भने उनलाई देउवाका भित्रिया सहयोगीका रुपमा समेत इतर समुहले आरोप लगाउन थालेका छन् ।

आफूप्रति निष्ठावानहरुलाई संरक्षण गर्न नसक्ने वा नगर्ने, केवल आफ्नो स्थान सुरक्षित बनाउन इच्छुक हुने गरेको आरोप उनीमाथी पछिल्लो दिनमा अलिक बेसी नै लाग्न थालेको थियो ।

आफनो समुह छोडेर १४ औं महाधिवेशनमा मौन बसेझै गरेर देउवालाई नै जिताउन भूमिका खेलेको, माओवादीसहितको गठबन्धन निर्माणमा भूमिका खेलेको, चुनावमा समेत माओवादीसहित गठबन्धनमा निरन्तर लविइङ गरेको र संसदीय दलको चुनावमा मसक्कै देउवालाई साथ दिएपछि उनी माथी देउवाका भित्रिया बनेको आरोप पछिल्लो दिनमा लाग्न थालेको थियो ।

त्यसको लागि उनले देउवासँग राष्ट्रपतिमा सौदावाजी गरेको आरोप लागेको थियो । देउवाले पौडेललाई अहिले राष्ट्रपतिको उम्मेदवार बनाएर पछिल्ला दिनमा गरेको सहयोगको गुन तिरेका छन् । राष्ट्रपतिको आकांक्षा राखिरहेका कृष्णप्रसाद सिटौला लगायतका नेतालाई पाखा लगाएर देउवालाई आफनो पक्षमा निर्णय लिन पौडेलले चर्तुरयाईपूर्वक कदम चालेका छन् ।

पौडेलको राजनीतिक जीवनयात्रा

वीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि त्यतिबेला १६ वर्षका रामचन्द्र ढुन्मुनाउँदै राजनीतिमा छिरे । त्यसपछि कहिल्यै बाहिर निस्कन सकेनन् । वीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरे पौडेलले । यद्यपि, त्यतिबेलादेखि नै पौडेलले पार्टीभित्र समन्यकारी भूमिकाको अभ्यास गर्न थालेका थिए ।

युवा अवस्थामा नै शीर्ष नेताहरुबीचको अन्तरसंघर्षका क्रममा आफूले सम्वन्ध सेतुको काम गर्ने गरेको पौडेल स्वयमले बताउने गरेका छन् । बनारसमा रहेका बीपी कोइराला र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा आफूले नै उनीहरुबीच सम्वाद स्थापित गराउने गरेको दाबी पौडेलले गर्ने गरेका थिए ।

‘म त्यो मान्छे हो, जसले अनेक आँधीहुरी र बतास आउँदाखेरि पनि लोकतन्त्रको दीयो निभ्न दिएको छैन । कांग्रेस संकटमा पर्दा मेरो वरिपरिबाट थुपै्र साथीहरु भागे । तर, म कहिल्यै पनि विचलित भइँन,’ आफ्नै बारेमा पौडेलले एक अन्तवार्तामा यसो भनेका थिए ।

विसं २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर उनी राजनीतिमा होमिएको थिए ।

नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी थिए । र, उनी संस्थापक केन्द्रीय सदस्य बने ।

त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रोपटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए ।

०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । ०६२ सालमा कांग्रेस महामन्त्री भए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि थिए । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित भए ।

तर ०७२ को संविधान निर्माणपछि भएको ०७४ को चुनावमा भने उनी तनहुँ १ बाट तत्कालिन एमालेका नेता (हाल एकीकृत समाजवादीका नेता) किसन श्रेष्ठसँग पराजित भए । ०७९ मंसिरमा सम्पन्न चुनावमा भने उनी तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि।सं। २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् । उनी श्रीमतीसहित पाँच सन्तानका पिता हुन् ।

पौडेलका प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद लगायतका पुस्तक उनका कृति हुन् ।

प्रधानमन्त्रीमा १७ पटक पराजयको इतिहास

करिब तीन दशकसम्म संसदीय चुनावमा जीत हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा रहेको छ, प्रधानमन्त्री पदमा १७ पटकको पराजय । यद्यपि, यो कालो धब्बा लाग्नुमा उनी स्वयम् जति जिम्मेवार छन्, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ ।

०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथले बाजी मारे भने रामचन्द्रको प्रतिस्पर्धा खेर गयो ।

त्यसयता पौडेलले कहिल्यै कार्यकारी पदमा प्रतिस्पर्धा गर्ने सोच राखेनन । जीवनको उतरार्धमा बरु उनले सेरोमोनियल पदमा रुची देखाए ।

त्यही आधारमा उनी अहिले कांग्रेस, माओवादी सहितका संसदमा प्रतिनिधित्व गर्ने आठ दलको तर्फबाट साझा राष्ट्रपतिको उम्मेदवार बने । अव उनको भाग्यफैसल्ला २५ फागुनको चुनावले दिनेछ ।

यधपी उनी बलियो उम्मेदवार हुन् । उनलाई साथ दिएका गठबन्धनसँग राष्ट्रपति चुनावमा कूल ३१ हजार ५१६ मतभार छ । राष्ट्रपति चुनाव जित्न कूलमा २६ हजार ३९४ मत आवश्यक हुन्छ । तर, अहिले निर्माण भएको नयाँ गठबन्धनसँग पाँच हजार १२२ मतभारत बढी छ । राष्ट्रपति चुनावमा कूलमा ५२ हजार ७८६ मतभार छ ।

कांग्रेससँग १६२२१, माओवादीसँग ७७२८, जसपासँग २०९७, एकीकृत समाजवादीसँग २४७८, जनमतसँग १२४२, लोसपासँग ८२७, नागरिक उन्मुक्तिसँग ७६५, राजमोसँग १५८ मतभार राष्ट्रपति चुनावमा छ ।

यस आधारमा पौडेल राष्ट्रपति चुनिने सम्भाबना अधिक छ ।

प्रतिक्रिया