आइतबार, जेठ ६, २०८१

यस वर्ष १७ पर्वमा मुलुकभर सार्वजनिक बिदा

मेरोन्यूज २०७९ फागुन १२ गते ७:०८

काठमाडौँ । यस वर्ष १७ पर्वमा मुलुकभर सार्वजनिक विदा हुने भएको छ । मन्त्रिपरिषद् प्रशासनिक समितिले अहिले कायम रहेका धार्मिक, सांस्कृतिक, राजनीतिक दिवस, पर्वलगायत बिदालाई कायम गर्दै २०८० को सरकारी क्यालेन्डर बनाउँदा यस वर्ष १७ पर्वमा मुलुकभर सार्वजनिक बिदा हुने भएको हो ।

Advertisement

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डे सचिव छन् । पाण्डेकै संयोजकत्वमा गृह र पर्यटन मन्त्रालयका सचिवसहितको टोलीले १७ पर्वमा मुलुकभर बिदा दिने निर्णय लिएको हो ।

सचिवको संयन्त्रबाट तयार पारिएको प्रतिवेदन उपप्रधानमन्त्री श्रेष्ठले प्रशासन समितिको सचिवालयमार्फत स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयमा पठाउन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयका अनुसार वैशाख १, उँधौली पर्व (चण्डी पूर्णिमा–वैशाख २२), रक्षा बन्धन (भदौ १४), श्रीकृष्ण जन्माष्टमी (भदौ २०), घटस्थापना (असोज २८), दसैं बिदा (कात्तिक ४ देखि ९), तिहार बिदा (कात्तिक २६ देखि ३०), छठ पर्व (मंसिर ३) मा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै क्रिसमस डे (पुस ९), उँधौली पर्व, योमरी पुन्ही (ज्यापू दिवस) तथा धान्य पूर्णिमाका दिन पुस १० मा पनि बिदा दिइएको छ ।

पुस १५ मा तमु ल्होसार, माघ १ मा माघी पर्व (माघे संक्रान्ति), माघ २७ मा सोनम ल्होसार, फागुन २५ मा महाशिवरात्रि, फागुन २८ मा ग्याल्पो ल्होसार, इस्लाम धर्मावलम्बीको इदउल फित्र र बकर इदमा पनि देशभर बिदा घोषणा गरिएको छ । यी सबै बिदा विसं २०७९ को क्यालेन्डरमा पनि समेटिएको छ । यसैगरी चैत ११ मा हिमाली र पहाडी तथा चैत १२ मा तराई मधेसमा होली पर्वको बिदा दिइएको छ ।

सम्बन्धित धर्म, संस्कृति र भूगोलविशेषका लागि भदौ ७ मा गौरा पर्व, भदौ १४ मा गाईजात्रा (नेवार समुदायका लागि मात्र) र झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका जिल्लामा सिरुवा पावनी पर्व बिदा दिइएको छ । असोज १ मा तीज, असोज २० मा जितिया पर्व परेको छ । दुवै दिन महिलाका लागि मात्रै बिदा दिइएको छ ।

फागुन २ मा वसन्त पञ्चमी परेको छ । शिक्षण संस्थाका लागि यो दिन बिदा दिइएको छ । काठमाडौं उपत्यकामा मनाइने गाईजात्रा (भदौ १४), इन्द्रजात्रा असोज ११, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडे जात्रा (चैत २६) मा उपत्यकामा बिदा तोकिएको छ ।

वैशाख १८ मा विश्व मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, असोज ३ मा संविधान दिवस (राष्ट्रिय दिवस), पुस २७ मा राष्ट्रिय एकता दिवस, फागुन १ मा जनयुद्ध दिवस, फागुन ७ मा राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ मा अन्तर्राष्ट्रिय महिला दिवसमा देशभर बिदा हुने दिइएको छ । अपांगता भएका कर्मचारीका लागि मंसिर १७ गते बिदा दिइएको छ । बुद्ध जयन्तीका दिन वैशाख २२ गते सबैलाई बिदा तोकिएको छ ।

कात्तिक २५ (फाल्गुनन्द जयन्ती), मोहम्मद जयन्ती, मंसिर ११ मा गुरु नानक जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा तोकिएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस (जेठ २१), निजामती सेवा दिवस (भदौ २२) र सहिद दिवस (माघ १६) मा कार्यालय खुलाएर दिवस मनाइनेछ । विदेशस्थित विभिन्न कूटनीतिक नियोगले वर्षमा १८ दिन सम्बन्धित देशका बिदालाई मध्यनजर गर्दै बढीमा १८ दिन सार्वजनिक बिदा आफैंले व्यवस्थापन गर्न पाउनेछन् ।

प्रतिक्रिया