शनिबार, जेठ ५, २०८१

खुकुरीको धारमा ‘प्रचण्ड’ !

दुई छिमेकीको भूराजनीतिक स्वार्थ र आफनो ब्यक्तिगत मनोविज्ञान समेतको चेपुवामा प्रधानमन्त्री प्रचण्ड छन्

शित्तल शर्मा २०७९ फागुन १० गते १५:३५
ग्राफिक्स स्रोत: न्यू विजनेस ऐज

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति निर्वाचनमा कता उभिने भन्ने चेपुवामा परेका छन् । प्रधानमन्त्री बन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई राखेर एमाले अध्यक्ष केपी ओलीलाई दिएको बचन र पुस २६ मा संसदमा विश्वासको मत लिँदै गर्दा कांग्रेससँग भएको समझदारीका कारण प्रधानमन्त्री प्रचण्ड अहिले खुकुरीको धारमा यात्रा गरिरहेका छन् ।

Advertisement

उनले राष्ट्रपति चुनावका बारेमा के गर्छन् ? चित्र प्रष्ट आईसकेको छैन । तर पुस २६ मा कांग्रेसले समेत संसदमा आफुलाई विश्वासको मत दिएपछि उनी कांग्रेस समेतलाई साथै लिएर राष्ट्रिय सहमति राष्ट्रपति चुनावमा निर्माण गर्ने कोसिसमा छन् ।

त्यो भनेको प्रधानमन्त्री माओवादी र सभामुख एमालेले पाइसकेको सन्र्दभमा अर्को सम्वैधानिक पद राष्ट्रपतिमा कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवारमा सहमति बनोस् भन्ने प्रचण्डको भित्री चाहना हो । तर, प्रचण्डले यस विषयमा मुख खोलिसकेका छैनन । ओली प्रचण्ड प्रधानमन्त्री बन्ने बेला आफुलाई दिएको बचनका आधारमा एमालेले प्रस्ताव गर्ने राष्ट्रपति उम्मेदवारलाई माओवादीले निशर्त सहयोग गर्नुपर्ने अडानमा छन् ।

पुस १० को सहमति या पुस २६ को प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाएपछि विकसित राजनीति कुनमा टेक्ने प्रचण्डले अबको दुई दिनमा निर्णय लिनुपर्नेछ । प्रचण्डको त्यही निर्णयले भावी राष्ट्रपतिको चित्र आउनेछ । तर यो चित्र कोर्ने कोसिस गरिरहँदा प्रधानमन्त्री प्रचण्ड भने खुकुरीको धारमा हिड्न थालेका छन् ।

‘प्रधानमन्त्रीका लागि अहिले हिड्न खोजेको बाटो सजिलो होइन,’ माओवादीका एक पदाधिकारीले मेरोन्यूजसँग भने,– ‘उहाँ जोखिम मोलेरै भएपनि खुकुरीको धारमा हिड्न खोजिरहनुभएको छ । यसले उहाँको प्रधानमन्त्री पद सुरक्षित बनाउन पनि सक्छ, एकैपटक गल्याल्मै ढलाईदिन पनि सक्छ । उहाँ अहिले असाध्यै क्रिटिकल अवस्थामा पाइला चाल्न खोजिरहनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्ड संसदमा कसैको पनि बहुमत नजुटने र बहुमतका लागि पनि दुई चार वटै दल मिल्नुपर्ने अंकगणितका कारण सकभर सबै राजनीतिक दलका बीचमा राष्ट्रिय सहमति निर्माण गर्ने र आफु नेतृत्वको सरकारलाई अलिक लामो समय तन्काउने कोसिसमा लागेका छन् । आफनो प्रधानमन्त्री पद सुरक्षित राख्न र सहज कार्यकाल अगाडी बढाउन पनि कांग्रेससहितको सहकार्य प्रधानमन्त्री प्रचण्डले खोजिरहेका छन् । त्यसका लागि प्रधानमन्त्रीले पुस १० मा भएको गठबन्धनलाई निरन्तरतामा लैजाने तर राष्ट्रपतिमा भने कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवारलाई सघाउने बाटो अबलम्बन गर्न सकिए मध्यमार्गी बाटो हुने पक्षमा उभिएका छन् ।

उनले खोजेको यो बाटोमा राष्ट्रपति नपाउँदा एमाले आफै तगारो बनेर उभिदिनेछ । त्यस्तो अवस्थामा कांग्रेसले बलियो साथ दिन चाहेन भने प्रधानमन्त्री प्रचण्ड आफै धरापमा पर्ने जोखिम छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले पुस १० मा आफुसँग गरेको सहमतिका आधारमा नचल्दा संविधानका छिद्रको खोजी गरेरै भएपनि प्रचण्ड नेतृत्वको सरकारविरुद्ध लाग्ने देखिन्छ । यस्तो बेला कांग्रेस, जसपा, एकीकृत समाजवादी लगायतको पूरानो गठबन्धनलाई इनट्याकमा राखिरहनुपर्ने बाध्यतामा प्रचण्ड पर्नेछन् ।

यही देखेरै ओलीले पूरानो गठबन्धन ब्यूताउने कोसिस कांग्रेस, माओवादीले गर्न सक्ने ठानेर एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको कार्ड फयाँकिरहेका छन् । तर त्यसका लागि एमालेमा एकीकृत समाजवादी गाभ्नुपर्ने शर्त ओलीको छ । कथंकदाचित माधव नेपाल ओलीको प्रस्तावमा राष्ट्रपति उम्मेदवार बनेमा भने प्रचण्डका लागि झ्न अप्ठ्यारो आईलाग्न सक्छ । त्यस्तो बेला उनले लिने निर्णय झन् उनकै लागि जोखिमपूर्ण हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

प्रचण्डले सभामुख र राष्ट्रपति दुवै एमालेका हुँदा कार्यकारी प्रधानमन्त्रीको हैसियतमा आफुलाई काम गर्न अप्ठ्यारो पर्न सक्ने वुझेका छन् । त्यही भएर पनि उनले कांग्रेसले विश्वासको मत दिएपछि एमालेले साथ छोडदा कांग्रेसले बलियो साथ दिए आफनो सरकार टिक्न सक्ने देखेपछि नै राष्ट्रपतिमा साझा उम्मेदवार खोजी थालेका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले भने राष्ट्रपतिबारे एमालेले के गर्छ भनेर माओवादीले पर्खिरहेको बताए ।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्छ। कांग्रेसलाई पनि सहमतिमा ल्याऊँ भन्ने हाम्रो लाइन हो। कांग्रेसलाई सहमतिमा ल्याउँदैमा अहिलेको गठबन्धन भत्किने पनि होइन । एमालेले के गर्छ ? हामी पर्खिरहेका छौं । हामी अहिले पनि यही गठबन्धनमा छौँ । तर राष्ट्पतिमा राष्ट्रिय सहमति हाम्रो बटमलाइन हो,’ गजुरेलले भने ।

आफुले राष्ट्रपति नपाउँदा ओलीले चाल्नसक्ने राजनीतिक गोटीचाल र कांग्रेसल आफ्नो नेतृत्वको सरकार टिकाउन कहिलेसम्म दिने साथ भन्नेले प्रचण्डको सरकारको आयु निधो लाग्ने देखिन्छ । यसले पनि प्रधानमन्त्री असाध्यै क्रिटिकल अवस्थामा पनि सुझबुझपूर्ण निर्णयको गम्भिर मन्थनमा रहेको माओवादीका ती पदाधिकारी बताउँछन् ।

‘पुस १० को सहमतिमा सामेल स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकार बाहिर छन् । यो परिस्थितिलाई पनि नजरअन्दाज गर्न मिल्दैन,’ माओवादी केन्द्रका अर्का नेता तथा उपमहासचिव शक्ति बस्नेतले भने, ‘यो अवस्थामा राष्ट्रपति चुनावको फ्याट्ट हिसाबकिताब निकाल्न सजिलो छैन । मनोनयन गर्ने दिन फागुन १३ अघि हिसाब निस्कन्छ ।’

एकातिर प्रचण्ड आन्तरिक राजनीतिको चेपुवामा परिरहेका बेला उनीमाथी वाह्य दवाव पनि यहिबेला चर्को पर्न थालेको छ । राष्ट्रपतिका विषयमा वाह्य शक्तिकेन्द्रले पनि नेपालमा अस्वभाविक चासो र सक्रियता बढाएका छन् । दुई छिमेकी मुलुक मात्रै होइन, पश्चिमा देशहरुले पनि नेपालको भावी राष्ट्रपतिका बारेमा गहिरो चासो देखाईरहेका छन् ।

त्यसमाथी दुई छिमेकी मुलुक भारत र चीनका अलग अलग खालका फरक भूराजनीतिक स्वार्थ पनि राष्ट्रपतिको उम्मेदवारकै विषयमो जेलिएर आउन थालेको माओवादीका एक नेता बताउँछन् । जसकाकारण पनि प्रधानमन्त्रीमाथी दुवै छिमेकीले दवाव बढाउन खोजेका छन् । भारत र चीनका भने नेपालको सत्ता गठबन्धन को सँग कुन पार्टीको ? भन्नेमै फरक धारणा रहेको देखिएको छ । गत फागुन १ र २ गते नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयममोहन क्वात्राले एमाले र माओवादी गठबन्धन तोडने गरी अगाडी बढे राम्रो हुने भारतीय सस्थापनको सन्देश सुनाएर स्वदेश फर्केर नेपाल राजनीति नियालिरहेका छन् ।

भारतले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन स्टेकहोल्डरका रुपमा रहेका कांग्रेस र माओवादी मिल्नुपर्ने र शान्ति प्रक्रिया टुंगोमा लैजानुपर्ने, कांग्रेसका सस्थापन इतर समुहलाई समेत प्रचण्डको सरकारको निरन्तरतामा कन्भिन्स गर्ने र सरकारको रक्षा गर्ने तथा माओवादी, जसपा र एकीकृत समाजवादी पार्टी एकता प्रक्रियामा गएर समाजवादी केन्द्र निर्माण भए नयाँ शिराबाट सम्वन्ध विकास गर्ने बताएर प्रचण्डमाथी एमालेसँगको सम्वन्ध तोडन प्रेसर हालेको छ ।

भारत नेपालका दुई कम्युनिष्ट पार्टी एक ठाँउ उभिने वातावरण तोडन चाहिरहेको छ । प्रचण्ड या ओली जो भएपनि उसका लागि कुनै फरक नपर्ने तर दुई पार्टी एकै ठाँउमा मिलेर जाँदा चीन तिर ढल्किन सक्ने आंकलनमा भारत एमाले माओवादी गठबन्धन तोडन चाहिरहेको छ । त्यसका लागि राष्ट्रपति चुनाव गतिलो मसला हुनसक्ने भारतको बुझाई छ ।

अर्कोतिर उत्तरी छिमेकी मुलुक चीनले पनि राष्ट्रपति चुनावको मुखैमा आफनो सक्रियता बढाएको छ । राष्ट्रपति चुनावको मुखैमा प्रधानमन्त्री प्रचण्ड तथा एमाले अध्यक्ष केपी ओलीसाग भेट गर्दा अर्काे राजनीतिक अर्थ लगाउन सक्ने देखेर सचेततापूर्वक उसले चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुने बोआओ फोरमको निम्तो दिन भन्दै आवरणमा देखाएर भित्री राजनीतिक सक्रियता बढाएको परराष्ट्र मामिलाका जानकारहरु दावी गर्छन् ।

बुधबार मात्रै नेपालका लागि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री प्रचण्डसग भेट गरेका थिए । यस अगाडी उनले ओली र प्रचण्ड भेट लगत्तै बालकोट नै पुगेर ओलीसग पनि लामै सम्वाद गरेका थिए ।


राजदूत छन् सङले ओली र प्रधानमन्त्री प्रचण्डसागको भेटमा वामपन्थी गठबन्धन जोगाएरै लैजान सुझाएको बालुवाटार स्रोतले बताएको छ । चीन दुई कम्युनिष्ट पार्टी मिलेरै जाँदा फेरि वाम पार्टीहरुका बीचमा एकताको बातावरण निर्माण हुने र आफनो लागि पनि वाम शक्तिहरुसँगको सहकार्य सजिलो हुने बुझाईमा देखिन्छ । जसकाकारण पनि प्रचण्डमाथी दुवै मित्र राष्टको कुनै न कुनै दवाव परेको छ ।

‘प्रधानमन्त्री आन्तरिक राजनीतिमा मात्रै होइन, वाह्य दवावमा पनि यतिवेला परिरहनुभएको देखिन्छ,’ एक नेताले भने,–‘यसलाई उहाँ (प्रधानमन्त्री)ले कसरी ट्याक्रल गर्नुहुन्छ, त्यसले नै उहाँ आफैको पनि सुरक्षित यात्रा तय हुनेछ । यतिवेला उहाँ क्रिटिकल मोडमा हुनुहुन्छ । राष्ट्रपति चुनावमा उहाँले लिने निर्णयले नै उहाँको प्रधानमन्त्री पद समेत कति सुरक्षित भन्ने टुंग्गो लाग्नेछ ।’

प्रतिक्रिया