आइतबार, जेठ ६, २०८१

राष्ट्रपति चुनावअगाडि चिनियाँ नेता नेपाल आउँदै

भारतीय विदेश सचिव फर्केको एक सातामै चिनियाँ सहायकमन्त्री स्तरका नेताको टोली काठमाडौं आउन लागेका छन्

मेरोन्यूज २०७९ फागुन ४ गते २०:४३

काठमाडौं । राष्ट्रपति चुनावअगाडि उत्तरी छिमेकी मुलुक चीनका सहायक मन्त्री स्तरका नेताको एक टोली काठमाडौं आउने भएको छ । उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँगको छलफलको लागि भन्दै चीनको ग्लोबल इनर्जी इन्टरकनेक्सन डेभलपमेन्ट एण्ड कोअपरेसन अर्गनाइजेसन (GEIDCO)का अध्यक्ष रहेका सिन बाओन नेतृत्वको चिनियाँ टोली काठमाडौं आउन लागेका हुन् ।

Advertisement

उनी चीनको साहायक मन्त्री स्तरका नेता हुन् । नुवाटकोटको रातमाटे रसुवागढी केरुङ ४ सय केभी प्रशारण लाइनको विद्युतका विषयमा छलफल गर्ने गरी उनी काठमाडौं आउन लागेको बताइएको छ । काठमाडौंमा रहँदा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार वार्ता गर्ने छन् । यसका अतिरिक्त उनले काठमाडौंमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ताशिन दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम बनेको परराष्ट्र स्रोतले बताएको छ ।

यद्यपि, उनले विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूसँग भने भेटवार्ता गर्ने नगर्ने खुलेको छैन । दक्षिणी छिमेकी मुलुक भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमण सकेर फर्केको ठिक एक सातामै चीनका नेता सिन वाओनको टोली काठमाडौं आउन लागेका हुन् ।

फागुन ९ र १० गते दुई दिने भ्रमणका क्रममा उनी काठमाडौं आउँदै छन् । उनको भ्रमणलाई पनि यहाँ अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमणलाई उर्जा मन्त्रालय र विद्युत प्राधिकरणसँगको छलफलको अर्थमा मात्र लिइएको छैन ।

नेपालमा राष्ट्रपति निर्वाचनका विषयमा बाह्य शक्ति केन्द्रहरुको चासो बढिरहेका बेला हुन लागेको चिनियाँ नेताको भ्रमण पशुपतिको जात्रा सिद्राको ब्यापार शैलीमा हुन लागेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ । जसरी भारतीय विदेश सचिवको भ्रमण नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको छिमेकी पहिलो नीति अनुसार भएको र परराष्ट सचिव स्तरीय वार्ताका क्रममा भएको बताइएपनि उनले काठमाडौंमा रहँदा गरेको म्याराथुन राजनीतिक दौड अर्थपूर्ण मानिएको छ ।

उनले काठमाडौं बसाईको ३२ घण्टे अवधिमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलका नेता लगायतसँग म्याराथुन भेटवार्ता गरेर फर्केका थिए । उनको भ्रमणको अन्र्तय र राजनीतिक दलका नेताहरूसँग गरेको सम्वादको गुह्य कुरा अझै गोप्य नै छन् । ठीक त्यसैगरी चिनियाँ नेताको हुन लागेको भ्रमण र हुने भेटघाट पनि अर्थपूर्ण मानिएको छ ।

नेपालमा राष्ट्रपति उम्मेदवारको बारेमा सत्ता गठबन्धनभित्रै रहेको एमाले र माओवादीका बीचमा कुरा मिलेको छैन । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसले समेत संसदमा आफूलाई विश्वासको मत दिएका कारण राजनीतिक परिदृश्य फेरिएको र सम्वैधानिक पदमा साझा सहमति खोज्नु पर्ने पक्षमा अडिग छन् ।

तर, एमाले पुस १० मा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा भएको सहमतिका आधारमा माओवादी अहिले निर्शत आफनो पार्टीले उठाउने उम्मेदवारको पक्षमा उभिनु पर्ने बताइरहेको छ । त्यसैका लागि ओली र प्रचण्ड नियमित जस्तो बाक्लो सम्वादमा छन् ।

कांग्रेस सत्ता गठबन्धनभित्र अन्तरविरोध सिर्जना गरेर माओवादीलाई पुन: आफूतिरै फर्काएर राष्ट्रपति आफूले प्रस्ताव गर्ने उम्मेदवारलाई जिताउने पक्षमा जुटेको छ । यस्तो बेला दुई छिमेकी मुलुकका प्रतिनिधिहरुको एक पछि अर्काे नेपाल भ्रमण सबैको चासो बनेको हो ।

दुई छिमेकी मुलुकको मात्रै होइन, नेपालको राष्ट्रपतिका विषयमा अमेरिकी चासो पनि उत्तिकै मात्रामा देखिन्छ । नेपालको राष्ट्रपति सेरोमोनियल भनिए पनि सम्वैधानिक पद रहेको भन्दै उनीहरुको चासो बढेको हो ।

राष्ट्रपतिको सिन अझै नेपालमा क्लियर नभइरहेका बेला नेपालमा बढिरहेको बाह्य शक्ति राष्ट्रका प्रतिनिधिहरूको नेपालमा बाक्लो भ्रमण भइरहेको छ ।

प्रतिक्रिया