आइतबार, जेठ ६, २०८१

शिवरात्रीमा स्वच्छ बागमतीको तयारी, धाप ड्यामको उद्घाटनमा पुगे उपप्रधानमन्त्री लिङ्देन

मेरोन्यूज २०७९ फागुन ४ गते १७:२१

काठमाडौँ । यस वर्षको महाशिवरात्रीमा बागमतीमा स्वच्छ पानीको बहाव बढाइने भएको छ ।

Advertisement

गोकर्णेश्वर नगरपालिका १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती नदीको बहाव बढाइने भएको हो । 

उक्त धाप ड्यामको बिहीबार उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन् । उक्त ड्याम सुन्दरीजलबाट १८ किमी टाढा रहेको छ । 

उद्घाटन भएसँगै अब बागमती नदी सफा र स्वच्छ हुने र पशुपतिनाथसँग बागमती नदी किनारमा रहेका तीर्थस्थलमा भक्तजनलाई स्नानको सहजता हुने अपेक्षा गरिएको छ ।

धाप ड्यामको उद्घाटन गर्दै उपप्रधानमन्त्री लिङ्देनले ड्यामको निर्माणबाट बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको बताए । उनले धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिँदै आफ्नो तर्फबाट नीतिगत, प्रशासनिक र सबै प्रकारको सहयोग हुने बताए । 

जलाधारको विकास, जलाशयको निर्माण र यस्ता संरचनाहरू पर्यटकीय दृष्टिले समेत आकर्षणको केन्द्र बन्ने, वन्यजन्तुको संरक्षण हुने, पर्यावरण जोगाउन योगदान पुग्ने बताउँदै उनले महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा बहुआयामिक महत्वको आज कार्य प्रारम्भ गरिनु सुखद भएको बताए ।
 
शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इञ्जिनियरिङमा ध्यान दिनु पर्नेमा जोड दिए । उनले परामर्शदाता र निर्माण पक्षको आपसी समन्वय नहुँदा नेपालमा सञ्चालित आयोजना निर्धारित समयमा बन्न नसकेको र लागत बढ्ने गरेको हुँदा निर्माण प्रक्रियामा रहेका आयोजनाले ध्यान पुर्‍याउन निर्देशन दिए । 

धाप ड्यामको निर्माणबाट राजधानीबाट नजिकै नयाँ पर्यटकीय गन्तव्य थपिएको मन्त्री पाण्डेले बताए ।

प्रतिक्रिया