सोमबार, जेठ ७, २०८१

राष्ट्रपति चुनावमा कांग्रेसले राम्रोसँग ढोक्सा थाप्छ : प्रदीप पौडेल

मेरोन्यूज २०७९ फागुन ३ गते १४:४८

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनमा कांग्रेसले राम्रैसँग ढोक्सा थाप्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस २६ मा संसदमा विश्वासको मत दिँदै गर्दा कांग्रेसले ढोक्सा थाप्न खोजेको र ढोक्सामा माछा नपर्ने बताएका थिए ।

Advertisement

ओलीलाई जवाफ दिँदै संसदमा आज बोलेका कांग्रेस नेता पौडेलले राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा नै थाप्ने बताएका हुन् ।

‘जसपालगायत दलका नेता किन सत्ता गठबन्धनको बैठकमा गएनन् ?,’ ओलीप्रति लक्षित गर्दै पौडेलले भने, ‘कांग्रेसले ढोक्सा थापेर हो ? राप्रपाका मन्त्रीलाई प्रधानमन्त्रीले संसदबाटै किन चेतावनी दिनुपर्‍यो, रास्वपाले किन मन्त्री फिर्ता बोलायो ? कांग्रेसले षड्यन्त्र गरेर हो ?’

उनले अहंकारले देश नबन्ने र आजको परिस्थिति सम्हाल्न नसकिने पनि बताए।

‘प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको थियो आज किन सुस्त छ ?,’ ओलीलाई लक्षित गर्दै पौडेलले भने, ‘बालुवाटार र बालकोट दौड व्यापक बढेको छ।’

संवैधानिक मर्यादाको रक्षा गर्न र देशको अभिभावक राष्ट्रपति हो भन्ने स्थापित गर्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताएका छन्।

राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै पौडेलले त्यस्तो हुन नदिइने बताए।

‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ। आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं,’ पौडेलले भने।

उनले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताए।

‘हामी स्थिरताका पक्षमा छौं। गठबन्धन भत्काउन प्रयास गरेका होइनौं। सुदूरपश्चिममा गठबन्धन भत्कियो, के कांग्रेसको कारण गठबन्धन भत्किएको होरु,’ उनले भने, ‘अहिलेको गठबन्धन जगदैदेखि हल्लिएर भत्किएको हो, यसमा नेतृत्व गम्भीर भएन।’

प्रतिक्रिया