सोमबार, जेठ ७, २०८१

केपी ओलीले नै देख्न छोडे गठबन्धनको भविश्य

‘कथं यो स्थिति फेरियो भने संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ’

शित्तल शर्मा २०७९ फागुन २ गते २१:५२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राष्ट्रपतिमा साझा सहमतिको प्रस्ताव अगाडी सार्न थालेपछि एमाले अध्यक्ष केपी ओली झस्किएका छन् । त्यसमाथी राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा प्रधानमन्त्रीले सत्ता साझेदार दल र प्रतिपक्षी दलहरूसँग समानन्तर संवाद अगाडि बढाएपछि ओली थप झस्किरहेका छन् ।

Advertisement

आफु ने्तृत्वको सरकारको सुरक्षा र अझ ५ वर्ष नै प्रधानमन्त्री बन्ने हुटहुटीमा प्रधानमन्त्री रहेको देखेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँग सशंकित देखिएका छन् । कांग्रेसले पुस २६ मा संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि ओलीले कांग्रेसमाथी प्रधानमन्त्री फकाएर ढोक्सा थाप्न तम्सिएको आरोप लगाउँदै आएका थिए ।

त्यसपछि कांग्रेसका नेताहरुको प्रधानमन्त्री र प्रधानमन्त्रीको पार्टी माओवादी केन्द्रका नेताहरुसँग बाक्लिएको संवाद र प्रधानमन्त्रीबाट निरन्तर संविधानको, गणतन्त्रको रक्षा गर्ने सर्वमान्य राष्ट्रपतिमा सहमति जुटाऔं भन्ने आफनो इच्छा रहेको भनी ब्यक्त अभिब्यक्तिका कारण एमाले अध्यक्ष ओली शसंकित देखिएका हुन् ।

उनले चुनाव अगाडीसम्म रहेको कांग्रेस, माओवादीसहितको पाँचदलीय गठबन्धन तोडेर माओवादीलाई आफनो कित्तामा ल्याएर प्रधानमन्त्री बनाएपछि संसदको सभामुख, प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख लगायतका पद आफनो पोल्टामा पारेको थियो । माओवादीकै मत लिएर अब राष्ट्रपति आफनो उम्मेदवारलाई जिताउने ओलीको सपना थियो । तर प्रधानमन्त्रीको अभिव्यक्ति र पछिल्लो समय कांग्रेससँग बढ्दो निकटताले एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट छन् ।

ओलीले यसैलाई संकेत गदै मंगलबार पार्टी निकट विद्यार्थी संगठनको राष्टिय सम्मेलनमा गठबन्धन फेरिन सक्ने संसय ब्यक्त गदै त्यस्तो अवस्था आएमा पनि सामना गर्न तयार हुनुपर्ने सन्देशसहितको सम्बोधन गरेका छन् ।

यसले ओली आफै सत्ताको अहिलेको गठबन्धनसँग विस्वस्त हुन नसकिरहेको सहज बुझन सकिने राजनीतिक विश्लेषकहरु बताउँछन् । ओलीले संसदको बनावट फेरि पनि अस्थिरताको कारक बन्न सक्ने भन्दै पाँच दलीय गठबन्धन तोडिन सक्ने तर्फ संकेत गरेका हुन् ।

‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ’ पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय सम्मेलनलाई ओलीले काठमाडौंमा सम्बोधन गदैं भनेका थिए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रि« सहमतिको कुरा उठाउन थालेपछि ओलीले संसद फेरि अस्थिरताको कारण बन्न सक्ने तिर संकेत गरेका हुन् । यधपी सत्ता गठबन्धनमा प्रधानमन्त्रीसँग सँगै रहेका ओलीले त्यसरी सिधै प्रधानमन्त्री अहिलेको गठबन्धनबाट डगमगाउन सक्ने भनेर नामै किटेर भने सम्वोधन गरेनन ।

संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताए । ‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्’ ओलीले भने, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’

त्यसक्रममा ओलीले हिजो नेकपा काल हुँदा आफुहरुमाथी भएको घेराबन्दीको प्रसंग पनि विद्यार्थी सम्मेलनमा सुनाएका थिए । कथंकदाचित प्रधानमन्त्रीले समिकरण बदलेमा फेरि घेरावन्दी एमालेमाथी हुनसक्ने आशयको अभिब्यक्ति ओलीको थियो । त्यही भएर उनले नेकपाकालको आफुमाथीको घेराबन्दीको प्रसंग विधार्थी नेताहरुलाई सुनाएको हुनसक्ने विश्लेषकहरु बताउँछन् ।

‘हामीलाई घेराबन्दीमा पारियो, पारिएकै हो । वामपन्थी आन्दोलनलाई झण्डै दुई तिहाई पुरइएको थियो । भित्रैबाट प्रहार, बाहिरबाटै प्रहार । बाहिरको प्रहार रोकिएकै थियो । तर भित्रैको प्रहारलाई रोक्न सकिएन,’ ओलीले भनेका थिए, –‘अध्यक्षलाई त साधारण सदस्य समेत नहुने गरी हेनुस् त कारवाही गरेको । चार किल्ला ठोकेरै अध्यक्षलाई घेरावन्दी गरेका थिए । तर त्यो घेरावन्दी चिरेर तपाईहरुले पार्टी जोगाउनु भयो । अब पनि तपाईहरुले आन्दोलनलाई विजयी बनाउने गरी त्यही जागरुकताका साथ अगाडी बढ्नुपर्छ ।’

ओलीले आफु सरकारमा रहेको बेला आन्दोलनबाट पल्टाउने अनके प्रयास गरिएको पनि बताएका थिए । ‘विकास र समृद्धिका पक्षमा भईरहेका काम देख्न नसकेर कहिले प्रधानमन्त्री कार्यालय घेरावन्दी गर्ने, कहिले के गर्ने भनेर पनि आए, तर त्यो सफल भएन,’ ओलीले भने,–‘विद्रोह सफल बनाउन सकारात्मक आन्दोलन हुनुपर्छ । त्यो बेला हामीविरुद्द दुषित आन्दोलन थियो । त्यो आफै असफल भएर गयो ।’

ओलीको यो सम्बोधनको सार फेरि गठबन्धन भत्काएर समिकरण बदलिए पनि एमालेले त्यसको समाना गर्न सक्ने भन्दै कार्यकर्तालाई अहिले देखि नै तयारी अवस्थामा उतार्ने प्रयास भएको विश्लेषण गरिन थालिएको छ ।

एकातिर प्रधानमन्त्रीले साझा सहमतिको विषय उठान गरिरहनु, कांग्रेसका नेताहरुसँगको सम्बाद बाक्लो बनाउनु र लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनले पाउनुपर्ने मत नपाउनुले एमाले झस्केको छ ।

एमालेका कुमार दसौंदी लुम्बिनी प्रदेशमा राष्ट्रियसभा चुनावमा निर्वाचित भएपनि माओवादीका ८ प्रदेशसभा सदस्य र ११ पालिका प्रमुखरउपप्रमुखले आफनो उम्मेदवारलाई मत नदिएको एमालेले बताउँदै आएको छ ।

कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यलाई राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको समर्थन भएपनि उनले आफनो पक्षमा रहेका मत भन्दा बढी मत पाएका थिए । यसले आसन्न फागुन २५ को राष्टपति चुनावमा पनि त्यही परिदृश्य थप शसक्त भएर देखिन सक्ने र आफनो उम्मेदवारमाथी घात हुनसक्ने भयमा एमाले छ ।

त्यस्तो अवस्था आउन नदिन उसले अहिले देखि नै गठबन्धनमा आशंका देख्न थालेको छ । ओलीले मंगलबार विद्यार्थीको सम्मेलनमा त्यही संकेत गरेका हुन् ।

प्रतिक्रिया