सोमबार, जेठ ७, २०८१

प्रधानमन्त्रीलाई भ्रमणको निम्तै नदिई फर्किए भारतीय विदेश सचिव

मेरोन्यूज २०७९ फागुन २ गते १९:२१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक भारत भ्रमणको निम्तो गर्नेगरी भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएको बताइएपनि उनी प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नै नगरी स्वदेश फर्किएका छन् ।

Advertisement


सोमबार काठमाडौं ओर्लेका उनी मंगलबार साँझ ६ बजेर ४० मिनेटमा भारतीय बायु सेनाको विशेष विमान IFC31 चढेर नयाँ दिल्ली फर्केका हुन् । उनले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनाव पछि नेपालमा बनेको नयाँ सरकारका प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक भारत भ्रमणको निम्तो गर्ने अनुमान गरिएको थियो ।

तर भारतीय विदेश सचिव क्वात्राले प्रधानमन्त्रीलाई कुनै औपचारिक भ्रमणको निम्तो नगरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । क्वात्राले पनि नेपाल भ्रमणका विषयमा प्रधानमन्त्रीलाई भारत भ्रमण गरे नगरेको विषयमा कुनै टिप्पणी नै नगरी स्वदेश फर्किएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो गरेपनि नेपालको राष्टपति चुनाव अगाडी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण नगर्ने संकेत पाएपछि भारतीय पक्षले क्वात्राको यो भ्रमणमा औपचारिक निम्तो प्रचण्डलाई नगरेको हो

यधपी, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको लागि अनुकुल समयका विषयमा भने अनौपचारिक छलफल भएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार क्वात्राले नेपालमा नयाँ राष्ट्रपति निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा भ्रमणको अनुकुलताका विषयमा चासो व्यक्त गरेका थिए ।

‘उहाँले प्रधानमन्त्रीको भ्रमणका लागि समय कहिलेसम्म मिल्नसक्छ भन्ने विषयमा चासो राख्नुभयो’, स्वकीय सचिव मल्लले भने, ‘त्यसका लागि यताको समय पनि मिल्नुपर्ने हुन्छ । हाम्रो समय अनुकुलतालाई हेरेर निम्तो दिने उहाँहरूको तयारी होला ।’

नेपालमा राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तय भएको छ । भ्रमणको निम्तो गरेर लामो समय रिर्जभमा बस्ने भारतको रुची नरहेको कारण अहिले क्वात्राको भ्रमणमा प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा औपचारिक निम्तो विदेश सचिव क्वात्राले नगरेका हुन् ।

तर त्यसलगत्तै भने भ्रमणको औपचारिक निम्तो प्रधानमन्त्रीलाई आउन सक्ने बताइएको छ ।

सोमबार काठमाडौं ओर्लेका क्वात्राले आएदेखि नै राजनीतिक तथा कुटनीतिक भेटघाट बाक्लो बनाएका थिए । उनले ३२ घण्टा काठमाडौंमा बिताउँदा आफुलाई निक्कै ब्यस्त बनाए । भेटनुपर्ने जति सबै जसो राजनीतिक दलका नेतासम्मलाई उनले भेटघाटका लागि समय छुटटाए । विगतमा नेपालका लागि भारतीय राजदूतको समेत काम गरेका क्वात्राले काठमाडौं ओर्ले लगत्तै नक्सालस्थित मेरियट होटलमा पुगेर केही समय मात्र आराम गरेका थिए ।

त्यस लगत्तै उनले होटल याक एण्ड यति होटलमा नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालको मैत्रीपूर्ण भेटवार्ता गरे । त्यहाँ उनले केही समय पौड्यालसँग भेटवार्ता गरेपछि दुई देशका परराष्ट सचिव स्तरीय वार्तामा आफुलाई सरिक गराए ।
बैठकमा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरे । सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल गरेका थिए ।

त्यस लगत्तै उनी सिंहदरवारस्थित परराष्ट मन्त्रालय पुगे । त्यहाँ परराष्टमन्त्री बिमला पौड्ल राईसँग शिष्टाचार भेटवार्ता गरे । परराष्टमन्त्रीसँग भेट गरेपछि उनी राष्टपति विद्यादेवी भण्डारीसँगको भेटका लागि शित्तल निवास पुगे । त्यहाँ उनले राष्टपति भण्डारीसँग केही बेर कुराकानी गरे । त्यसलगत्तै विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरवहादुर देउवालाई भेटन देउवा निवास पुगे ।

त्यहाँबाट भने उनी प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ताक लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग उनको बालुवाटारमा भेटवार्ता भएको थियो । जहाँ क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग नेपाल–भारत सहकार्यका विषयमा छलफल गरेका छन् । नेपाल–भारत सम्बन्ध, कनेक्टिभिटी, व्यापार र पारवहन, ऊर्जा क्षेत्र, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्रलगायत विषयमा समीक्षा प्रधानमन्त्री र क्वात्राका बीचमा भएको थियो ।

प्रधानमन्त्री भेटेपछि क्वात्रा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ताक लागि ओली निवास बालकोट पुगेका थिए । ओलीसँग पनि दुई देशवीचको सम्वन्धका विषयमा उनले छलफल गरेका थिए ।


उनले आज भने अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री समेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, भौतिक पूर्वाधार मन्त्री समेत रहेका माओवादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता प्रगतिशिल पार्टीका अध्यक्ष हदेयश त्रिपाठी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतसँग पनि भेट गरेर स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया