शुक्रबार, चैत १६, २०८०

नेपाली पात्रोका सीईओ सन्तोष भन्छन्- म रेडियोले बनाएको मानिस हुँ, आफूलाई भाग्यमानी ठान्छु

मेरोन्यूज २०७९ फागुन १ गते १९:५३

नेपालको पहिलो मोबाइल एप्लिकेसन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्- सन्तोष देवकोटा । डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा एक दशक भन्दा लामो समयदेखी सक्रिय उनी ‘नेपाली पात्रो’ को सीईओ रुपमा २०२२ को फ्रेब्रुअरीदेखी कार्यरत छन् । यसअघि २०१४ को जनवरीदेखी २०२१ अगस्टसम्म हाम्रो पात्रोमा म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी सम्हालेका थिए । झण्डै साढे ४ वर्ष कुल टुल डिजिटल मिडिया प्रा लि. को चेयरम्यान तथा म्यानेजिङ डाइरेक्टरका रुपमा पनि अनुभव बटुलेका छन् । पत्रकारितामा रस बसेका देवकोटाले इक्वेल एक्सेस संस्थामा आइसिटी एफएम नेटवर्क को काम पनि गरे । वीरगञ्जमा बस्दा टाटा इन्फोटेक एडुकेशनबाट मल्टिमिडियामा डिप्लोमा गरेका छन् । त्रिजुद्ध महाविर प्रसाद रघुवीर राम सेकेन्डरी स्कुलबाट एलएलसी गरेका देवकोटाले मिडिया पोलिसी सम्बन्धि बिभिन्न प्रोजेक्टहरुमा पनि काम गरेका छन् । उनै देवकोटासँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईं ‘नेपाली पात्रो’ एपमा तपाईं कसरी जोडिनु भयो ?


सन् २०१२ देखी २०२१ सम्म मैले ‘हाम्रो पात्रो’ मा काम गरें । त्यसमा राम्रै अनुभव बटुलियो । मिडियाको श्रीवृद्धिमा मलाई केही गर्न मन थियो । प्लस टुपछि वीरगञ्जमा टाटा एडुकेसनबाट सम्बन्धन लिएर सञ्चालित टाटा इन्फोटेकमा तीन वर्ष कोर्ष गरें । पत्रीकाको लेआउट् डिजाइनरको काम आफै गर्थें । अंकुश दैनिक, वाइपास डेली, वीरगञ्ज रिपोर्टमा मैले काम गरें । मैले इलस्टे«टर, ड्रइङ, फोटोसप, ग्राफिक्स, अडियो, भिडिओसँग सम्बन्धित काम गरें । ‘हाम्रो पात्रो’ मा काम गर्दा पड्कास्ट सुरु गरें । जुन अत्यधिक रुचाईएको थियो । कसरी डिजिटल मिडियालाई प्रभावकारी बनाउने भन्ने बारे अभ्यास गरियो । केही हदसम्म सफल पनि भईयो । पछि मलाई ‘नेपाली पात्रो’ बाट अफर आयो । मैले त्यो प्रस्ताव स्वीकारें ।

अहिले सीईओका रुपमा मार्केटलाई आफै लिड् गरिरहेको छु । ‘नेपाली पात्रो’ मा अहिले दैनिक ९ लाख युनिक भिजिटर्स पाईरहेका छौं । कुनैबेला त त्यो संख्या १३ लाखसम्म पुग्छ । देशकै ठूला दुई वटै प्रोडक्ट ‘नेपाली पात्रो’ र ‘हाम्रो पात्रो’ लाई मैले नेतृत्व गर्ने मौका पाएँ ।‘हाम्रो पात्रो’ मा काम गर्दा ब्याकग्राउन्डमा हिरो भएर बसियो । अहिले आएर महशुष भयो, आफ्नो प्रोफाइल आम मानिसहरुसम्म पुर्‍याउँन पर्ने रहेछ । प्रोडक्ट मात्र भएर हुन्न रहेछ । त्यसलाई उपभोक्तासम्म पुर्‍याउँन उत्तिकै जरुरी छ ।


‘नेपाली पात्रो’ एपको विशेषता के छ ? अरु भन्दा यो के कारणले भिन्नै छ ?
हामीले ‘नेपाली पात्रो’ लाई विकल्परहित बनाउँन खोजेका छौं । अहिले अनलाइन र पत्रपत्रीका दुबै गरेर ६२ वटा मिडिया हामीसँग आवद्ध छन् । रेडियो संख्या १ सय ५० पुगिसकेको छ । केही टेलिभिजन पनि आवद्ध हुनुहुन्छ । ‘नेपाली पात्रो’ बारे दैनिक रुपमा ६÷७ वटा विज्ञापन बज्छ । म गएको बल्ल ७ महिना पुग्यो । मार्केटिङ बल्ल सुरु भयो । हामी जम्मा ५४ जना स्टाफ छौं । १२ जना जना नेपाली पात्रोमा केन्द्रित छौं । नेट टिभी, वल्र्डलिंक, फ्री वाइफाई, स्काईकम, सांग्रिलाजस्ता प्लेटफर्मका लागि पनि हाम्रो कम्पनी जिनियस सिष्टम प्रा. लि.ले प्रविधितर्फ काम गरेको छ । हाम्रो पहिलो प्राथमिकता त मिडिया नै हो । डिजिटल मिडियालाई कसरी बलियो बनाउने ? हाम्रो ध्यान त्यता केन्द्रित छ ।

Advertisement

‘नेपाली पात्रो’ मा नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव, पर्वहरु, बिभिन्न जातजाति, भाषाभाषि, धर्म, आस्था तथा संस्कृति लगायत विशेष दिवस, पर्व, जात्राबारे तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेन्डर हो । यसमा समाचार, ब्लग, राशिफल, क्यालेन्डर, विदेशी विनिमय दरबारे जानकारी लिन सकिन्छ । ज्योतिष परामर्शबारे सेवा लिन सकिन्छ । हाम्रो वेवसाइट वा आइफोन र एन्ड्रोइडमा उपलब्ध बेस्ट नेपाली पात्रो एप मार्फत यि सुबिधाहरु लिन सकिन्छ । यो नेपालको आधिकारिक नेपाली क्यालेण्डर हो, जसलाई नेपाली पात्रो का नामले पनि हामी चिन्न सक्छौं । यो संसारको सबैभन्दा वैज्ञानिक क्यालेण्डर हो । बिभिन्न तिथीमितिबारे जानकारी समेट्न गरिएको छ ।

तपाईं कसरी पत्रकारितामा लाग्नुभयो ? अहिलेसम्म आईपुग्दाको पृष्ठभूमीको कथा सुनौं न …


खास म २०५४ देखी नै पत्रकारितामा लागें । वीरगञ्जबाट छापिने सार्थक साप्ताहिकबाट मेरो पत्रकारिता सुरु भयो । त्यसपछि रेडियो वीरगञ्जमा आठ वर्ष कार्यक्रम चलाएँ । हप्तामा मैले ६ वटा कार्यक्रम चलाउँथे । सहकर्मी प्रतिमा चौधरीसँग मिलेर तयार पारिएको ‘जुगल जगनिके नोकझोक’ कार्यक्रम निकै चर्चित थियो त्यो बेला ।

त्यस कार्यक्रमका श्रोताहरु कतार, मलेसियासम्म पनि फैलिएका थिए । सामाजिक, राजनीतिक विषयवस्तुहरुमाथि आधारित र वैदेशिक रोजगारीमा गएका मानिसहरुको अनुभव समेटिएका कार्यक्रम पनि उत्पादन गर्थें । यसरी वीरगञ्जबाटै मेरो पत्रकारिता सुरु भयो । काठमाडौं प्रवेश गरेपछि झन् फैलिदै गयो ।

तपाईंको काठमाडौं प्रवेशको कथा पनि सुनौं न …


सन् २०१० मा मैले काठमाडौं प्रवेश गरें । त्यो बेला जम्मा खल्तीमा १६, १७ हजार रुपैंयाँ बोकेको थिएँ । त्यो पैसा त तीन महिनामै सकियो । म हरेक टेलिभिजन, रेडियो स्टेशनमा धाएँ । तर, कतै काम पाईएन । संयोगवस सन् २०१० मा इक्वेल एक्सेसमा काम पाईयो । सन् २०१२ मा इक्वेल एक्सेसकै पवनप्रकाश उप्रेतीसँग मिलेर देशभरका एफएम रेडियोहरुसँग काम गरियो । मैले अडियो एक्सपर्टका रुपमा काम गर्ने अवसर पाईयो । मैले एफएम नेटवर्क हेर्थें । रेडियो सेटअप गर्ने, कुन प्रविधी प्रयोग गर्ने, रेडियोको कभरेज कति नक्सांकन गर्ने काम गर्थें । देशभरका रेडियो सञ्जालमा मेरो राम्रो नेटवर्क बन्यो ।


सन् २०१२ मा इक्वेल एक्सेसको जागिर छाडियो । त्यहाँ जम्मा दुई वर्ष काम गरें । तर, त्यो दुई वर्षको अनुभव मेरा लागि कति महत्वपूर्ण थियो भने मैले अहिलेसम्म त्यही अनुभवका आधारमा खाईरहेको छु । म इक्वेल एक्सेस संस्थाप्रति कृतज्ञ छु । रेडियोको फराकिलो सञ्जालसँग मेरो नाता जोड्नमा इक्वेल एक्सेसकै विशेष र महत्वपूर्ण भूमिका छ । अहिले म देशभरका झण्डै ५ सय रेडियाहरुसँग जोडिएको छु । म रेडियोले बनाएको मानिस हो । आफूलाई भाग्यमानि ठान्छु । एफएम र रेडियो फ्रिक्वेन्सीका क्षेत्रमा एक प्रकारको रिभ्युलुसनमा आफै प्रत्यक्ष रुपमा जोडिने मौका पाईयो।

फुर्सदमा के गर्न रुचाउँनु हुन्छ ? तपाईंका रुचीहरु के के छन् ?


किताब पढ्ने, कविता लेख्ने, गीत लेख्ने गर्छु । यात्राप्रति मेरो असिम प्रेम छ । सन् २०१० देखी २०१२ मुख्य मुख्य स्थानहरु घुम्न पाईयो । हाम्रो मुलुक कस्तो छ भन्ने कुरा रेडियो सेटअप गर्ने यात्राका क्रममा बुझ्ने मौका पाईयो । मनाङका डाँडाकाँडादेखी सुदूरपश्चिमका पहाडहरु छिचोलियो ।रोल्पामा पाइने खानेकुरादेखी अन्य भुगोलमा पाईने परिकार चाखियो । मानिसहरुको आत्मियता, जनताहरुका समस्या, भोगाई नजिकबाट नियाल्ने मौका पाईयो । सन् २०११ तिर बझाङमा साइपाल एफएम खुल्ने बेला कामले पुगेको थिएँ । बिभिन्न स्थानहरुमा पाईटा टेक्ने मौका पाईयो ।

तपाईले बिगतमा बिभिन्न संस्थाहरुमा काम गर्नुभयो । अनुभब बटुल्नु भयो । आफूले काम गरेका पुराना संस्थाहरु कत्तिको मिस गर्नु हुन्छ ?


पुराना संस्थाहरुले मलाई ज्ञान र अनुभव दिए । म सबैप्रति कृतज्ञ छु । तर, अब पनि पुरानै संस्थाको बारेमा मात्र कुरा ग¥यो भने फेल हुन्छ जस्तो लाग्छ । अब नयाँ संस्थामा के गर्छु, नौलो प्रयोग के गर्न सक्छुत्यो महत्वपूर्ण हो जस्तो लाग्छ । नेपाली पात्रोमा पनि शुन्यबाटै काम सुरु गरिएको हो । आफूले आफूलाई टार्गेट दिने हो । नत्र सफल भईदैन ।

अहिले पनि मलाई सन् २०११/०१२ तिरकै समयमा छु जस्तो लाग्छ । त्यही उत्साह र उर्जा लिएर काम गरिरहेको छु । पुरानो सफलताको कथा त्यही समयका लागि हो । अब त्यो इतिहास हो भन्ने लाग्छ । म पुराना दिनह्रु भुल्न सक्दिँन । २०५८ सालतिर गोजीमा ५० रुपैंयाँ पनि हुन्थेन । रिक्सा चढ्ने पैसा हुन्थेन । त्यो बेला त रिक्सा चढ्न ५ रुपैयाँ भए पुग्थ्यो । अभावबाट गुज्रिएको व्यक्ति हो । अहिले गरिरहेको कामप्रति म सन्तुष्ट छु । तर, गर्न धेरै बाँकी नै छ ।

प्रतिक्रिया