आइतबार, जेठ ६, २०८१

सरकार सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको छ : प्रधानमन्त्री

मेरोन्यूज २०७९ फागुन १ गते ८:०६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको बताएका छन् ।

Advertisement

जनयुद्ध दिवसको २८ औँ वार्षिकोत्सवको अवसरका शुभकामना दिँदै प्रधानमन्त्रीले जनताको अवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ संकल्पित रहेको पनि बताएका छन् ।

‘देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको छ,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ संकल्पित छ ।’


प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको बताएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा घाइते र अपाङ्ग भएकाहरूको स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गरेका छन् । ‘ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो । वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ । महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।

उनले जनयुद्धको जगमा स्थापित भएका अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको पनि बताएका छन् ।

सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया