बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय सभाको रिक्त पदमा बुधबार चुनाव, कस्ले मार्लान् बाजी ?

नागरिक उन्मुक्तिलाई तान्ने एमालेको प्रयास

मेरोन्यूज २०७९ माघ २४ गते २१:२४

घोरही । राष्ट्रिय सभाको एक रिक्त पदमा भोलि उपचुनाव हुँदैछ । लुम्बिनी प्रदेशबाट रिक्त एक पदमा भोलि चुनाव हुन लागेको हो । चुनवामा तीन जना उम्मेदवार छन् । सत्ता गठबन्धनबाट एमालेका कुमार दसौदी, कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय चुनावी मैदानमा छन् । मतदान केन्द्र दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तोकिएको छ ।

एमालेका सांसद खिमलाल भटटराई प्रतिनिधिसभा चुनाव उठन जानका लागि राष्टियसभाबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

नागरिक उन्मुक्ति सत्तासिन दलभित्रै रहेपनि उसले लुम्बिनीको राष्ट्रिय सभा उपचुनाव र सूदुरपश्चिमको प्रदेश सरकारमा विपक्षीको भूमिकामा देखा परेको छ ।

एमाले माओवादीसहितको सत्ता गठबन्धनबाट उसले राष्ट्रिय सभा चुनाव र सूदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने विषयमा अलग रुपमा प्रस्तुत गर्न चाहेको छ । त्यही कारण प्रदेश सरकारलाई भोलि नै हुने विश्वासको मत नदिने बताईरहेको छ । यता राष्ट्रिय सभामा कांग्रेस र एमालेका उम्मेदवारका बीचमा आफनो पार्टीका तर्फबाट अलग्गै उम्मेदवार उठाएको छ । तर पनि एमालेले प्रदेश सरकार मा विश्वासको मत लिन र राष्ट्रिय सभा चुनावमा पनि नागरिक उन्मुक्तिकै साथ खोज्न अनेक प्रयास गरिरहेको छ ।

उपनिर्वाचनको अघिल्लो दिन पनि एमालेले नागरिक उन्मुक्तिसँग छलफल गरि आफूसँग तान्ने प्रयास गरेको छ। नागरिक उन्मुक्तिका प्रदेस सांसद राजकुमार चौधरीले केन्द्रमा कुरा भइरहेको र सहमति भएमा आफ्नो पार्टीका राजेन्द्रवीरको उम्मेद्वारी निस्कृय पनि हुन सक्ने बताए।

‘सकभर गठबन्धनलाई नै प्राथमिकता दिने हो। केन्द्रमा छलफल गरिरहनुभएको छ’ उनले भने, ‘कुरा मिल्यो भने हाम्रो उम्मेद्वारी निस्कृय पनि हुन सक्छ।’

नेकपा एमाले सांसद भूमिश्वर ढकालले नागरिक उन्मुक्तिसँग एमालेको छलफल भइरहेको बताए।

‘अलिकती छलफल भएको छ। कुनै निष्कर्षमा पुगिएको छैन’ उनले भने।

दुई वटा मतदान केन्द्र बनाइएकोमा क केन्द्रमा प्रदेश सांसदहरु र ख केन्द्रमा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहन्द्र कुँवरले जानकारी दिए।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन्। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ।

मतदान सकिएको आधा घण्टाभित्र मतगणना सुरु हुने र गणना सुरु भएको डेढ घण्टाभित्रै नतिजा आउने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले बताए।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन्। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए।

लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन्। तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन्। तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका छन्।

सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी र जसपा एकातिर हुँदा नागरिक उन्मुक्तिले उम्मेदवारी निश्क्रिय नबनाएपनि कांग्रेसका उम्मेदवार भन्दा बलिया देखिन्छन् । तर कांग्रेसले भने सत्ता गठबन्धनभित्रै चलखेल गराएर आफनो उम्मेदवारलाई जिताउने रणनीति अख्तियार गर्न खोजेको छ ।

प्रतिक्रिया