शुक्रबार, चैत १६, २०८०

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाए कांग्रेसका कमल शाह बन्नेछन् मुख्यमन्त्री

मेरोन्यूज २०७९ माघ २४ गते १८:३२

काठमाडौं । सूदुरपश्चिम प्रदेश सरकार टिकाउने, गिराउने खेलमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएमा कांग्रेसका दल नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् । नागरिक उन्मुक्तिले यो समाचार तयार पार्दासम्म विश्वासको मत नदिने निर्णय लिएको छ । तर रातभर कुनै उल्कापात भएमात्रै मुख्यमन्त्री रावल जोगिन सक्नेछन् ।

नागरिक उन्मुक्तिले आफ्नो पार्टीका संरक्षक रेशम चौध्री लगायतका बन्दीहरु रिहा गर्ने आफुहरुको माग सम्वोधन नभएसम्म सूदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय मगलबार काठमाडौंमा बैठक बसेर लिएको छ ।

मुख्यमन्त्री रावलले विश्वासको मत प्राप्त गर्न २७ सांसदको साथ चाहिन्छ । सरकारमा रहेको माओवादीसाग ११, एमालेसँग १०, राप्रपासँग १ मत छ । मुख्यमन्त्री रावलले सरकार निर्माणका बेला नागरिक उन्मुक्तिका ७ सांसदको पनि साथ पाएका थिए ।

कांग्रेससाग १९, एकीकृत समाजवादीसँग ४ र एक स्वतन्त्र सांसद प्रदेश सभामा छन् ।
नागरिक उन्मुक्तिले मत नदिएमा अहिलेको मुख्यमन्त्री रावलले विश्वासको मत पाउने अवस्था छैन । कांग्रेस, एकीकृत समाजवादी केन्द्र देखि प्रदेश सरकारसम्म प्रतिपक्षमा छ ।

संविधानको धारा १६८ (२) अनुसार गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै एक महिनापछि मुख्यमन्त्री रावलले भोलि बुधबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

Advertisement

मुख्यमन्त्री रावलले विश्वासको मत प्रप्त गर्न नसकेमा उनी स्वत पदमुक्त हुनेछन् ।


प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

‘उपधारा ९१० बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा २ मा भनिएको छ।


‘प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा ३ मा भनिएको छ।

रावल पदमुक्त भएमा प्रदेश प्रमुख जोशीले उपधारा ३ अन्र्तगत प्रदेश सभाको सवैभन्दा ठूलो दलका दल नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।


अहिले प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल छ । उसको १९ सांसद छन् । त्यस्तो अवस्थामा कांग्रेसका दल नेता कमल शाह मुख्यमन्त्री बन्नेछन् ।

यसरी मुख्यमन्त्री बनेका नेताले पनि ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

हेर्नुहोस संविधानको ब्यवस्था

संविधानको धारा १६८ (४) मा भनिएको छ, ‘उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।’

उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके फेरि प्रदेश प्रमुखले उपधारा २ बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भए त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने संविधानमा व्यवस्था छ।

‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा २ बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ उपधारा ५ मा लेखिएको छ।

संविधानअनुसार उपधारा ५ बमोजिम नियुक्त हुने मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके सुदूरपश्चिममा फेरि प्रदेशसभा निर्वाचन हुने देखिन्छ।

उपधारा ७ मा भनिएको छ, ‘उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ।’

प्रतिक्रिया