बिहीबार, वैशाख १३, २०८१

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

मेरोन्यूज २०७९ माघ २४ गते १७:५२

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका किसानलाई कृषिमा आत्मनिर्भर बनाउँन थालेको छ ।

 दोर्दी पालिकाले कृषिमा आत्मनिर्भर बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा तरकारीको विउहरु वितरण गर्दै किसानलाई आत्मनिर्भर बनाउन थालेको हो । 

दोर्दी पालिकाको कृषि शाखाका कृषि प्राविधिक नरहरी घिमिरेका अनुसार पालिकाका किसानलाई यतिबेला उनीहरुको मागको आधारमा वर्खे तरकारीको विभिन्न प्रकारका विउहरु ७५ प्रतिशत पालिकाको अनुदानमा वितरण गरिरहेको छ । 

गाउँपालिकाको यस चालू आवमा स्वकृत वार्षिक कार्यक्रमअन्तर्गत १ देखि ९ नम्बर वडाकै किसानहरुलाई बर्खे तथा लहरे तरकारी बालीको विउ वितरण गरिरहेको उनको भनाई छ । 

काक्रा, घिरौला, करेला,झिण्डी,तनेबोडी र गोलभेँडा कृषिक, कृषक समूह, फर्म तथा सहकारीहरुलाई सो अनुदानमा वितरण भइरहेको छ । 

कृषि प्राविधिक घिमिरेले भने, ‘वर्खाका लागि २ लाख ६४ हजार रुपैयाँ बराबरको तरकारीका विउहरु वितरण गर्न लागेका छौँ ।’

यसअघि समेत दुई  लाख रुपैयाँ बढीको हिउदे तरकारी, च्याउ, किवी लगायतका विउहरु वितरण गरिसकेको छ । साथै बादर धपाउने बन्धुक समेत वितरण गरेको थियो । त्यस्तै, केही महिनाभित्रमा कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर, फर्मको लागि प्लाष्टिक, कृषि औजार लगायतका साम्रगीहरु वितरण हुने भएको छ । साथै कुखुरा तथा पशुपन्छि, माछापालन, बंगुरपालन तथा भैँसी पालन लगायत संचालन गर्दै आएका किसान तथा फर्महरुलाई अनुदान दिने भएको छ ।

पालिकाको सबै वडा तरकारीका लागि उपयुक्त भएपनि वडा नं. २,३,४ मा रहेको बेँसीका फाँटहरुमा बढी उत्पादन तथा राम्रो हुने गरेको कृषि शाखाले जनाएको छ । कृषि शाखाका अनुसार यस पालिकामा संघबाट विषेश अनुदानअन्तर्गत कृषि क्षेत्रका लागि एक करोड ३७ लाख रुपैयाँ र गाउँपालिकाको निर्शततर्फबाट १० लाख रुपैयाँ रहेको छ । 

 दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकामा तरकारी खेति राम्रो हुने र यसबाट किसान व्यवसायिक, आत्मनिर्भर हुँदै परिवारको गुजारा चलाउन समेत सकिने भएकाले उनीहरुलाई तरकारी खेतिमा आकर्षित तथा आत्मनिर्भर बनाउन विभिन्न अनुदान उपलब्ध गराउन थालेको बताए ।

आधुनिक कृषि प्रणाली लागु गर्दै कृषि क्षेत्रमा आगामी वर्षहरुमा बजेट बढाउँदै लैजाउने उनको भनाई छ ।

प्रतिक्रिया