बिहीबार, चैत १५, २०८०

टर्कीको भूकम्पः झण्डै पाँच हजार जनाको मृत्यु

मेरोन्यूज २०७९ माघ २४ गते १६:३२

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा उद्धारकर्मीहरू पीडितलाई जीवितै उद्धार गर्ने ध्येयका साथ खटेका छन् । यो दैवी विपत्तिमा ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने आपत्कालीन सुरक्षाकर्मीले बताएका छन् ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको छ । अहिलेसम्म झण्डै दुई सय पराकम्प भएकाले जोखिम मोलेर उद्धारमा जुट्न विलम्ब भएको छ ।

हाताए प्रान्तको राजधानी अन्तक्या नगरकी नरगुल अतायाले भग्नावशेषबाट आफ्नी आमाले गुहार मागेको धेरै बेर भएका एपीलाई बताइन् । पर्याप्त उद्धारकर्मी र भग्नावशेष पन्साउने विशाल उपकरण नहुँदा उनकी आमाको उद्धार हुन सकेको छैन । सत्तरी वर्षकी आफ्नी आमाले भग्नावशेषमा आफूलाई सम्हाल्न नसक्ने दुखेसो उनको छ । भूकम्पको केन्द्रविन्दुभन्दा दक्षिणपश्चिमको हाताए प्रान्तका एक हजार पाँच सय भवनमा क्षति भएको छ । भवनका भग्नावशेषमा फसेका धेरै मानिस उद्धारको प्रतीक्षामा छन् ।

टर्कीएको दक्षिणपूर्वी प्रान्त काह्रामानमारास केन्द्र भएर भएको शक्तिशाली भूकम्पको धक्काले दमास्कस र बेरुतका बासिन्दालाई घरबाट बाहिर निस्कन बाध्य पारेको थियो भने काह्रामानमारासभन्दा धेरै पर अवस्थिति इजिप्टको राजधानी कायरोमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्पपीडितहरूले खेलस्थल, व्यापार मेला आयोजना गर्ने स्थानका साथै खुला आकाशमुनि आगो बालेर रात गुजारेका थिए ।

चिकित्सा सहायता प्रदान गर्ने डक्टर्स विदाउट बोडर्सले सिरियाको इड्लिब प्रान्तमा आफ्ना सहकर्मीलाई गुमाएको बताएको छ । साथै ती डाक्टरका परिवारका अन्य सदस्यको पनि भैँचालोमा ज्यान गएको छ । सिरियास्थित उक्त संस्थाका प्रमुख सेवास्टियन गेले उत्तरी सिरियामा घाइतेहरूको ठूलो भीड लागेकाले दिनरात चिकित्साकर्मी उपचारमा संलग्न भएका बताएका छन् ।

Advertisement

सिरियासँगको सीमा क्षेत्रमा परिचालन भएका देशका सैनिकलाई उद्धारमा परिचालन गरिएको टर्कीएका रक्षामन्त्री हुलुसी अकरले बताउनुभएको छ । सेनाको अङ्कारास्थित मानवीय सहायता गुल्म पनि सहायताका निम्ति काममा खटिएको छ । आठ वटा सैनिक टोलीले प्रभावित क्षेत्रमा सेवा खोजतलासका काम जारी राखेको छ । मन्त्री हुलुसीका अनुसार जल सेना पनि सहयोगका निम्ति तम्तयार छ ।

गाजीयान्तेप शहरका बासिन्दाले खेलमैदान, रङ्गशाला, किनमेल केन्द्र, मस्जिद र सामुदायिक केन्द्रहरूमा आश्रय लिएका छन् । टर्कीका दश वटा प्रान्तमा कम्तीमा ती हजार तीन सय ८१ जनाको ज्यान गएको तथा २० हजारभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । टर्कीएका राष्ट्रपति रिसेप ताइएप एर्दागानले सात दिन राष्ट्रिय शोक घोषणा गर्नुभएको छ ।

यसैगरी सिरिया सरकारको अधिनमा रहेका भूभागमा सात सय ६९ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ५० जना घाइते भएका छन् । विद्रोहीको पकड रहेको उत्तरपश्चिमी भेगमा चार सय पचास जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् ।

प्रतिक्रिया