बिहीबार, चैत १५, २०८०

राष्ट्रिय सभाले अर्याललाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गर्ने

मेरोन्यूज २०७९ माघ २३ गते ९:२९

काठमाडौँ । राष्ट्रिय सभा बैठकबाट माओवादीको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी उर्मिला अर्याललाई निर्विरोध निर्वाचित गर्ने भएको छ । मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्यालको एकल उम्मेदवारी परेकाले निर्विरोध निवर्वाचित भएको घोषणा गरिनेछ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी अर्याल निर्विरोध निर्वाचित हुन लागेकी हुन् ।

अर्यालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।

बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका श्रेष्ठले ‘अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यो प्रस्तावमा सांसद देवेन्द्र पौडेल र खिमलाल देवकोटाले समर्थन गर्नेछन् ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।

Advertisement

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली छ ।

राष्ट्रिय सभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन्। यस्तै, नेपाली कांग्रेसका १०, नेकपा ९एकीकृत समाजवादी० का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्।

एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् । रिक्त एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमाले थिइन्।

उनी २०६३मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेर पराजित भएकी थिइन् । अर्यालल अहिले नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य हुन्।

प्रतिक्रिया