बिहीबार, चैत १५, २०८०

पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसः कपुरलाई स्वर्ण

मेरोन्यूज २०७९ माघ १९ गते २०:०५

काठमाडौं । एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।


लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीवार भएको फाइनलमा कपुरले टिम सम्झनाका कपिल कुमारलाई १६–१४, ८–११, १६–१४, २–११ र ११–७ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । टिम सम्झनाका प्रकाश धाक्वा र गण्डकी प्रदेशका राजन सुब्बा तेस्रो भए ।


ललितपुर जिल्ला टेबल टेनिससंघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत विभिन्न ७ स्पर्धा समावेश प्रतियोगितामा ४ स्वर्णको छिनोफानो भइसकेको छ । यसअघि टिम इभेन्टको पुरुषमा भारतको ग्लोवल टेबलटेनिस एकेडेमी र महिलामा नेपाल प्रहरी क्लव तथा भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लवकी इन्दिरा पौडेल पराजुलीले स्वर्ण जितेका थिए । पुरुष/महिला सिंगल्स र भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुन बाँकी छ ।


माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बेलायत, फ्रान्स र पोर्चुगलबाट गरी २ सय ५६ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा प्रतिष्पर्धा भइरहेको छ ।


प्रतियोगिताको एकल र टिममा शिर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेस्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।

Advertisement

प्रतिक्रिया