शुक्रबार, चैत १६, २०८०

अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन हुनुपर्छः मन्त्री पदम गिरी

मेरोन्यूज २०७९ माघ १७ गते १५:३६

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अत्यावश्यक औषधिहरु नेपालमै उत्पादन हुनसक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो विभागले प्रभावकारी काम गर्न सक्दा देशका नागरिकहरुको स्वास्थ्य स्थिती पनि राम्रो भएर जान्छ । विभाग बिग्रियो भने ३ करोड नेपालीको स्वास्थ्यमा असर गर्छ,’ उनले भने,‘ बजारमा अहिले पनि गुणस्तरहिन औषधि छ्याप छ्याप्ती छन् । जनशक्ति छैन भनेर पन्छने काम हामीले गर्न हुँदैन । नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइदैंन ।’

उनले सातै प्रदेशमा कार्यालय स्थापना गरेर विभागले बजारको अनुगमन र नियमन गर्नुपर्ने बताए ।‘यसका लागि कार्ययोजना तयार गर्नुस् । कार्ययोजनासहित आउनुस् । आवश्यक सहयोग मन्त्रालयले गर्नेछ ।’

मन्त्री गिरीले अत्यावश्यक औषधिहरुको उत्पादन नेपालमै हुनुपर्ने बताए । ‘पछिल्लो समय बंगलादेशले औषधि उत्पादन क्षेत्रमा ठूलो फड्को मा¥यो । हामीले पनि कम्तिमा अत्यावश्यक औषधिहरु आफैं उत्पादन गर्न सक्नुपर्छ । नाकाबन्दीमा हामीले कस्तो भोग्यौं । भोलिका दिनमा त्यस्तो अवस्था नआओस्,’ उनले भने ।

आठ महिना बितिसक्दा विभागले पुजॅीगत खर्चमा केवल ७ प्रतिशतमात्रै बजेट खर्च गरेको बताउँदै उनले यसमा तत्काल सुधार ल्याउन निर्देशन दिए । गुणस्तरीय औषधि, अनुगमन र नियमनमा विभागको ध्यान जानुपर्ने उनले बताए । ‘ जनतालाई औषधि व्यवस्था विभागको सिस्टममा, सेवामा, ड्युटीमा परिवर्तन आएको छ भन्ने अनुभूति गराउनेगरी जुट्नुस् । त्यसमा हाम्रोतर्फबाट पर्याप्त सहयोग हुन्छ । औषधि, प्रयोगशालाको क्षमता वृद्धि गर्नुपर्छ , यसरी नै हुँदैन’। जनशक्ति, पूर्वाधार, ल्याबको व्यवस्था गर्नका लागि मन्त्रालयबाट कुनै कसर बाँकी रहनेछैन । तपाईहरु पनि नतिजा दिनेगरी काममा लाग्नुहोला,’ उनले भने, ‘अब स्वास्थ्यको क्षेत्रमा आधारभूत रुपमा जनताले परिवर्तन अनुभव गर्न पाउनुपर्छ ।’

Advertisement

प्रतिक्रिया