शनिबार, वैशाख ८, २०८१

औषधि व्यवस्थापन विभागलाई मन्त्री गिरीको निर्देशन- गुणस्तरहीन औषधि बिक्री रोक्न निगरानी बढाउनूस्

मेरोन्यूज २०७९ माघ १७ गते १४:२५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् ।


मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरिले विभागलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाइ प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे ।


उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरु प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । उनले विभाग मा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले विभागले चाँडो भन्दा चाँडो कार्ययोजना बनाइ मन्त्रालयमा आफ्ना मागहरु लिएर आउन आग्रह गरे । मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए ।


‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरु छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । तपाईहरुले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो । पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ ।

यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नु हुँदैन,’ उनले भने,–‘त्यसमा सम्पूर्ण रुपले प्रतिवद्ध भएर विभागले आफ्ना कार्य अघि बढाउनुपर्छ । मन्त्रालयले के सहयोग गर्नुपर्छ गर्नेछ । यो सवालमा जनशक्ति छैन, केही लिमिटेशनहरु छन् भन्ने लगायतका इत्यादि कुराले गर्न सकेका छैनौँ भन्न पाइँदैन । यो मैले स्पष्ट रुपमा भनेको छु, प्रभावकारी कार्यान्वयन होस् ।’

उनले सातै प्रदेशमा औषधि विभागका कार्यालयहरु स्थापना गर्नुपर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए ।

‘अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्छ, हामी त्यसमा आत्मनिर्भर बन्ने योजना बनाउनु पर्छ । अत्यावश्यक औषधिहरु नेपालमै बनाउने कार्ययोजना बनाउनुपर्छ । मलाई व्यापारीहरुले भन्नुभयो फार्मेसी दर्ता गरेका छौं, नवीकरणका लागि हरेक वर्ष काठमाडौं जानुपर्छ, तर यसलाई झन्झटिलो बनाउने होइन, गुणस्तरीय सेवा दिने कुरामा,नियमन र अनुगमनको कुरामा निर्मममतापूर्वक कडाइ गर्नुपर्छ,’ मन्त्री गिरिले भने,–‘तर दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुराहरुमा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ । सकिन्छ भने अनलाइन सिस्टमबाट नै यो कुरा गर्नुपर्छ । अबको दुनियाँमा यो कुनै ठूलो कुरा होइन ।’


मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । उनले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताए । मन्त्री गिरीले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभुत रुपले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया