शुक्रबार, वैशाख ७, २०८१

देउवालाई दबाब दिन संस्थापनका केन्द्रीय सदस्यहरूको भेला

देउवा पदाधिकारी र कार्यसम्पादन समितिको कब्जामा परेको गुनासो

मेरोन्यूज २०७९ माघ १७ गते १३:५०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिन संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका छन् ।

पार्टीको निर्णय प्रक्रियामा पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति हाबी हुँदा केन्द्रीय कार्यसमितिका सदस्यहरू भूमिकाविहीन बनेपछि आफूहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउन उनीहरूले भेला गरेका हुन् ।


नेताहरू मीन विश्वकर्मा, नैनसिंह महर, पुष्पा भुसाललगायतको संयोजनमा दुई दर्जन केन्द्रीय सदस्यहरूले सोमबार बालुवाटारमा अलग्गै भेला गरेर उनीहरूले पार्टी सभापति देउवा, पदाधिकारी र कार्यसम्पादन समितिको कब्जामा परेको गुनासो गरेका छन् ।

कांग्रेसले स्थानीय तहको निर्वाचनपछि गत असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक गरेको थियो । त्यसयता अहिलेसम्म बैठक बसेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि त्यसबारे समीक्षा गर्न सभापति देउवाले बैठक बोलाए, तर तीन पटकसम्म बोलाइएको बैठक स्थगित भएपछि अहिलेसम्म फेरि बैठक बस्न सकेको छैन ।

भेलामा केन्द्रीय सदस्यहरू विद्या तिमिल्सिना, चन्द्र केसी, शुशिला थिङ, रुपा विक, राजिव ढुंगाना, रणबहादुर रावल, गोविन्द भट्टराई, शान्ति परियार, कुन्दन काफ्ले, चिनकाजी श्रेष्ठ, अब्दुल सतार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, हरिशरण नेपाली, कृष्णकिशोर घिमिरे, गणेश लामा, कर्णबहादुर बुढा, सीता देवकोटालगायत नेताहरू सहभागी थिए ।

केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको निर्णय प्रक्रियामा पदाधिकारी र कार्यसम्पादन मात्रै हाबी हुँदा पार्टीले थुप्रै असफलताहरू बेहोरेकाले त्यसबाट कसरी छुटकरा पाउन सकिन्छ भनेर छलफल गरेको बताए । उनले केन्द्रीय समितिलाई बाइपास गरेर निर्णय गर्ने क्रम रोक्न सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराउने तयारी भएको बताए ।

भेलामा सहभागी नेताहरूले अब भ्रातृ संस्थाहरूको पुनर्गठन र संगठन विस्तारका काममा पार्टीले ताकेता गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया