शुक्रबार, वैशाख १४, २०८१

बाबुले आगो लगाउँदा २ वर्षे छोराको मृत्यु, आमा घाइते

मेरोन्यूज २०७९ माघ १६ गते ८:३३

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका भानुभक्त विक पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्स पेट्रोल छर्किएर जलाएका थिए ।

जलेर गम्भीर घाइते भएका प्रिन्सको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । डीएसपी रामप्रसाद घर्तीमगरले जलेका प्रिन्सको मृत्यु भएको र उनकी आमा गंगाको उपचार भइरहेको जानकारी दिए ।

श्रीमति र छोरालाई पेट्रोल छर्केर आगो लगाइ भारततर्फ भागेका भानुभक्तलाई प्रहरीले राति साढे १ बजेतिर नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको डिएसपी घर्ती मगरले बताए ।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्ने गरेको जानकारीमा आएको बताइन । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।

साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए ।

बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

घटनालगत्तै उनीहरूलाई कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट उनीहरुलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि भेरी अञ्चल अस्पताल पुर्‍याइयो ।

प्रतिक्रिया