शनिबार, वैशाख ८, २०८१

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

अहिले बेलुकी साँढे ९ बजे केन्द्रीय समितिको आकस्मिक बैठक

मेरोन्यूज २०७९ माघ १३ गते २०:५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। सभापति रहेका रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको फैसलाले रद्द भएसँगै लामिछानेले सभापतिको पद समेत गुमाएका छन् ।

पार्टी सभापतिको पद, चितवन क्षेत्र नम्बर २ को सांसद पद र सरकारको उपप्रधान तथा गृहमन्त्रीको पद समेत गरेर सबै पद गुमेपछिको विकसित घटनाक्रमका बारेमा छलफल गर्न रास्वपाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठक अहिले बेलुकी साँढे ९ बजे बस्दैछ ।

उपसभापति डोलप्रसाद अर्यालले अहिले बेलुकी साँढे ९ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।

‘हामीले सभापतिको नागरिकताको विषयमा सर्वोच्चको फैसला आएपछि विकसित घटनाक्रमको बारेमा छलफल गरेर नयाँ निर्णय गर्न अहिले साढे नौ बजे केन्द्रीय सममितिको आकस्मिक बैठक बोलाएका छौँ,’ अर्यालले भने,‘ बैठकका एजेण्डा अहिले तयार पार्दैछौं।’

स्रोतका अनुसार सभापति लामिछानेको पद गुमेपछि नयाँ सभापति चयन गर्ने कि कार्यवाहक बनाएर निर्वाचन आयोगमा जाने निर्णय गर्ने तयारी छ।

साथै, निवर्तमान सभापति लामिछानेको तत्काल नागरिकता प्राप्तिको तयारी गर्ने निर्णय गर्न सक्छ।

प्रतिक्रिया