शुक्रबार, चैत १६, २०८०

विज्ञान पत्रकार मञ्चद्वारा वरिष्ठ वनस्पतिविद् डा श्रेष्ठ सम्मानित

मेरोन्यूज २०७९ माघ १३ गते २०:०६

काठमाडौं । विज्ञान पत्रकार मञ्चले वरिष्ठ वनस्पतिविद् डा तीर्थबहादुर श्रेष्ठलाई आज यहाँ सम्मान गरेको छ । मञ्चको नवौँ वार्षिकोत्सवका आवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान, व्यवस्थापनमा निरन्तर खटिनुका साथै विज्ञानप्रविधिसँग सम्बन्धित सञ्चारसामग्री सरल भाषामा तयार गरी आमजनतालाई सुसूचित गराएबापत डा श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्व डा श्रेष्ठले करिब ६० वर्षदेखि विज्ञान तथा प्रविधिको क्षेत्रमा निरन्तररूपमा क्रियाशील भई समाज र राष्ट्रलाई यथाशक्य योगदान दिएको चर्चा गर्दै वैज्ञानिक अध्ययन, अनुसन्धानलाई सरल र स्पष्ट भाषामार्फत आमजनलाई सुसूचित गराउने दायित्व विज्ञानप्रविधिसम्बद्ध पत्रकारको रहेको धारणा व्यक्त गरे ।

पूर्ववातावरण, विज्ञान तथा प्रविधिमन्त्री इन्जीनियर गणेश साहले वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र पत्रकारबीचको सहकार्यमा जोड दिंँदै विज्ञान प्रविधि क्षेत्रसम्बद्ध विधागत पत्रकारिताले प्राथमिकता पाउन थालेकामा खुशी व्यक्त गरे ।

प्राडा विजया पन्तले सदैव प्रयोगशालामा रमाउने वैज्ञानिक तथा अनुसन्धानदाताका खोज, आविष्कारलाई मुलुकको बजार प्रणालीमा जोडी देश र जनतालाई लाभान्वित तुल्याउने काममा विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील पत्रकारको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

मञ्चका संस्थापक अध्यक्ष एवं कार्यक्रम निर्देशक छत्र कार्कीले विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाउने पत्रकारलाई एकत्रित गरी बढीभन्दा बढी जनचेतना जगाउन सघाउ पु¥याउने उद्देश्यले २०७० सालमा स्थापना गरिएको स्पष्ट गरे ।

Advertisement

प्रतिक्रिया