बुधबार, वैशाख १२, २०८१

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै

मेरोन्यूज २०७९ माघ ११ गते १०:४४

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ । नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । उनको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन गर्न लागिएको हो । एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै छन् । नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदै छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ दुई सय १८ मतदाता छन् । माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया