शनिबार, वैशाख ८, २०८१

राष्ट्रपति निर्वाचन अघि कांग्रेस केन्द्रीय समिति बैठक नबस्ने

मेरोन्यूज २०७९ माघ ११ गते १०:४५


काठमाडौँ । प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचन भएको माघ ४ गते दुई महिना पुगिसक्यो । तर, प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले त्यो निर्वाचनको समीक्षा पार्टीको केन्द्रीय समिति बैठकमा गरेको छैन ।

निर्वाचनको समीक्षा गर्नका लागि भन्दै बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति तेस्रो पटक सारिएको छ । सबैभन्दा पहिला केन्द्रीय कार्यसमिति बैठक २२ पुसका लागि बोलाइएको थियो । तर, त्यो बेला २५ पुसमा बस्ने पहिलो प्रतिनिधि सभा बैठकको तयारी गर्न पर्ने भन्दै २३ पुसमा संसदीय दलको बैठक बोलाएर सभापति शेरबहादुर देउवाले २८ पुसका लागि केन्द्रीय कार्यसमिति बैठक धकेलेका थिए ।

२० पुसमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पौषमा संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ः०० बजे बस्नेछ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २२ पौषका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर पौष २८ गते अपरान्ह १ः०० बजे बस्ने निश्चित गरिएको छ ।’

फेरी २८ पुसका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधि सभाको सभामुख निर्वाचनको तयारी गर्ने भन्दै १५ माघका लागि सारियो ।

अहिले फेरि राष्ट्रपति निर्वाचनका लागि तयारी गर्ने भनेर केन्द्रीय समिति बैठक सारिएको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार बसेको पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठक सारेर राष्ट्रपति निर्वाचनको तयारी गर्ने प्रस्ताव अनौपचारिक रूपमा राखेका थिए । त्यसमा कुनै पनि नेताले प्रतिवाद नगरेपछि अनौपचारिक रूपमा बैठक सरेको हो ।

त्यो बैठकमा सहभागी एक पदाधिकारी भन्छन्, ‘माघ १५ गते केन्द्रीय समिति बैठक नबस्ने निश्चित हो । पदाधिकारी बैठकमा सभापतिज्यूले जानकारी गराउनु भएको छ । अब राष्ट्रपति निर्वाचनको तयारीमा लाग्ने, राष्ट्रपति निर्वाचनपछि मात्रै केन्द्रीय समिति बैठक बस्ने कुरा छ । त्यसमा सबै नेताहरूको मौन समर्थन देखिएको थियो ।

ती पदाधिकारीले बैठक सारेको सारै ग¥यो भनेर आलोचना हुन्छ भनेर औपचारिक रूपमा सूचना नल्याउने कि भन्ने पनि कुरा पदाधिकारी बैठकमा भएको बताए ।

यसबारेमा जानकारी लिन खोज्दा कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेल सम्पर्कमा आएनन् ।

प्रतिक्रिया