बिहीबार, चैत १५, २०८०

भूकम्पपछि बाजुरामा एक जनाको मृत्यु, २५ घरमा क्षति

मेरोन्यूज २०७९ माघ १० गते २०:०९

काठमाडौँ । भूकम्पपछि बाजुरामा ढुंगाले लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका २ आगरकी ३५ वर्षीया जमुना रोकाया रहेकी छिन् ।

घाँस काट्न गएकी रोकायाको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको स्थानीय प्रेमबहादुर रोकायाले जानकारी दिए । घाँस ल्याएर घर फर्किने क्रममा ढुंगाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

भूकम्पबाट २५ घरमा क्षति

बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भई आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पुर्‍याएको छ ।

भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका १ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।

Advertisement

प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार भूम्कपबाट बडिमालिका नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा विभिन्न व्यक्तिका घरमा क्षति पुगेको छ ।

भूकम्पबाट बडिमालिका २ भौनेरास्थित सत्यवादी माविको भवनसमेत भत्केको छ । भूकम्पपछि जिल्लाको टेलिफोन सेवा अवरुद्ध छ । भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया