बिहीबार, चैत १५, २०८०

आयातसँगै घट्यो निर्यात, व्यापार घाटा कति ?

मेरोन्यूज २०७९ माघ १० गते १६:३५

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो ।

गत आवको पुससम्म नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमारू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो ।

साथै, गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो ।

तथ्यांकअनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।

Advertisement

व्यापार घाटा सात खर्ब

चालु आर्थिक वर्षको छ महिनामा व्यापार घाटा सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ ।

समीक्षा अवधिमा नेपालले आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ । गत आवमा आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो ।

विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।

तथ्यांकअनुसार छ महिनामा नेपालले छिमेकी मुलुक भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापार घाटा व्यहोरेको छ ।

उक्त अवधिमा नेपालले भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।

प्रतिक्रिया