शुक्रबार, चैत १६, २०८०

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार पौडेल कि सिटौला ?

मेरोन्यूज २०७९ माघ १० गते १२:४१

काठमाडौँ । नेपाली कांग्रसको आइतबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा पार्टीको तर्फबाट उम्मेदवार उठाउने निर्णय गर्दै अन्य दलसँग त्यसबारे छलफल गरेर पार्टीका उम्मेदवारका पक्षमा माहोल बनाउने निर्णय गरेको छ । तर, पार्टीले उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेको छैन ।


वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल फागुन २९ गतेसम्म छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचसम्बन्धी ऐन, २०७४ को दफा ४ ले ‘निर्वाचन आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने’ व्यवस्था गरेको छ । त्यसो हुँदा यही माघ २९ गतेसम्म निर्वाचन हुनुपर्छ । तर, निर्वाचन आयोग र सरकारले त्यसको तयारी नगरेकाले दबाब दिन कांग्रेसले त्यस्तो निर्णय गरेको हो ।
सरकारले तयारी नगरे पनि कांग्रेस भने नयाँ राष्ट्रपति आफ्नो लविङको बनाउन लागिरहेको छ ।


आइतबार उम्मेदवार उठाउने निर्णय गरेपछि सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका तर्फबाट उम्मेदवार को बनाउने भन्ने विषयमा पनि आफू निकटस्थहरूसँग कुराकानी सुरु गरेका छन् ।


देउवाले १४ औं महाधिवेशनमा आफू सभापति बन्नका लागि नेता रामचन्द्र पौडेललाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । गत मंसिर ४ गते प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि पनि कांग्रेसमा पौडेल नै राष्ट्रपतिको उम्मेदवार हुने कोसिस् गरिरहेका थिए ।


निर्वाचन हुने बेलासम्मको गठबन्धनलाई निरन्तरता दिन नेता पौडेल लागिरहेका थिए । उनले त्यो बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू गठबन्धनलाई निरन्तरता दिन र आफूलाई राष्ट्रपति बनाउन सहयोग गर्न आग्रह गर्न उनीहरूकै निवासमा पुगेर भेटेका थिए । अहिले पनि नेता पौडेलले आफूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन दबाब बढाइरहेका छन् ।

Advertisement

संसदीय दलको नेताको निर्वाचनका बेला पनि देउवासँग भेटेर राष्ट्रपति उम्मेदवार बनाउने सर्तमा सहयोग गर्न र माहोल बनाउन सक्ने बताएका थिए । त्यसबेला उनले आफ्नो पक्षमा रहेका सांसद सुरेन्द्र आचार्यलगायतलाई देउवालाई मतदान गर्न लगाएको चर्चा पनि कांग्रेसबृत्तमा छ ।


देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता बालकृष्ण खाणसहितका नेताहरू पौडेललाई नै उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा छन् । पौडेललाई उम्मेदवार बनाउने प्रस्ताव भएमा अर्काे समूहले पनि इन्कारै गरिनहाल्ने बुझाइमा देउवा स्वयम छन् ।


तर, विमलेन्द्र निधि, प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरूभने कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउन सकिएमा भने छिमेकी मुलुक र अन्य पार्टीहरूलाई कन्भिन्स गर्न सहज हुने बताइरहेका छन् । दोस्रो प्रतिनिधि सभामा संविधान बनाउने मस्यौँदा बनाउँदा पनि सिटौलाले सबैलाई मिलाएको तथ्यका आधारमा उनलाई दिँदा उपयुक्त हुने तर्क आफू निकटका हरूसँग गरिरहेको नेताहरू बताउँछन् ।


देउवाको मनोकांक्षा पनि पौडेललाई नै दिने रहेको उनी निकटका नेताहरू बताउँछन् । तर, सिटौलाले पनि १३ औं महाधिवेशन र १४ औं महाधिवेशनमा सहयोग गरेको गुन तिर्नका लागि केही न केही गर्नुपर्ने अवस्थामा देउवा रहेकाले अप्ठ्यारो रहेको नेताहरू बताउँछन् ।


देउवा निकट नेता एनपी साउदले राष्ट्रपतिको उम्मेदवार कांग्रेसले निश्चित नगरिसकेको बताउँछन् । ‘पार्टीले उम्मेदवार बनाउने निर्णय गरेपछि दाबी गर्नेहरू त खुल्दै जानुहोला । रामचन्द्र दाईले त पहिला देखि नै चाहना राख्नु भएको छ । कता कता कृष्णप्रसाद सिटौलाको कुरा पनि सुन्नमा आएको छ,’ साउदले भने, ‘‘अहिले नै यही भन्ने अवस्था छैन । हामीले छलफल गरेर एकमुष्ट रूपमा सर्वसम्मत राष्ट्र«पतिको उम्मेदवार तय गर्छौ ।’


राष्ट्रपतिको उम्मेदवार बन्न नेता गोपालमान श्रेष्ठले चाहना राखेको तर उनको सम्भावना कम रहेको नेताहरू बताउँछन् ।
अहिलेको सत्ताको नेतृत्वकर्ता माओवादी पनि संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिँदा शक्ति सन्तुलनमा सहज हुने बुझाइमा छ । प्रधानमन्त्री प्रचण्ड स्वयंले प्रधानमन्त्रीमा विश्वासको मत माग्दा राष्ट्रपतिमा सघाउने आश्वासन दिएको देउवाले आफू निकटस्थहरूलाई बताइरहेका छन् । तर प्रधानमन्त्री स्वयंले भने यस विषयमा सार्वजनिक रूपमा केही बोलेका छैनन् ।


कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले एमालेको राज्य कब्जा गर्ने रणनीतिलाई असफल बनाउन कांग्रेसले सशक्त उम्मेदवार उठाएर सत्तारुढ दलहरूको समेत सहयोग मागेर राष्ट्रपतिमा पार्टीको उम्मेदवार जिताउने रणनीतिमा लाग्नु पर्ने बताउँछन् । पदाधिकारी बैठकको राष्ट्र«पतिमा उम्मेदवार उठाउने निर्णय पनि त्यसै अन्तर्गत आएको उनको भनाइ छ ।


‘कांग्रेस उम्मेदवार उठाउने मात्र होइन, जिताउने रणनीतिमा लाग्नुपर्छ । नत्र एमालेले राज्य कब्जा गर्छ र मनलाग्दी गर्छ,’’खतिवडाले भने, ‘माओवादीको प्रधानमन्त्री भएर एमालेको सभामुख र राष्ट्रपति भयो भने केही गर्न सक्दैन । तसर्थ माओवादी र अन्य दलहरूले पनि एमालेको मनलाग्दी रोक्न सहयोग गर्छन् भन्ने हाम्रो बुझाइ हो ।’


देउवाले अब पार्टीबाट उम्मेदवार कसलाई बनाउने भन्नेबारे एउटा सानो बैठकमा छलफल गर्ने र १५ माघमा सुरु हुने केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने मनस्थितिमा छन् । निकटस्थहरूसँग पनि कसलाई बनाउँदा उपयुक्त हुने भन्ने सुझाव लिइरहेका छन् ।


कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भएको स्रोतले बतायो ।

प्रतिक्रिया