शुक्रबार, चैत १६, २०८०

भाग्यले बाँचेका रक्षा मन्त्री उप्रेती, जो अप्रेसनपछि चुनाव‍मा होमिएका थिए

नरेन्द्र रौले २०७९ माघ ९ गते २०:५०

काठमाडौँ । मन्त्रिपरिषद दोस्रो पटक विस्तार हुँदै थियो । मन्त्री बन्नेको नाम लिस्ट पार्टीले तय गरिसके पनि नेकपा एमालेका नेताहरूले त्यसको सुँईको पाएका थिएनन् ।

कसले कुन मन्त्रालयको जिम्मेवारी पाउँदैछ । त्यो गोप्य राखिएको थियो । सपथ ग्रहण समारोहमा दौरा सुरुवाल लगाएर बसेका सर्लाही ३ बाट निर्वाचित हरिप्रसाद उप्रेती त्यो बेला झसङ्ग भए । जब उनको नाम रक्षा मन्त्रीमा आयो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच जसरी एकाएक गठबन्धनपछि सरकार गठन भयो, उप्रेतीको नाम भावी मन्त्रीका रुपमा हल्ला चलिरहेको थियो । तर, कुन मन्त्रालय पाउने भन्ने निर्णय भइसकेको थिएन । हुन त सर्लाही ३ बाट संघीय चुनावमा निर्वाचित भएका उप्रेतीको जित पनि नसोचेकै तरिकाले भयो ।

पाँच दलीय बलियो गठबन्धनका उम्मेदवारलाई हराएर जसरी उनले जित हासिल गरे । त्यो छक्क पार्ने खालको थियो । कडा प्रतिस्पर्धाबीच अहोरात्र खटेर उनले आफ्ना पक्षमा जित निकाले ।

५५ वर्षीय नव नियुक्त रक्षा मन्त्री हरि उप्रेती स्वयं पनि यस पटकको चुनावमा जित्नेमा ढुक्क थिएनन् । एकातिर पाँच दलीय गठबन्धन शसक्त ढंगमा चुनावी प्रचारमा थियो । उता विपक्षीको आक्रामक प्रचारप्रसार अभियान तीव्र रुपमा अघि बढ्दै थियो ।

Advertisement

यता एमालेबाट टिकट पाएका उप्रेती भने बिरामी भएर अस्पतालको शैयामा पल्टिरहेका थिए । उनको प्याङ्क्रियाजमा समस्या थियो । गल्ब्लाडरमा पत्थरी जमेको थियो । वीर अस्पतालमा उनलाई आइसियुमा राखिएको थियो । आइसियुमै उनको अप्रेसन चलिरहेको थियो । डाक्टरहरूले धेरै नबोल्न र आरा मगर्न सल्लाह दिइराखेका थिए । तर, राजनीतिमा रस बसिसकेका उप्रेतीको मन यत्तिकै कहाँ चुपचाप बस्न मान्थ्यो र ?

उप्रेती वीर अस्पतालबाट निस्किएर सीधै आफ्नै जिल्ला सर्लाही हानिए । क्षेत्र नम्बर ३ मा राजनीतिक सरगर्मी निकै बढिसकेको थियो । पाँच दलीय गठबन्धन चुनावी प्रचार–प्रसारलाई तीव्रता दिँदै थियो । चुनाव जित्ने लगभग ढुक्क अवस्थामा रहेको गठबन्धनसँग टक्कर लिनु उनका लागि निकै चुनौतिपूर्ण थियो । तर, उनले आफ्नो कर्म छोडेनन् ।

जनताहरूसँगको सम्बन्ध, निरन्तर भेटघाट, कार्यकर्तासँग उठबस र परिचालनलाई परिपक्व ढंगले अघि बढाए । विपक्षी पार्टीका समर्थक र मतदाताहरूलाई विश्वास दिलाए । राजनीतिक व्यक्ति र अघिल्ला चुनावहरूमा पनि भाग लिइसकेको हुनाले उनी अनुभवी थिए । चुनाव जित्न सक्दो कोशिस गरे ।

सर्लाही ३ मा यसपालि नेकपा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाएका थिए । अघिल्ला वर्षका प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका स्थानीय नेताहरूले टिकट पाउने अपेक्षा गरे पनि पाएका थिएनन् । कांग्रेसका नेता, कार्यकर्ता निरास बनेका थिए ।

तैपनि, कांग्रेसले इमानदारीतापूर्वक पार्टीको निर्देशन बमोजिम नै काम गरिरहेको थियो । तर, गठबन्धनमा सहभागी अन्य दलका नेता, कार्यकर्ताबीच एकप्रकारको बैमनस्यता देखिन्थ्यो । आफूले टिकट पाउने अपेक्षा गरेका असन्तुष्ट आकांक्षीले गठबन्धनका उम्मेदवारलाई जिताउनुको सट्टा एमाले जसपाका उम्मेदवार उप्रेतीलाई भोट हाल्ने निष्कर्षमा पुगे ।

नभन्दै सर्लाही ३ बाट उप्रेतीले प्रतिनिधिसभाको चुनावमा जित हासिल गरे । उनले ३२ हजार ९३८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत पाए । बिरामी अवस्थामा बलियो आँट नगरेका भए उनलाई यो जित हासिल गर्न सहज हुँदैनथ्यो ।

किसान परिवारमा हुर्किएका उप्रेती, जो पेस्तोल आक्रमणमा परेर बाँचेका थिए । रक्षा मन्त्री उप्रेती सर्लाहीको पिपराभित्ताको एक किसान परिवारमा जन्मिएका हुन् । उनका बुबाले पढ्ने मौका पाएनन् । विशुद्ध किसान । तर, बुबा सामाजिक कार्यमा संलग्न भइरहन्थे ।

किसान परिवारमा गरिबीले छाडेको थिएन । जनआन्दोलनपछिको समयमा पनि तराईंमा सशस्त्र समुहहरूले आतंक मच्चाइरहन्थे । उप्रेतीको घरमा तीनपटक डाँका लागे । घरमा भएका सरसामानहरु लुट्पाट गरे ।

एकपटक उप्रेतीका बुबालाई सशस्त्र समूहले अपहरण गरे । घरको किचेनमै पसेर बुबालाई कञ्चटमा एके ४७ हतियार तेस्र्याएर अपहरण गरेको उनी कहिल्यै भुल्दैनन् । त्यसबेला न्यौपाने थरका एक शिक्षकलाई पनि अपहरण गरिएको थियो ।

तीन दिनसम्म गायब गरिएपछि बल्लतल्ल छुटाइएको थियो । पटक पटक यस्तै घटनाहरु दोहोरिएपछि उप्रेतीले घर नजिकै सशस्त्र बेस क्याम्प खडा गरे ।

त्यसो त स्वंय उप्रेतीलाई पनि सशस्त्र समूहले एकपटक अगाडिबाटै निधारमा पेस्तोल प्रहार गरिएको थियो । ‘म¥यो भनेर छोडेर गएका थिए,’ उनले त्यो क्षण सम्झिए, ‘पछि ती व्यक्ति पक्राउ परे ।’ रोचक त के छ भने जसले आफूलाई गोली प्रहार गरे, तिनै व्यक्तिलाई उप्रेतीले जेलबाट छुटाए । मलाई सुध्रिन दिनुहोस् भनेर माफी मागेपछि उनले माफी दिएर छुटाई दिएछन् ।

सधैँ घाटाको राजनीति गरेका उप्रेती

अभिनेता निखिल उप्रेती रक्षा मन्त्री हरिका आफ्नै भाइ हुन् । चर्चित अभिनेता निखिलको नजरमा दाइ हरिले सधैँ घाटाको राजनीति गरे । नाफा कमाउनतिर कहिल्यै नलागेको, बरु भएको सम्पत्ति बेचेरै आफ्नो दाइ राजनीतिमा होमिएको निखिलले सुनाए ।

सरस्वती बहुमुखी क्याम्पस, लेखनाथमार्ग, ठमेलबाट बिकम गरेका रक्षा मन्त्री उप्रेतीको राजनीतिक जीवन त्यहींबाट सुरु भयो । एक छोरा र एक छोरीका पिता उनले अखिलको राजनीति सरस्वतीबाटै सुरु गरे । त्यसो त २०३७ सालमा सर्लाहीको हरिवनस्थित चर्तुभुजेश्वरबाट अनेरास्ववियुबाट निर्वाचित हुँदै उनी राजनीतिमा आवद्ध भएका थिए ।

०४४ सालमा उनले नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका हुन् । ०६४ सालको चुनावमा हारेका उनले ०७० सालको दोस्रो संविधानसभाको चुनावमा भने उनले जित हासिल गरे । त्यो जितपश्चात् उनी संसदको वातावरण समितिमा सदस्य पदमा रहेर भूमिका निर्वाह गरे । ०७४ सालको चुनावमा उनले टिकट नै पाएनन् । यसपालि शारीरिक अस्वस्थता र प्रतिकुल राजनीतिबिच उनले जितेरै देखाइदिए ।

नव नियुक्त रक्षा मन्त्री उप्रेतीका अगाडि प्रशस्त चुनौतीहरू छन् । मुलुकको प्रतिरक्षा बढाउन सैन्य शक्तिलाई देशको प्रमुख शक्तिका रुपमा लिइन्छ । उनी यस्तो बेला संवेदनशिल रक्षा मन्त्रालय सम्हाल्न पुगेका छन् । जुन बेला नेपालमा छिमेकी देश भारत र चीनको चासो ह्वात्तै बढेको छ ।

अमेरिकाको चासो अझ त्यो भन्दा चुनौतीपूर्ण बन्न पुगेको छ । सडकमा आगो बालेको र राजनीतिक ध्रुवीकरण गरेको एमसीसीलगायतका मुद्दाहरूले फेरि कुनै पनि बेला बल्झिन सक्छन् । चीन र भारतसँग सीमा विवाद सुल्झिएका छैनन् ।

भारतसँग खुला सीमाना, सीमा अतिक्रमण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, शरणार्थीहरुको उचित व्यवस्थापन, मानव बेचबिखन, संगठित अपराधको नियन्त्रण जस्ता थुप्रै खालका समस्याहरू छन् । मुलुकमा आन्तरिक र बाह्य समस्या, जटिलताहरु थपिदै गएका छन् ।

कुटनीतिक क्षमता र अभ्यास, साझा राजनीतिक समझदारीको विकासको एजेण्डलाई अघि सारेर कदम चाल्नु पर्ने आवश्यकता छ । राष्ट्रिय स्वार्थका लागि सबैसँग समन्वय गरेर रक्षा मन्त्री कसरी अगाडि बढ्न सक्छन् ? यस्तै गठबन्धनमा सहभागी दलहरूको चित्त बुझाएर अघि बढ्नु अर्को चुनौती छ ।

प्रतिक्रिया