शनिबार, वैशाख १५, २०८१

राष्ट्रपतिमा कांग्रेसको यस्ता छन् तीन रणनीति

मेरोन्यूज २०७९ माघ ८ गते १४:२६

काठमाडौं । ४ मंसिरको चुनावपछि संसदको ठूलो दल बनेर उदाएको कांग्रेस एकाएक सरकार बाहिर हुन पुग्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री दिएर फकाउन नसक्दा कांग्रेस संघीय सरकार, प्रदेश सरकार सबैतिर सरकार बाहिर रहन पुग्यो ।

तर, कांग्रेसले आफ्नो गठबन्धनबाट उछिटिएर फेरि एमालेसँगै लगनगाँठो कस्न पुगेको माओवादी केन्द्रलाई आफैसँग नजिक बनाउन अनेक कोसिस गरिरहेको छ । त्यसैको परिणाम हो-कांग्रेसले कानुनतः विपक्षी दलको हैसियतसमेत गुमाएर (भलैं कांग्रेसले संसदमा विपक्षी दलको नेताको हैसियतमा आफूलाई उभ्याइरहेको छ) प्रधानमन्त्री प्रचण्डलाई संसदमा दिएको विश्वासको मत ।

कांग्रेसले समेत विश्वासको मत दिएपछि नैतिक रुपमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई संसदमा असाधारण विश्वासको मत त मिलेको छ । तर, माओवादी स्वयमलाई कांग्रेससँग मिल्ने की एमालेसँगै सहकार्य अगाडि बढाउने भन्ने दुविधामा पारिदिएको छ । जसका कारण माओवादीको वास्तविक अग्नी परीक्षा राष्ट्रपति चुनावमा हुने कांग्रेसका नेताहरू बताइरहेका छन् ।

गत ४ मंसिरको चुनावअगाडि जसरी पनि एमाले कांग्रेस-माओवादीको गठबन्धन तोड्ने मिसनमा लागेको थियो । उसले कहिले कांग्रेस, कहिले माओवादीसमक्ष अनेक कार्ड फ्याकेर गठबन्धन तोड्ने असफल प्रयास गरेको थियो । चुनावअगाडि गठबन्धन तोड्ने मिसन सफल नभए पनि चुनावपछि नयाँ सरकार निर्माणका क्रममा एमाले आफ्नो मिसनमा सफल भएको छ ।

ठिक त्यसै गरी कांग्रेस फेरि अहिले एमाले-माओवादी गठबन्धन तोड्ने मिसनमा लागेको छ । केन्द्रदेखि प्रदेश सरकारसम्ममा हात धोइसकेको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राष्ट्रपति चुनावलाई ‘बटमलाइन’ बनाएको छ । त्यसका लागि उसले मुख्यतः तीन रणनीति अगाडि सारेको देखिएको छ ।

कांग्रेसका एक नेताका अनुसार, कांग्रेसले राष्ट्रपति चुनावसम्म पुगेर माओवादीलाई पुरानै गठबन्धनमा फर्काउन सकिएमा प्रदेश र केन्द्रको सरकारमा आफूहरूको पनि सहभागिता हुने र संसदको सभामुखमा मात्रै एमालेलाई सिमित गराउन सक्ने ठानेको छ । त्यसका लागि जसरी हुन्छ माओवादीलाई फकाउने र एमालेसँगको सम्बन्ध तोडाउने रणनीतिमा कांग्रेस लागेको छ ।

त्यसका लागि उसले तीन रणनीतिमा काम गरिरहेको कांग्रेसका एक पदाधिकारीले बताए ।

कांग्रेसका यस्ता छन् तीन रणनीति

१) राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री पाँचै वर्ष प्रचण्डलाई

कांग्रेस र माओवादीका बीचमा एउटै गठबन्धनमा रहँदा कांग्रेसलाई राष्ट्रपति, प्रधानमन्त्री आलोपालो गर्ने विषयमा छलफल भएको थियो । तर, पहिलो चरणको प्रधानमन्त्री कांग्रेसले लिने या माओवादीले भन्ने विवाद मिल्न नसक्दा माओवादी कांग्रेससँगको सहकार्य तोडेर एमालेलगायतका अन्य दलहरुसँग मिल्न पुग्यो । एमालेको सहयोगमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने ।

अब विगतकै छलफलका आधारमा प्रधानमन्त्री पाइसकेको माओवादीलाई एमालेसँगको गठबन्धनबाट फर्काउन नसक्ने बुझाइमा कांग्रेस छ । त्यसो हुँदा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री चलाउन दिने र त्यसको साटो कांग्रेसले राष्ट्रपति लिने विकल्पको प्रस्ताव कांग्रेसका नेताहरुले माओवादी नेताहरूसँग राखिरहेका छन् ।

माओवादी त्यसमा मानेमा कांग्रेसका अहिलेका सभापति शेरबहादुर देउवालाई नै कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने गरी अगाडि जाने विकल्पमा कांग्रेसभित्र छलफल छ । तर, त्यसका लागि पहिले प्रचण्ड सहमत हुनु पर्ने हुन्छ । एमाले र माओवादीका बीचमा सुरुको अढाई वर्ष प्रचण्ड प्रधानमन्त्री र त्यसपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने समझदारी छ ।

सभामुख पनि आलोपालो गर्ने र सुरुमा एमाले त्यसपछि माओवादीले सभामुख लिने समझदारी छ । राष्ट्रपति भने एमालेले लिने समझदारी सरकार गठन गर्दा प्रचण्ड र ओलीका बीचमा भएको छ । त्यही समझदारीका आधारमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।

प्रचण्डलाई पाँच वर्ष सरकार चलाउन दिने गरी कांग्रेसले एमालेसँगको सहकार्य तोड्न चाहेको छ । त्यसका लागि पाँच वर्ष प्रचण्ड प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसको भन्ने पहिलो प्रस्ताव माओवादीका नेतासमक्ष कांग्रेसका नेताहरूले लगिरहेका छन् ।

२) माओवादीका कुनै नेतालाई राष्ट्रपतिमा समर्थन दिने, अढाई वर्षपछि कांग्रेसलाई प्रधानमन्त्री

कांग्रेसले पहिलो प्रस्तावमा सहमति नभए माओवादीलाई राष्ट्रपति दिने गरी नयाँ प्रस्तावमा पनि अन्तरकुन्तरमा छलफल चलाएको छ । पाँच वर्ष अहिलेको सत्ता गठबन्धनलाई टिक्न दिँदा आगामी चुनावमा एमाले माओवादी सके पार्टी एकता नभए पनि चुनावी गठबन्धन बनाउने गरी जान सक्ने भय कांग्रेसमा छ ।

त्यसमाथि पाँच वर्ष केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा बस्नु पर्दा कांग्रेसलाई सकस पर्ने देखिएको छ । जसका कारण एमालेका कुनै नेता (जो एमाले अध्यक्ष केपी ओलीबाट नियन्त्रित हुन सक्छन् भन्ने बुझाई कांग्रेसमा छ) भन्दा माओवादीकै कुनै नेतालाई राष्ट्रपतिमा समर्थन गर्ने र आफूहरू पनि सरकारमा जाने, त्यसो गर्दा एमाले सरकारबाट बाहिरिनु पर्ने अवस्था आउने र अढाई वर्षपछि अहिले एमाले माओवादीबीचमा भएको समझदारी जस्तो आफू प्रधानमन्त्री लिने गरी पनि दोस्रो विकल्पमा कांग्रेस जान तयार देखिएको छ ।

राष्ट्रपति नै माओवादी नेतालाई प्रस्ताव गर्दा माओवादीले एमालेसँगको गठबन्धन तोडेर आउने बुझाईमा कांग्रेस छ । ‘नहुनु मामा भन्दा …मामा नै जाति’ भन्ने उखान झै कतै केही नपाएर बस्नुभन्दा माओवादीलाई अहिले राष्ट्रपति दिएर आफूहरू पनि सरकारमा जाने, प्रदेशका कम्तीमा ४ वटा सरकारको नेतृत्व आफूले लिने र अढाई वर्षपछि प्रधानमन्त्री आफ्नो नेतृत्वमा लिने विकल्पमा कांग्रेसले माओवादीका नेताहरूसँग अनौपचारिक छलफल थालेका छन् । माओवादीलाई नै राष्ट्रपति दिँदा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि पूर्व सभामुख ओनसरी घर्ती मगरसम्मको नाम चर्चामा छ ।

३) सबैलाई मान्य हुने गरी स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउने

कांग्रेसलाई एमालेले राष्ट्रपतिको रुपमा अगाडि सार्ने व्यक्ति स्वतन्त्र रुपले सम्वैधानिक सीमाभित्र रहेर बस्छन भन्ने अहिले विश्वास लागेको देखिदैन । राष्ट्रपति रामवरण यादवदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले राष्ट्रपतिको रुपमा निर्वाह गरेको भूमिकाका आधारमा नेपालको राष्ट्रपति सेरोमोनियल भन्दा पनि सम्वैधानिक रहेको र आवश्यक पर्दा जनु कुनै निर्णयमा निर्णायक बन्न सक्ने र कार्यकारी जस्तो नै हुने बुझाई कांग्रेसका नेताहरूको छ । यो बुझाईमा बाह्य शक्ति केन्द्रहरु पनि छन् ।

राष्ट्रपति विद्यादेवीले विगतमा केपी ओलीले गरेको संसद विघटनदेखि संसदले दुई दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयकसम्ममा राष्ट्रपतिले रोकेको घटनाले राष्ट्रपति सेरोमोनियल पदका रुपमा मात्र बुझ्ने पक्षमा कांग्रेस देखिदैन । त्यसमाथि एमालेका अध्यक्ष केपी ओलीले छनौट गरेर राष्ट्रपतिका रुपमा पठाउने उम्मेदवार ओलीबाटै नियन्त्रित भई चल्ने कांग्रेसको भित्री ठहर छ ।

त्यस्तो अवस्था आउन नदिन कांग्रेसले बरु देशभित्रका मुख्य तीन शक्ति कांग्रेस, एमाले र माओवादीसम्मलाई मान्य हुने र बाह्य शक्ति राष्ट्रलाई पनि स्वीकार्य हुन सक्ने पात्रको खोजी कांग्रेसको तेस्रो विकल्प छ । त्यसका लागि उसले माओवादी अध्यक्ष तथा प्रधानमन्त्रीदेखि बाह्य शक्ति केन्द्रहरूका खास-खास चासोवालाहरूसँग पनि दृश्य अदृश्य रुपमा यो विकल्पमा छलफल थालेको छ । त्यही क्रममा पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठ, पूर्व प्रधानसेनापति छत्रमान गुरुङदेखि राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसम्मको नाम चर्चामा छ ।

यी तीन विकल्पमध्ये जुनकुनै विकल्पमा गएर भए पनि एमाले र माओवादीको गठबन्धन तोड्ने र एमालेका अध्यक्ष केपी ओलीले प्रस्ताव गर्ने राष्ट्रपतिका उम्मेदवारलाई रोक्ने रणनीतिमा कांग्रेस रहेको देखिन्छ । तर, कांग्रेस यो रणनीतिमा कति सफल हुन्छ ? त्यसका लागि भने बढीमा एक महिनामा नतिजा देखा पर्ने छ ।

प्रतिक्रिया