शनिबार, जेठ ५, २०८१

नर्स बन्न चाहने इन्दिराको उपसभामुखसम्म यात्रा

नरेन्द्र रौले २०७९ माघ ७ गते १७:२२

‘तपाई मगरको छोरी, राम्रो बोल्न सक्ने महिला हुनुहुन्छ । पार्टीमा आउनुहोस् ।’ संघीय चुनाव आउनु अगाडी राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानामगरलाई प्रस्ताव आयो ।

Advertisement

झापामा जन्मिएकी, काठमाडौँलाई कर्मथलो बनाएकी इन्दिराले फिल्डमा ३३ वर्ष अनवरत सामाजिक सेवामा सक्रिय थिइन् । अब संसदमा पुगेर अझ बृहत रुपमा काम गर्नुपर्छ भन्ने उनलाई महशुष भइईरहेको थियो । उनले पार्टीको त्यो प्रस्ताव सहजै स्वीकारिन् ।

इन्दिराले भित्रभित्रै संघीय चुनावअघि विभिन्न जिल्ला, गाउँ–गाउँ पुगेर भोट मागिन् । उदयपुर, सप्तरी, सुनसरी, मोरङ, इलाम, झापा, रुपन्देही, स्याङ्जा, कास्की, पाल्पा, चितवन, काठमाडौँ लगायतका जिल्लाहरु पुगेर राजनीतिक सचेतना फैलाईन् । पुग्न नसकेका स्थान र जिल्लाका बासिन्दाहरुलाई फोन र एसएमएस गरिन् ।

तर, सामाजिक सञ्जाल र मिडियामा त्यतिसारो हल्ला गरिनन् । छायामै परेर काम गर्न रुचाउने इन्दिरालाई मिडियाले त्यो बेलासम्म खोजेनन् ।

जब एकै पटक राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधिसभाको समानुपातिक सूचीमा परिन्, तब मात्र आम मानिसले थाहा पाए । मिडियाले उनका बारेमा चासो दिन थाले ।

माघ ७ मा संघीय संसदमा सत्तारुढ दलबाट ५२ वर्षीया इन्दिरा उप–सभामुखमा निर्वाचित भइन् । यो पदमा पुग्ने उनले जीवनमा कल्पना पनि गरेकी थिइनन् । उनी त जेल परेका अभिभावकहरूका सन्तालाई शिक्षा दिने कर्ममा अहोरात्र खटिरहेकी थिइन् ।

बन्दी सहायता नेपाल (पिए नेपाल)लाई नेतृत्व गर्दै कैयौं अभिभावकविहिन सन्तानहरूलाई समेत उनले लालनपालन र शिक्षा दिक्षा दिइन् । हाल बन्दि सहायता नेपालले काठमाडौँको साँखु र झापामा आफ्नै स्कुल सञ्चालन गरिरहेको छ । जहाँ गरिब तथा बन्दी जीवन बिताइरहेका अभिभावकहरुका सन्तानहरुलाई पढाइन्छ । पाल्पा, झापा र काठमाडौँमा बालगृह सञ्चालनमा छन् ।

लामो राजनीतिक जीवन नभए पनि सामाजिक सेवामा इन्दिरा रानामगरले सिंगो जीवन खर्चिएकी छिन् । बालबालिकाहरु शिक्षाबाट बञ्चित भएको, पोषणयुक्त खाने कुरा नपाएको कुरामा उनी सधैंँ चिन्तित देखिन्थिन् । सडक, सिंचाई, शिक्षा लगायतका आधारभुत कुरामा जनताहरुको पहुँच नपुगेकोमा बरोबर उनी दुःखी हुन्थिन् ।

सांसदका रुपमा सपथ लिनुअघि नै संसदमा बुलन्द आवाज उठाउने प्रण गरेकी थिइन् । ‘पार्टीलाई घर सम्झेर काम गर्छु । १० वर्षभन्दा बढी राजनीति गर्दिन ।’ सपथ खानुअगाडि नै उनले मेरो न्युजसँग भनेकी थिइन्, ‘आवाजविहीनहरुको आवाज बुलन्द रुपमा संसदमा उठाउन म आवश्यकताले आएको हो ।’

को हुन् इन्दिरा ?

२०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ मा उनको जन्म भएको हो । प्रतापसिंह मगरकी छोरी सानैदेखि जुझारु, संघर्षशिल थिइन् । आफ्नो त्यही हक्की स्वभाव उनले जीवनभर कायम राखिन् ।

इन्दिराले बिगतमा नेतृत्व गरेको बन्दी सहायता नेपाल (पिए नेपाल)ले हाल १५ वटा सेल्टर सञ्चालन गरिरहेको छ । अहिलेसम्म उनले २ हजारभन्दा बढी बालबालिकालाई शिक्षादीक्षा, पालनपोषण गरेकी छिन् । तर, आफ्नै कोखबाट जन्मिएकी एक छोरी सुभानी छिन् । सबैले उनलाई मायाले ‘आमा’ भनेर बोलाउँछन् ।

हालसम्म इन्दिरा अशोका फेलो, एसिया अवार्ड, वल्र्डस् चिल्ड्रेन प्राइज, एसियन २१ योङ लिडर जस्ता अन्तर्राष्ट्रिय पुरस्कार तथा अवार्डबाट सम्मानित भइसकेकी छिन् । फिलिपे नामक ब्राजिलका लेखकले उनका बारेमा पुस्तक लेखेका छन् । विभिन्न देशहरुमा उनका बारेमा कोर्षमा पढाई भईरहेको छ ।

सरल र सादगी इन्दिराको जीवन

इन्दिराको जीवन निकै सरल र सादगीपूर्ण छ । उनको बेग्लै सुत्ने कोठा छैन । आफ्नो संरक्षणमा रहेका ७ जना सन्तानहरुसँगै सुत्छिन् । भाडाको घरमा वालवालिकाहरु संरक्षण गरिरहेकी छिन् । २०४७ सालमा काठमाडौँ प्रवेश गरेकी उनले कुनै बेला शिक्षिका बनिन् । कुनै बेला टाँक बनाउने ठाउमा पनि काम गरेर कठिन दिनहरु गुजारिन् ।

साहित्यकार पारिजातसँगको भेटपछि इन्दिराको जीवनले नयाँ मोड लियो । पारिजातले जेलमा परेका व्यक्तिहरुलाई ‘पाम’ संस्थामार्फत मानव अधिकार, बन्दीहरुको हक, अधिकारका लागि पैरवी गर्थिन् ।

पारिजातसँगको निरन्तर उठबसले इन्दिरा पनि त्यही संस्थासँग जोडिन पुगिन् । बन्दीहरुकै सन्तानलाई शिक्षादीक्षा दिन थालिन् । त्यसपछिका दिनमा इन्दिरा निरन्तर बन्दि र तिनका सन्तानहरुको शिक्षादीक्षा र लालनपालनकै लागि समर्पित भइन् ।

कोरोना महामारीमा इन्दिराको सेवा

कोरोना महामारी सुरु भएपछि श्रमिक, कामदार र अभावमा रहेकालाई इन्दिराले घरमै खानेकुरा पकाएर बाँडिन् । हरेक दिन खाना बनाएर ट्याक्सीमा खाना बोकेर खुलामञ्च, ठमेल, शोभाभगवति, सात घुम्ती,जेपी रोड, कमलादी, बालाजु पुल, सोर्‍हखुट्टे लगायतका क्षेत्रमा उनले खाना बाँडिन् ।

मजदुर, बेरोजगार र विपन्न नागरिकहरु भोको पेट भर्न उनलाई कुरेर बसिरहेका हुन्थे । भरियाहरु, रेस्टुराँमा काम गर्ने, डेरामा बस्नेहरु, हिमाल आरोहण गर्ने, ट्रेकिङ गाइडसमेत यो लाइनमा भेटिन्थे ।

दैनिक तीन सय नागरिकहरुलाई खाना बाँड्दा दैनिक उनको २३ हजार एक सय रुपैयाँ खर्च हुन्थ्यो । सुत्केरी र बच्चाहरुलाई घरमै खाना पुर्‍याइदिन्थिन् । उनले कुनै पुरस्कार र सम्मानका लागि सेवाको त्यो काम गरेकी थिइनन् । जनता साँच्चै समस्यामा परेका बेला, भोको पेट बसेर कठिनाइ भोगिरहेका बेला मनैदेखि सेवा गरेकी थिइन् ।

खुलामञ्चमा खाना बाँड्ने क्रममा एक दिन एउटा समुहले इन्दिरासँग झगडा गर्‍यो । त्यो समुहले उनलाई पटक–पटक घेर्‍यो । अरुले इन्दिराको संस्थालाई प्रदान गर्न खोजेको चामलको भाग उनीहरुले खोसिदिए । कतिपय स्थानीयहरुले खाने खानेले फोहोर गरेको आरोप लगाए । गुण्डाहरुले दिनसम्म दुःख दिए ।

दाताहरुले सबै पक्षलाई खाद्यान्न बाँड्छु भनेका थिए । तर, उनको आरिस गर्नेहरुले आफ्नो भाग खोसेको आरोप लगाउँदै प्रहरीसामु गुनासो गरेर उल्टै हटाउन लगाए । हामीसँग ४० जनाको ग्रुप छ भनेर त्यो बेला इन्दिरालाई धम्की दिए ।

समाजसेवामा कतिले राजनीति, कतिले ब्यापार गरिरहेका छन् । त्यो बेला एसपी किरण बज्राचार्य, डिएसपी श्याम चौधरी, विभिन्न प्रहरी चौकी, जनसेवामा कार्यरत प्रहरी, ट्राफिक प्रहरीले भने इन्दिरा खाना बाँड्ने काममा सहयोग पुर्‍याए । सुरुमा इन्दिरा र उनकी ठूलो छोरीले फिल्डमा खटिएर काम गरिन् ।

उनको कार्यालयका स्टाफहरुले खाना बनाउने, प्याक गर्ने काममा सघाए । सडकमा सेवाको काममा अहोरात्र खटिदा उपसभामुखको पदीय हैसियतमा पुगौँला भन्ने उनले सोचेकी थिईनन् । उनी त राजनीतिक दलभन्दा पर रहेर काम गरिरहेकी थिइन् ।

निरन्तर अथक रुपमा कर्म गरिरहे नसोचेकै ठाउँमा पुगिने रहेछ । निःस्वार्थ अरुकै सेवामा समर्पित हुँदा जित र खुसीको दिन आउने रहेछ । कैयौंपटक हारेर पनि इन्दिराले आज जितेकी छिन् । तर, उनको जीवनकै अन्तिम शिखर आरोहण होइन यो । चढ्न बाँकी थुप्रै शिखर छन् ।

प्रतिक्रिया