शनिबार, जेठ ५, २०८१

उपसभामुखमा यसरी पाखा लागिन् सोविता

संसदीय समितिको सभापति या दलको पदीय जिम्मेवारी रोजेर पाउने शर्तमा सोविताले छाडिन् उपसभामुखको दाबी

शितल शर्मा २०७९ माघ ६ गते १५:११

काठमाडौं । सत्ता गठबन्धन दलमा शक्ति बाँडफाँड गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले उपराष्ट्रपतिमा चासो देखाएन् । उसले सुरुदेखि नै उपसभामुख आफ्नो पार्टीले पाउनु पर्ने लविङ गठबन्धन दलमा गरिरह्यो ।

Advertisement

माओवादीले प्रधानमन्त्री, एमालेले राष्ट्रपति-सभामुख दाबी गर्दा यी दुई दलपछिको गठबन्धनको तेस्रो शक्ति रास्वपाले उपराष्ट्रपतिमा दाबी गर्न सक्ने आंकलन गठबन्धन दलका एमाले र माओवादीका शीर्ष नेताहरूले गरेका थिए । रास्वपाले सकभर उपराष्ट्रपतिमा दाबी नगरोस् भन्ने एमाले र माओवादी नेताहरूका भित्री मनमा घर गरेको थियो । उसले दाबी गरेमा सरकार निर्माणका लागि अन्तिममा दिने मुडमा ओली र प्रचण्ड दुवै थिए ।

तर, रास्वपाले सुरुदेखि उपराष्ट्रपतिमा रुची देखाएन । जसका कारण उपराष्ट्रपतिमा भागवण्डा लगाउँदा माओवादी या अन्य सत्ता गठबन्धनकै कुनै दललाई दिएर समझदारी निर्माण गर्न सहज हुने प्रचण्ड-ओलीले ठाने ।

रास्वपाले उपराष्ट्रपतिको भूमिकै नभएकाले सम्वैधानिक परिषद्को समेत सदस्य रहने उपसभामुखमै बरु दाबी गर्यो । उसले उपसभामुख पाउँदा सुरुदेखि पूर्व सभामुख ओनसरी घर्ती मगरलाई काठमाडौं २ बाट पराजित गरेकी पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सोविता गौतमलाई पठाउन सक्नेबारे चर्चा चलायो ।

सभापति रवि लामिछानेको ग्रीन सिंग्नलकै आधारमा सोविताले पनि उपसभामुखमा रुची लगाइन् । उनी आफैले पनि सञ्चार माध्यममा आफू कानुनको विद्यार्थी भएकाले पाए कानुनमन्त्री या उपसभामुखमध्ये एकमा जाने बताउँदै आएकी थिइन् । सत्ता गठबन्धनमा भागवण्डा लगाउँदा कानुन मन्त्री रास्वपाले पाएन । राप्रपाको भागमा पर्यो । उपसभामुख रास्वपाले नै पाउने समझदारी गठबन्धन दलको शीर्ष नेताहरूको बीचमा भयो । त्यसपछि फेरि चुलियो उपसभामुखमा सोविता गौतमको चर्चा ।

त्यहीबीच मन्त्रिपरिषद् विस्तारमा उनी अटाइनन् । बरु रास्वपाबाट प्रत्यक्ष निर्वाचित दुई महिलामध्ये ललितपुर ३ बाट निर्वाचित डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनिन् । कार्की राज्यमन्त्री बनेपछि उपसभामुखमा सोविता गौतम हुने करिब निश्चित जस्तै थियो ।

रास्वपाका नेताहरूले गौतमलाई उपसभामुखका लागि शुभकामना समेत दिन थालिसकेका थिए । बिहीबार सभामुख चयन गर्ने क्रममै संसद भवनमा रास्वपका अध्यक्ष रवि लामिछानेले उपसभामुखका विषयमा करिब-करिब सोविताको नाममा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गरिसकेका थिए । तर, शुक्रबार उपसभामुखको उम्मेदवारी मनोनयन गराउनुअगाडि एकाएक रास्वपाले सोविताको नाम काटेर इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय लियो ।

यो निर्णय लिनुपहिले रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले सोवितासँग अलग्गै छलफल गरेको रास्वपका एक नेताले मेरोन्यूजलाई जानकारी दिए । ती नेताका अनुसार सभापति लामिछानेले पार्टीमा मन्त्री मण्डल विस्तार गर्दा बाहुन क्षेत्री समुदायबाट मात्र प्रतिनिधित्व गराइएको भन्दै जानजाति क्लष्टरका नेता कार्यकर्ताबाट विरोधमा आवाज उठ्न थालेको जानकारी दिए । र, नयाँ पार्टीमा सुरुमै यस्तो आवाज उठ्दा पार्टीको भविष्यमा प्रश्न चिन्ह उठ्ने भएकाले उपसभामुख जनजाति क्लष्टरबाट पठाउन सकिए राम्रो हुने बारेमा सोवितासँग कुरा गरेका थिए ।

सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा इन्दिरा रानामगरको उम्मेदवारी दर्ताको प्रस्तावक बन्दै सोविता गौतम

रास्वपामा सोविताका अतिरिक्त मन्त्री नपाएपछि डा. चन्दा कार्की, अहिले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी इन्दिरा रानामगर र सुमना श्रेष्ठ लगायतको नाम बिहीबारबाट एकाएक चर्चामा थियो । उनीहरुले कुनै न कुनै रुपमा आकांक्षा पनि पार्टीमा राखेका थिए ।

पार्टीभित्रकै जनजाति समुदायका सांसद तथा नेताहरुकमा धुव्रीकरण बढ्न सक्ने ठानेपछि सभापति लामिछानेले सोवितालाई संसदीय दलको प्रमुख सचेतक या कुनै समितिको सभापतिमा जिम्मेवारी दिने विषयमा मनाएका थिए ।

सोवितालाई दलको पदीय जिम्मेवारी या भागवण्डामा आफ्नो पार्टीको भागमा पर्ने संसदीय समितिको सभापतिमध्ये रोजी दिने शर्तमा लामिछानेले सोवितालाई मनाएका थिए । त्यसपछि मात्रै रास्वपाले उपसभामुखमा इन्दिरा राना मगरको नाम पार्टी बैठकमा प्रस्तावको रुपमा ल्याएर निर्णय लिएको हो । बैठकमा सोविताको नाम पनि केही सांसदले उठाएका थिए । तर, लामिछानेले हस्तक्षेप गर्दै यसपटकलाई इन्दिरा राना मगरलाई लैजाऊ भन्ने प्रस्ताव गरेका थिए ।

लामिछानेसँगको सल्लाहका आधारमा सोविताले बैठकको सुरुमै इन्दिराको नाम मन अमिलो बनाउँदै प्रस्ताव गरेकी थिइन् । इन्दिराको उम्मेदवारी मनोयनपछि सोविताले सञ्चारकर्मीसँग सिंहदरबारमा रानाको नाममा सर्वसम्मत निर्णय भएको बताइन् ।

‘पार्टीमा हामीले लामो छलफल गरेर यो निर्णय सर्वसम्मत रुपमा लिएका हौं, सुरुमा म आफैले पनि दाबी गरेको थिएँ । मेरो नाम पनि आएको थियो,’ सोविताले भनिन्, ‘पार्टीमा घनीभूत छलफल गर्दा फाइदा बेफाइदा के हुनसक्छ ? पार्टीले कसलाई उम्मेदवार बनाउँद र कुन निर्णय लिँदा त्यसले कहाँ पुर्याउन सक्छ ? भनेर गहिरो छलफल गरेर यो निर्णय लिइएको हो ।’

उनले जातियताको विषय पार्टीमा उठेपछि यस्तो निर्णयमा पुग्न बाध्य भएको बारेमा केही नखुलाए पनि अर्का सांसद समुना श्रेष्ठले सामाजिक सञ्जालमा आफू उपसभामुखको दावेदार नरहेको बताउँदै शुक्रबार बिहानै लेखेको स्टाटसमा भने त्यसको संकेत देखिन्थ्यो ।

‘रास्वापामा उपसभामुखमा दाबी गर्नेमा मेरो नाम आएकोमा ध्यानाकर्षण भएको छ, उपसभामुखमा मेरो कुनै पनि किसिमको दाबी छैन,’ सुमनाले जनजाति क्लष्टर मिलाउनु पर्ने दबाब पार्टीमा रहेकोतर्फ संकेत गर्दै लेखेकी थिइन्, ‘पार्टीले क्लस्टर मिलाउनु पर्ने भएर जनजाति महिलाकै आवश्यकता भएमा पनि मेरो दाबी रहने छैन ।’

सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्तापछि सिंहदरवारमा इन्दिरा रानामगर

रास्वपाबाट उपप्रधान तथा गृहमन्त्रीमा लामछिाने, श्रम तथा रोजगार मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्की नियुक्त भएका थिए । यी सबै बाहुन क्षेत्री अनुहारका हुन् ।

त्यसमाथि लामिछाने र अर्याल स्वार्थ बाझिने मन्त्रालयमा गएको भन्दै सञ्चारमाध्यममा आलोचना बढेको छ । एकातिर सुरुमै आफ्ना सभापतिसमेत रहेका लामिछाने र पार्टीले बनाएका मन्त्रीका विषयमा सञ्चार माध्यममा प्रश्न उठ्ने र अर्काेतिर जनजातिहरूलाई कुनै अवसर नदिई बाहुन क्षेत्री क्लष्टरबाट मात्र सहभागिता हुने अवस्था जन्मिदा त्यसको सीधा असर पार्टी निर्माणमा लाग्ने र पुरानै पार्टीभन्दा भिन्न पहिचान स्थापित गराउन नसक्ने चुनौती देखेपछि रास्वपाले सोविताको नाम अन्तिम समयमा उपसभामुखमा काट्ने निर्णय लिएको थियो ।

प्रदेशमा रास्वपको कुनै प्रतिनिधित्व छैन । जसका कारण पनि उपसभामुखमा जनजातिलाई समेट्नै पर्ने दबाब बढेपछि अन्तिम समयमा सोविताको नाम काटिएको हो । मुखैमा आइसकेको उपसभामुख पद क्लष्टर मिलाउने दबाबमा पार्टी नेताहरू परेपछि भित्र मन अमिलो बनाएरै बाहिर हासेरै सोविताले स्वीकारेकी छन् ।

रास्वपाभित्र सबैकी आमा (अनाथालयका बालबालिकाको आश्रयका लागि उनीहरूको आमा बनेर काम गरेकीले राना मगरलाई रास्वपाका सांसदहरु प्राय: आमा नामले सम्बोधन गर्छन्) बनेकी इन्दिरालाई अन्ततः उनै सोविताले उम्मेदवारको प्रस्तावक बनेर पद छोडिदिएकी छन् ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया