शुक्रबार, वैशाख १४, २०८१

आफन्तको शव पहिचान गर्न भारतका चार जना नेपाल प्रस्थान

मेरोन्यूज २०७९ माघ ३ गते १५:४६

नेपालमा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका उत्तर प्रदेश (युपी) राज्यको गाजीपुरका यात्रीको शव पहिचान गर्न मृतकका आफन्त छिमेकी देशतर्फ प्रस्थान गरेका छन् ।

नेपालमा विमान दुर्घटनामा मृत्यु भएका उत्तर प्रदेशको गाजीपुरका चार जना पुरुष आफन्तीको शव पहिचान गर्न सोमबार नेपालतर्फ प्रस्थान गरेका जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए ।

“म अनिल राजभरको बुबा हुँ, जिल्ला प्रशासनले हामीलाई नेपाल लैजाँदैछ, शव पहिचान गर्न डिएनए परीक्षण गरिने छ,” रामदर्शन राजभरले भने । मध्य नेपालको पर्यटकीय शहर पोखरामा पाँच जना भारतीयसहित ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रुवाहक विमान खोलामा खस्दा कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।

दुर्घटनाग्रस्त विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स नेपाली सेनाले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरिसकेको छ । दुर्घटनास्थलबाट हालसम्म ६९ जनाको शव निकालिएको छ । दुई इन्जिन भएको एटीआर ७२ विमान हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु केही मिनेटअघि दुर्घटना भएको थियो ।

पहिचान भएका शवको शल्यपरीक्षण गरिएको छ भने विदेशी र पहिचान हुन नसकेकालाई काठमाडौँ पठाइएको छ । यति एयरलाइन्सले दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक व्यक्त गर्दै सोमबारको नियमित उडान रद्द गरेको थियो भने नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको थियो ।

प्रतिक्रिया