शुक्रबार, जेठ ४, २०८१

गीता लिएर अमेरिकाको संसदमा भण्डारीले लिए शपथ

मेरोन्यूज २०७९ पुष २८ गते १४:५०

काठमाडौँ । अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रोपटक विजयी भएका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा. ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् ।

Advertisement

नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो व्यक्ति हुन् । मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारी हिन्दुहरूको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ लिएका छन् ।

शपथ ग्रहणपछि कुराकानीमा भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताका कारण एक आप्रवासीको रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे ।

‘म मेरो जिम्मेवारी वहन गर्दै गर्दा अमेरिकामा रहनु भएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु, भण्डारीले आफ्नो कार्यकालय रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राख्नु भएको छ,’ भण्डारीले भने, ‘सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्ने बताउनु भएको छ ।’

मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर महिनाको ८ तारिखमा भएको निर्वाचनमा विजयी भएका थिए । उनी उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् ।

भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधयेक संसदबाट पारित गराउन सफल भएका थिए । स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेका भण्डारीले महामारीको बेलामा कसरी जुँध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताए ।

अमेरिकामा एक आप्रवासीको रुपमा नेपालबाट सन् २००५ मा अमेरिका पुगेका भण्डारीले डेढ दशकभन्दा बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराएको अनुभव छ ।

प्रतिक्रिया