शनिबार, जेठ ५, २०८१

प्रधानमन्त्री प्रचण्डलाई संसदमा ‘प्रचण्ड’ विश्वास

९९.२५ प्रतिशत मतसहित प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाएका छन्

मेरोन्यूज २०७९ पुष २६ गते १७:२०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा ‘प्रचण्ड’ बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसहित स्वतन्त्र थप केही सांसदसमेतको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

Advertisement

संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले धारा ७६ (४) अनुसार मंगलबार विश्वासको मत लिन संसदमा पुगेका थिए । संसदमा प्रधानमन्त्रीले मंगलबार मत पाएर ‘प्रचण्ड’ विश्वास पाएका छन् ।

कूल २७५ सांसदमध्ये विश्वासको मत लिँदा २७० सांसद उपस्थित थिए । जसमध्ये प्रधानमन्त्री प्रचण्डले २६८ मत पाए ।
उनीमाथि विश्वास नभएको भन्दै विश्वासको मत नदिनेमा जम्मा २ सांसद मात्र देखिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका संसदमा रहेका क्रमशः प्रेम सुवाल र चित्रबहादुर केसीले मात्र संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा पाएको यो मत संसदको कूल ९९.२५ प्रतिशत मत हो । प्रधानमन्त्रीले विश्वासको मत लिने बेला कांग्रेसका मनोरमा शेरचन, किशोरसिंह राठौर, अम्बिका बस्नेत संसदमा उपस्थित भएनन । सभामुखको समेत जिम्मेवारी निर्वाह गरिरहेका राप्रपाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले मतदानमा सहभागिता जनाएनन । कांग्रेसकै एक सांसद टेक बहादुर गुरुङ निलम्बनमा परेकाले मतदानमा भाग लिन पाएनन । यस अर्थमा प्रधानमन्त्री प्रचण्डले २७० सांसद उपस्थित भएर मतदानमा सहभागी हुँदा कुल ९९.२५ प्रतिशत अर्थात २६८ सांसदहरुको असाधारण र अभूतपूर्व विश्वास प्रँप्त गरेका थिए ।

प्रचण्डले मंगलबार संसदमा पाएको मत २८ वर्षपछिको सबैभन्दा बढी सांसदहरूको विश्वासको मत हो । २८ वर्षअगाडि २०५१ सालको नजीरलाई हेर्ने हो भने तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत लिने क्रममा एकपटक यसै गरी संसदमा असाधारण विश्वास पाएका थिए । त्यसबेला प्रतिपक्षमा रहेको कांग्रेसले अहिले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको जस्तै विश्वासको मत दिएको थियो ।

२०५१ सालमा एमालेका अधिकारीले प्रतिनिधिसभामा उपस्थित सबै सांसदहरूबाट विश्वासको मत पाएका थिए । त्यसबेला प्रतिनिधिसभाका २०२ जना सांसदहरूमध्ये १९८ जना संसद बैठकमा उपस्थित थिए । तीमध्ये कांग्रेसका रामचन्द्र पौडेल सभामुख भएकाले मतदान गरेनन् भने तत्कालिन अवस्थामा कांग्रेसमा रहेका महन्थ ठाकुर, बलबहादुर केसी र बज्रकिशोर सिंह अनुपस्थित थिए । अरु सबैले मनमोहन अधिकारीलाई विश्वासको मत दिएका थिए ।

ठिक त्यसै गरी २८ वर्षपछि प्रधानमन्त्री प्रचण्डले त्यसै गरी नेमकिपा र जनमोर्चाका एक-एक सांसद अपवादमा छाडेर संसदमा उपस्थित सबै सांसदहरूले असाधारण विश्वासको मत पाएका छन् ।

संसदमा प्रचण्डको पक्षमा नेपाली कांग्रेसको ८५, नेकपा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १३, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसद उभिएका छन् ।

यसमध्ये कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय लिएका छन् ।

प्रतिक्रिया