शनिबार, वैशाख ८, २०८१

को हुन् नवनियुक्त मुख्यमन्त्री खगराज !

मेरोन्यूज २०७९ पुष २५ गते १८:४२

काठमाडौँ । गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका अधिकारीलाई संविधानको धारा, १६८ (२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बुबा शेषरमण उपाध्याय र आमा लीलादेवीका सन्तानका रुपमा कास्कीको बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका अधिकारी बाल्यावस्थादेखि नै राजनीतिक संस्कारयुक्त परिवेशमा हुर्किएका थिए ।

स्कुले जीवनदेखि नै राजनीतिक चेतना बढाएका उनले ११ वर्षकै उमेरमा आनन्दज्योति माविमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिको जिम्मेवारी पाएका थिए । उनी ०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्यका रुपमा अघि बढे ।

०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कास्की जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका अधिकारी उच्च शिक्षा अध्ययनका लागि सुरुमा काठमाडौँ पुगे । पछि उनी पुनः कास्कीमा फर्किएर पोखराको पृथ्वी नारायण क्याम्पस (पिएन क्याम्पस)मा विज्ञान अध्ययनका लागि भर्ना भए ।

०३७ सालमा पिएन क्याम्पसमा स्ववियु सदस्य भएका अधिकारी ०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य रहे । त्यसको दुई वर्षपछि अनेरास्ववियुको उपाध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका उनी ०४० सालमा पहिलो पटक पिएन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए ।

उनी दोस्रो पटक ०४१ सालमा फेरि क्याम्पसको स्ववियु सभापति बनेका थिए । तत्कालीन समयमा खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बनेका उनी ०३६ सालदेखि नै अर्धभूमिगत रही पार्टी र संगठनका काममा क्रियाशील बने ।

०४२ सालमा स्ववियु सभापति हुँदाहुँदै प्रशासनबाट पक्राउ परेका अधिकारीले ०४६ सालसम्म देशका विभिन्न स्थानमा जेलजीवन बिताएका थिए । कास्की, रौतहट, दमौलीलगायत जिल्लाका जेलमा पठाइएका उनलाई ०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य बने ।

०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका उनी ०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ०५४ मा उनले दलको सचेतकको जिम्मेवारी पाए ।

२०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी गणतन्त्र स्थापनापश्चात् सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सम्हाल्न पुगे ।

उनले ०७० साल चैत १३ देखि ०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी लिए । ०६५ सालमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनलाई पार्टीले गण्डकी इन्चार्ज, संगठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो ।

०७३ सालमा एमालेको केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी पाएका उनी ०७४ सालको आमनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट विजयी बन्दै ०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भए ।

०७८ मंसिरमा चितवनमा सम्पन्न पार्टीको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बन्दै उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न पुगेका हुन् ।

प्रतिक्रिया