मंगलबार, जेठ ८, २०८१

चिनी उद्योगको धुलोले स्थानीयवासी समस्यामा

मेरोन्यूज २०७९ पुष १९ गते २१:४७

काठमाडौँ । नवलपरासी (पश्चिम)को सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग नगर्दा स्थानीयवासीलाई समस्या भएको छ ।

Advertisement

मुख्य बजार क्षेत्रमा रहेको उक्त उद्योगले उखु क्रसिङ सुरु गरेपछि उडेको खरानीसहितको धुलोका कारण सुनवल बजार क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् ।

खेतबारीमा रोपेको बालीनालीमा पनि धुलोले असर गरेको छ । खरानीसहितको धुलोका कारण स्वास्थ्यमा पनि असर गर्न थालेको र वातावरणमा नकारात्मक प्रभाव परेकाले उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यान आकर्षण गराइएको सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले बताए ।

“उद्योगको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएकाले यस विषयमा उद्योग व्यवस्थापन पक्षसँग छलफल गर्ने तयारी गरेका छौँ”, उनले भने, “सुनवलवासीलाई उद्योगले समस्यामा पारेकाले प्रदूषण नहुने गरी सञ्चालन गर्नुपर्ने हाम्रो माग छ ।”

उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले धुलो नियन्त्रणका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अगाडि बढेको बताए । “केही दिनमै समस्या समाधान हुन्छ”, उनले भने ।

उद्योगले केही दिन अगाडिदेखि उखु पेल्न सुरु गरेको छ । नवलपरासी (पश्चिम)मा रहेका तीन ठूला चिनी उद्योगमध्ये बाँकी दुईले भने धुलो नियन्त्रणका लागि उपकरण जडान गरेका छन् ।

प्रतिक्रिया