बुधबार, वैशाख १२, २०८१

वामपन्थीहरुबीच कार्यगत एकताको प्रश्न

झलनाथ खनाल २०७९ पुष १७ गते १०:०८
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटि बैठक

१) ०७९ संघ र प्रदेशको निर्वाचन र त्यसको परिणाम-

   – त्रिशंकू संसद्को स्थापना भएको छ, संघ र प्रदेश सबै ठाउँमा त्यस्तै छ।
   – कुनै पनि पार्टीलाई बहुमत छैन।
    -देश कुनैपनि दिशामा जान सक्छ ,अनिश्चितताको अवस्था छ।
   – यसले  Horse trading   को खतरालाई बढाएको छ। 
    -एकपछि अर्को नाटकीय परिवर्तनलाई ढोका खोलिदिएको छ।
    -यसले अस्थिरतालाई बढावा दिन्छ, विदेशी शक्तिहरूलाई खेल्ने ठाउँ दिन्छ र मुलुकलाई कमजोर बनाउन सक्छ।
    -आउने ५ वर्षमा कतिवटा सरकार बन्लान् अहिले नै भन्न सकिने स्थिति छैन। 

२) त्रिशंकू संसद्मा आएका शक्तिहरू-

१२ वटा राजनीतिक पार्टीहरू संसदमा आएका छन।
 १. पुनरुत्थानवादी शक्ति 
    त्यसमध्ये पुनरुत्थानवादी शक्तिहरू पुनर्जीवित भएर आएका छन र उनीहरूले शक्ति विस्तार गरेका छन।

२. बुर्जुवा उदारवादी शक्तिहरु-

१) २०७४ मा २३ सिट जितेकाले अहिले ५७ सीट जिते र समानुपातिक समेत गर्दा पहिले ६२ सीट हुनेले अहिले ८९ सीट बनाएर देशको पहिलो पार्टी बन्न पुगे।
२) रहस्यमय शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसले गृह मन्त्रालय खान थालिसकेको छ। त्यो पनि आम रुपमा बुर्जुवा उदारवाद कै पक्षमा देखिन्छ। 
३) तराईमा जनमत पार्टी उदाएको छ। त्यो पनि आम रुपमा त्यसै वर्गीकरणमै देखिन्छ।

वामपन्थी शक्तिहरू –

१) नेकपा एमाले हिजोको दुईतिहाइबाट तल झर्‍यो। दुईतिहाइबाट सामान्य बहुमतमा पनि आउन सकेन त्यतिमात्र होइन त्यो  सब भल्दा ठूलो पार्टी पनि बन्न सकेन। ४४+३४ = ७८

२) माओवादी पार्टी पनि पहिलेको भन्दा कमजोर भयो। त्यसले लोकप्रियता र सीट दुवै कुरा गुमायो। १८ं+१४=३२ सीट

३) हाम्रो पार्टी नेकपा ( एकीकृत समाजवादी ) पार्टी अहिले राष्ट्रिय पार्टी पनि बन्न सकेन। १०ं+०=.१०

४)बामहरु सँग नै निकट भएको क.प्रभु शाहको “आम जनता पार्टी” नामक नयाँ पार्टी भर्खरै घोषणा भएको छ।  सीट = २

त्यस बाहेक केही स्वतन्त्र सांसदहरु पनि छन।

३) यस्ता शक्तिहरू बीच नयाँ सरकार बनाउने बारेमा बिभिन्न सम्भावना बीच चलखेल हुँदै आएको थियो।

 १. बाम लोकतान्त्रिक सरकारको सम्भावना –

बाम लोकतान्त्रिक सरकारको सम्भावना ठोस रुपमा थियो। तर नेपाली कांग्रेसको नेतृत्वले प्रधानमन्त्री  र राष्ट्रपति दुवै मागेर हठ देखाएकाले त्यो सम्भावना भत्कियो। प्रचुर  बहुमतको सम्भावना भएपनि त्यसले आकार लिन सकेन। 

२) बामपन्थी सरकारको सम्भावना –

कम्युनिष्टहरू बीच समझदारी गरेर सरकार बनाउने सम्भावना पनि थियो।

एमाले ,माओवादी केन्द्र ,एकिकृत  समाजवादी ,जसपा र उन्मुक्ति पार्टी

७८       ३२          १०             १२       ३      = १३५

आम जनता पार्टी २  सीट                       = जम्मा १३७

३) हाल बिकसित गठबन्धनको सरकार –

नेपाली कांग्रेसले धोखा दिएपछि माओवादी केन्द्र आक्रोशित बन्न पुग्यो र त्यो दौडेर बालकोट गयो , त्यसले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनायो। त्यसमा निम्न पार्टी सामेल हुन पुगे।

एमाले, माओवादी केन्द्र, राप्रपा ,रास्वपा,जसपा, जनमत

७८    ३२           १४    २०   १२     ६      = १६२

नागरिक उन्मुक्ति पाटी ३   = १६५          

यसरी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ।

झलनाथ खनाल

४) नयाँ सरकारको संरचना कस्तो छ ?

१) राजतन्त्रवादीहरु त्यहीँ छन , ऊनीहरू संवैधानिक राजतन्त्र र हिन्दु राज्यको माग गरिरहेका छन।
२) मधेस देश बनाउनेहरू पनि त्यही छन। 
३) संघीयता खारेज हुनुपर्छ भन्नेहरु पनि त्यही छन।
४) नेपालको नागरिकताबारे नै गम्भीर विवादमा रहेका र सर्वोच्च अदालतमा मुद्दा खेपिरहेकाहरू पनि त्यही छन।

५) हाम्रो लक्ष्य जबज हो भन्नेहरु पनि त्यहीँ छन।
६) होइन हाम्रो लक्ष्य समाजवाद हो भन्नेहरू पनि त्यहीँ छन।

त्यसैले यो एउटा खिचडी सरकारका रुपमा मुलुक समक्ष प्रस्तुत भएको छ। उनीहरूका साझा नीति र कार्यक्रम के हुन्छ  ? उनीहरूले हाम्रो पार्टी प्रति, बाम एकता प्रति कस्तो नीति अपनाउने छन ति सबै कुरा हेर्न बाँकी नै छ। 

५) वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति-

१)अन्तर्राष्ट्रिय स्थिति –

    – वर्तमान विश्व ठूलो उथलपुथल र परिवर्तनको बीच बाट अघि बढ्दैछ।
    – भू राजनीतिक शक्तिहरू अघि कहिल्यै भन्दा बढी सक्रिय भएको अवस्था छ।
    – नेपालको बारेमा उनीहरूको ध्यान दृष्टि पहिलेको भन्दा बढी केन्द्रित हुँदै गएको अवस्था छ।
    – युक्रेन युद्ध पछि बिश्वमा मुद्रा स्फिति,मुल्यबृद्धि,उत्पन्न संकट,खाध्यान्न संकट बढिरहेको छ। त्यसैले हाम्रो देशलाई पनि प्रभावित पारिरहेको छ। 
    – नेपालले बडो होशियारीपूर्वक अघि बढ्नुपर्ने अवस्था छ।

२) राष्ट्रिय स्थिति –

    – मुलुकको अर्थतन्त्र ठूलो संकटबाट गुज्रिरहेको छ  । उठेको राजस्वले सरकारको सामान्य खर्च पनि भ्याउन सक्ने अवस्था छैन।
    – चौतर्फी मूल्यवृद्धि र मुद्रास्फीति  बढिरहेको अवस्था छ।
    – व्यापारघाटा चुलिदै गहिरहेको छ।
   –  बिरोजगारीले विकराल रुप लिँदै गइरहेको छ।
    – माथिदेखि तलसम्म भ्रष्टाचार व्याप्त भएको अवस्था छ।
    – मुलुकको अर्थतन्त्र झन झन परनिर्भर हुँदै गएको छ। मुलुक विदेशी कम्पनीहरूका उत्पादनको बजार वा  उपभोक्ता मुलुकका रुपमा परिणत भएको छ।
   –  देशका मुख्य राजनीतिक पार्र्टीहरुप्रति जनतामा तीव्र असन्तोष, अविश्वास र वितृष्णा  बढिरहेको अवस्था छ।
    – नयाँ सरकार बनेको छ तर त्यो सरकारप्रति जनतामा कुनै आकर्षण, उत्साह र आशा पलाएको देखिँदैन।
    – सरकार बन्दा नबन्दै आलोचना, असन्तोष र पार्र्टीहरुबीच दोषारोपण सुरु भएको छ।
    – मुलुकको राष्ट्रियता माथि निरन्तर खतरा बढ्दो छ।
     – एक्काइसौं शताब्दीको तेस्रो दशकमा आइपुग्दा पनि हाम्रो देशको सिमाना अंकित हुन सकेको छैन।

यस्तो राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिका बीचमा यो नँया सरकार बनेको छ  । यो परिस्थिति नँया सरकारका सामु आफैमा ठुलो चुनौतीका रपमा खडा छ। 

६) यस्तो अवस्थामा हामीले यो सरकार प्रति कस्तो दृष्टिकोण लिनु उपयुक्त हुन्छ त ?

    – मुलुकमा कुनै न कुनै रूपको एउटा गठबंधनको सरकार बन्नै पर्ने थियो अहिले एउटा खिचडी सरकारले आकार लिएको छ वा लिँदैछ।
    – यो पुनरुत्थानबादी, रहस्यपूर्ण, संघीयता विरोधी, जबजबादी र समाजवादीहरूको मिश्रित सरकार हो। यसमा नेपाली समाजलाई अघि लाने र पछि तान्ने दुवै प्रकारका शक्तिहरु छन।
   –  मिहिनेत गरेको भए,दूरदर्शिता अपनाएको भए ,लचिलो भएको भए, एकअर्कालाई सम्मान गर्न सिकेको भए र आफ्ना गल्तीहरुलाई देख्न कोशिस गरेको भए र वाम शक्तिहरुबीच कार्यगत एकता गरौं भन्ने भावना समयमै भएको भए यति बेला मुलुकमा वामपन्थीहरुको साझा सरकार बन्ने थियो।
   –  तर आफूलाई ठूला हौँ भन्ने पार्टीहरू भित्र रहेको दम्भ, घमण्ड, महत्वकांक्षा र तुलनात्मक रुपले साना पार्टीहरूको भूमिकालाई व्यवस्था गर्ने र पुनरुत्थानबादी र दक्षिणपन्थीसँग अगालो नहाली अगाडि बढ्न नसक्ने गलत दृष्टिकोण र अदुरदर्शिताका कारणले अहिले देशमा खिचडी सरकार बन्न पुगेको छ।
    – यो सरकारले गृहमन्त्रालय जस्तो सुरक्षाका निम्ति अत्यन्त संवेदनशील मन्त्रालयलाई सर्वाेच्च अदालतमा नागरिकता बारेमा नै मुद्दा खेपिरहेका व्यक्तिलाई सुम्पिएको छ। त्यसले के परिणाम ल्याउने हो हेर्न बाँकी नै छ।
   –  त्यसो हुनाले हामीले यो सरकारलाई  आमरुपमा बिश्लेषणात्मक ढंगले हेर्नुपर्छ। त्यसले गर्ने सकारात्मक कामहरुलाई समर्थन गर्नुपर्छ र यसले गर्ने गलत कामहरूको आलोचना गर्नुपर्छ। हामीले सत्तामा सहभागी बन्न आतुर हुनुपर्ने कुनै कारण छैन।

७) सत्तामा सहभागी हुन आग्रह गरे के गर्ने ?

    सरकार वा सरकारमा सहभागी दलहरुले हाम्रो पार्र्टीलाई  सहभागी गराउने इच्छा भएमा ससम्मान औपचारिक पत्र पठाउनुपर्छ। त्यो पत्रको सारतत्वलाई हेरेर हाम्रो पार्टीको आधिकारिक निकायले के गर्ने भन्ने सम्बन्धमा संस्थागत रुपले छलफल गरी निर्णय गर्नुपर्दछ।


सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय गर्नुभन्दा पहिले यो सरकारका नीति, कार्यक्रम र उद्देश्य के हुनेछन ? हाम्रो प्रस्तावहरु के हुनेछन ? हाम्रो प्रस्तावलाई सरकारले मान्छ कि मान्दैन ? शक्ति बाँडफाँडको कुरा के हुन्छ ? हाम्रो बटमलाइन के हुन्छ ? त्यो बटमलाइन सहितको बाँडफाँडलाई सरकारले मान्छ कि मान्दैन ? यो सरकारले आफूलाई बाम सरकारका रुपमा रुपान्तरण गर्न मान्छ कि मान्दैन ? जस्ता प्रश्नहरूको समुचित ढंगले समाधान गर्नुपर्छ।


पाँच दलिय गठबन्धन तोडिसकेपछि वामपन्थीहरुका  बीचको गठबन्धन आजको आवश्यकता थियो र छ। त्यो सम्भव थियो। त्यो आजको आवश्यकता र औचित्य अनुरुप पनि हुने थियो। त्यसले हिजोको दुईतिहाइको बहुमतको सरकारले गर्न नसकेका वा नचाहेका कुरालाई पनि लागू गर्दै अघि बढ्न सक्थ्यो। त्यस्तो सरकार बनाउन सकेको भए आमजनतामा नयाँ आशा, विश्वास र उत्साह पनि सिर्जना हुने थियो।

तर जस्तो रुपको सरकार बनिरहेको छ र त्यसले मन्त्रालयको जसरी बाँडफाँड गरिरहेको छ त्यसले जनतामा शंका, अविश्वास र निराशालाई बढाइरहेको छ। त्यसैले यस्तो सरकारमा सहभागी हुन हाम्रो जस्तो क्रान्तिकारी विद्रोही पार्र्टीले लालायित हुन जरुरी छैन। बामपंथी एकताको सरकार बन्ने स्थितिमा हाम्रो पार्टी स्वतःत्यसमा सहभागी बन्ने सम्भावना आउन सक्छ।

८) वामपन्थी एकताका बारेमा

आज मात्र होइन हिजै देखि आमजनता र मुलुकले माग गरेको कुरा हो बृहत वामपन्थी एकता। अहिले पनि बृहत वामपन्थी एकताकै जरुरत छ। तर कोही सानो ठुलोको मापदण्ड अपनाइ रहेका छन। कोही छुवाछुतको नीतिमा हिडि रहेछन त कोही बदला लिने भाबमा चलिरहेका छन। यी कुनै कुराको पनि आवश्यकता र औचित्य छैन र थिएन पनि।

सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन। तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन। तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन। यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन।

त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि वढाउन सबै वामपन्थीहरुका बीच कार्यगत एकता आजको आवश्यकता हो। हाम्रो पार्टी सधै वामपन्थी एकताको पक्षमा छ र रहनेछ। तर वर्तमान सरकारको स्थिति हेर्दा नीति निष्ठता र सिद्धान्तनिष्ठता माथि आधारित एकता देखिँदैन।

९) अहिले पार्टी एकताका बारेमा चलिरहेको हल्लाका सम्बन्धमा

यतिबेला हाम्रो पार्र्टीका बारेमा कहिले यो पार्र्टीसँग विलय हुने र कहिले त्यो पार्र्टीसँग विलय हुने हल्लाहरु चलिरहेका छन। सार्बजनिक मिडिया र छापा मिडियामा पनि यस्ता हल्लाहरु चलिरहेका छन। यसबारेमा के कुरा प्रष्ट पार्न जरुरी छ भने हाम्रो पार्टी यतिबेला कसैसँग विलय हुने पक्षमा पनि छैन, कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा पनि छैन। हामीले सबै पार्र्टीहरूको हैसियत राम्ररी देखि रहेका छौं र अध्ययन गरिरहेका छौं।


हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ। कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकिकृत कम्यूनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो। नेपालको समाजवादी क्रान्तिको आवश्यकता हो। हामी सधै कम्यूनिष्ट एकताका पक्षमा छौं। तर कम्यूनिष्टहरु बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरुले चाहेर मात्र पनि हुँदैन। हामीले इतिहासमा धेरै तिता नमिठा अनुभवहरु भोगीसकेका छौं। कम्यूनिष्टहरmको बीचको एकता भनेको नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता हो। यो निस्वार्थ एकता हो।

नीति, सिद्धान्त र विधिमा एकरुपता छ वा हुन्छ भने फेरि पार्टी एकतालाई कसैले रोकेर रोक्न सक्दैन। नेकपा (माले) र नेकपा (एमाले) का अधिकांश कालमा हामीले यस्तै एकता कायम गरेका थियौं। ती एकताले पार्टी र आन्दोलनलाई सधै अग्रगति तीर लगेका थिए।


तर खास अवस्थामा केही खास नेताहरुका सनक वा लहड वा महत्वकांक्षाका आधारमा हठात गरिने एकताले कति दुखदायी परिणामहरू जन्मिन सक्छन भन्ने कुरा विगत ३ वर्षको अबधिमा  नेपालका लाखौँ कम्यूनिष्ट र जनताले रोइ रोइ भोग्नुपरिरहेको छ। त्यस्ता कुराले हजारौं योद्धाहरुका जीवन बिल्लीबाठ हुने खतरा हुन्छ  ।

हामीले त्यस्ता दुर्घटनाहरुबाट गहिरो शिक्षा लिनुपर्छ। पार्टी र पार्टी नेता कार्यकर्ताहरुलाई त्यस्ता दुखद परिणामहरु बाट बचाउनुपर्छ। हाम्रो एकता बैचारिक,राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक एकता हो। यस्तो एकताका निम्ति हामी सधैं तत्पर हुनुपर्छ। त्यस्तो सम्भावना देखिने वित्तिकै पक्रनु पर्छ र एकताको निम्ति अघि बढ्नुपर्छ। तर स्वार्थपूर्ण एकताका प्रस्ताबहरmबाट हामी हरबखत सर्तक हुनुपर्छ। नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकताका निम्ति भने हामीले सधै सक्रिय र दृढ बन्नुपर्छ।

१०) हामीले अब हिँड्नुपर्ने बाटो

यतिबेला हाम्रो पार्टीका भारेमा पार्टीभित्र र बाहिर विभिन्न प्रकारका भ्रमपूर्ण प्रचारवाजीहरु चलिरहेका छन्। हाम्रो पार्टी भित्रै पनि विभिन्न खाले चिन्तन प्रवृत्तिहरूले टाउको उठाइरहेका छन्।

पहिलो खाले चिन्तन देखिन्छ  ः अब हाम्रो पार्टी चल्दैन, यो राष्ट्रिय पार्टी पनि बनेन। त्यसैले यो पार्टी अघि बढ्न सक्दैन भन्ने चिन्तन। यो पलायनवादी र विसर्जनवादी चिन्तन हो। यदि हामी अहिले पार्टी जसरी चलिरहेको छ। त्यसरी नै चलिरहने हो भने यो पार्टी अझ बढी खुम्चिदै जान्छ र अन्त्यमा चल्न नसक्ने अवस्थामा पुग्छ। विगत डेढ वर्षको यात्राले त्यतैतिर संकेत गरेको छ।

दोस्रो खाले चिन्तन देखिन्छ : अब अलग ढंगले पार्टी चल्न नसक्ने हुनाले हामीले कि एमालेमा फर्किनुपर्छ कि माओवादी पार्टीमा विलय हुनुपर्छ। यो पनि अन्तिम विश्लेषणमा पलायनवादी र विसर्जनवादी चिन्तन नै हो। यो पार्टीले खाइरहेको धक्काबाट उत्पन्न निम्न पूँजीवादी हतासाबाट सिर्जित चिन्तनहरू हुन्। हामीले यस्ता गलत चिन्तनहरूको दृढतापूर्वक खण्डन गर्नुपर्छ।

अहिले हाम्रो पार्टीको व्यापक पंक्ति नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने पक्षमा छ। देश र प्रवासमा रहेका पार्टी कार्यकर्ताहरूको पङ्क्ति हामीले विगतको संमिक्षा गर्दै  पार्टीलाई व्यापक रुपले पुनर्गठित गरेर अघि बढाउनुपर्छ भन्ने पक्षमा छ। यो चिन्तन हाम्रो पार्टी पंक्तिमा रहेको मुख्य प्रवृत्ति हो।


वर्तमान अवस्थामा समाजवादको स्पष्ट लक्ष्य लिएर अघि बढ्ने पार्टी हाम्रो पार्टी नै हो। यो पार्टीलाई वैचारिक र संगठनात्मक दुबै हिसाबले पुनर्गठित गर्दै नयाँ आट, हिम्मत र ठोस योजनाका साथ अघि बढ्नुको विकल्प छैन।

यसका लागि हामीले निम्न कामहरु गर्दै अघि बढ्नुपर्छ। 

१) पार्टीको पुनर्गठनको काल देखि अहिलेसम्म अनुभवहरुको समग्र समीक्षा गरौ। आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढंगले उजागर गरौँ। हामीले गरेका सहि र गलत कुरालाई पहिचान गरौं।
२) हामी के कारणले राष्ट्रिय पार्टी सम्म पनि बन्न सकेनौ?त्यसका वैचारिक राजनीतिक र सांगठनिक कारणहरु के हुन? तिनीहरूलाई पत्ता लगाउँ र त्यस्ता गल्ती कमजोरीहरु फेरि कहिल्यै नदोहोरिने संकल्प गरौं। त्यसका लागि त्यहि एजेण्डामा  छलफल गर्न विशेष बैठक आयोजना गरौं।
३) वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाली समाजका क्रान्ति र रूपान्तरणका निम्ति हाम्रो कार्यदिशा,नीति, सिद्धान्त र लक्ष्यका बारेमा धारणाहरु दस्ताबेजीय.रुपमा प्रष्ट पारौ
४) यो कार्यदिशाका आधारमा अविलम्ब राष्ट्रिय सम्मेलन वा महाधिवेशन आयोजना गरौं।
५) त्यहि कार्यदिशाका आधारमा पार्टीलाई वैचारिक र संगठनात्मक रुपले व्यापक पुनर्गठन गरौं र पार्टीलाई उद्देश्यमूलक ढंगले सक्रिय र गतिशील बनाऔ।
६) पार्टी केन्द्रीय कमिटी ,प्रदेश कमिटी ,जिल्ला कमिटी ,पालिका कमिटीहरु, वडा कमिटी सम्मलाई व्यापक पुनर्गठन गरौ। छरिता,साना र कामकाजी  कमिटीहरु निर्माण गरौ।
७) पार्टीको कमिटी भित्र रहेका तर काम गर्न नसक्ने वा नचाहनेलाई उपयुक्त व्यवस्थापन गरौं। सल्लाहकार वा परिषदमा लैजाऔँ।
८) पार्टीमा माथिदेखि तलसम्म एक पद एक व्यक्ति प्रणाली कडाइका साथ लागू गरौँ र सबैलाई ठोस जिम्मेवारी मा केन्द्रित बनाऔ।
९) पार्टीका कार्यशैलीमा व्यापक सुधार गरौं। क्रान्तिकारी कार्यशैलीलाई  नयाँ स्तरबाट पुर्नस्थापित गरौ।
१०) पार्टीलाई आधारभूत वर्गका बीच लैजाऔँ र स्थापित गरौँ। भूमिहीन, गरिब, किसान, मध्यम किसान, श्रमिक वर्ग र निम्न  पुँजीपति वर्ग तथा बुद्धिजीवीहरू बीच पार्टी कामलाई व्यापक रुपले केन्द्रीत गरौ। वर्ग आधारित पार्टी निर्माण गर्ने काममा सचेत रुपले लागौं।
११) सबै तहका पार्टी कमिटीका सम्मेलनहरू गरौ। सबै नेता र कमिटीलाई जनअनुमोदित भएर अघि बढ्ने वातावरण बनाऔँ।  आजको यो एक हक प्रणाली, टीके प्रणाली र कृपा प्रणालीलाई अन्त गरौं।
१२) पार्टीको प्रचार कार्यलाई सबै मिडिया मार्फत व्यापक र प्रभावकारी बनाऔ। पार्टी मुखपत्र “समाजवाद  र कलम न्यूज लाई नियमित रुपमा प्रकाशित गरौं।
१३) नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला व्याप्त भइरहेको सत्ताबाद,कुर्सीबाद, पदवाद, पलायनवाद,लाभबाद, सम्झौतावाद, चाकडीबाद र कृपाबादका प्रबृतिहरुका विरुद्ध पार्टीव्यापी रुपमा वैचारिक संघर्ष र रुपान्तरणको अभियान सञ्चालन गरौं र पाटी पङ्क्तिलाई क्रान्तिकारी चेतना र दृष्ट्रिकोणले माथि उठाऔ। 
१४) नेपाली कम्युनिष्ट आन्दोलनमा यतिबेला हावी भइरहेको दक्षिणपन्थी औसरवादको विरुद्ध वैचारिक ‐सैद्धान्तिक खण्डन र आलोचनाको देशव्यापी आधी सिर्जना गरौ र सबै कम्युनिष्ट कार्यकर्ताहरुलाई दक्षिणपन्थी औसरवादको भ्रमबाट मुक्त पारौ।दक्षिणपन्थी औसरबाद विरुद्धका एकपछि अर्को पुस्तिका र ग्रन्थहरु तयार पारौं र पार्टी पंक्तिलाई व्यापक प्रशिक्षण गरौं। पार्टीको विकास र विस्तारका निम्ति वैचारिक संघर्ष मुख्य कडी हो भन्ने कुरालाई सधै मनमा राखौँ। 
१५) पार्टीका सबै बर्गीय संगठनहरुलाई सक्रिय गतिशील र जीवन्त बनाऔ।
१६) सवै वर्गीय संगठनहरुलाई निश्चित अवधिभित्र राष्ट्रिय सम्मेलनहरु सम्पन्न गर्ने र संगठनलाई संस्थागत रुपले अघि बढाउने वातावरण निर्माण गरौ।
१७) युवा विद्यार्थीहरुको परिचालन गर्ने सिनियर र योग्य कमरेडहरूलाई जिम्मेबारी दिऔ र जिम्मेवारीपूर्वक संचालन गरौं।
१८) पार्टीभित्र योजनाबद्ध रूपले प्रशिक्षणको अभियान तलैसम्म सञ्चालन गर्ने योजना बनाऔ।
१९) पार्टीको नेतृत्वमा वर्गीय संयुक्त मोर्चालाई व्यापक बनाएर अघि बढौं।
२०) पार्टीभित्र हाम्रो लक्ष्य र कार्यक्रमका बारेमा जबज र समाजवादका बारेमा नै निकै भ्रमहरु रहेका छन् त्यसबारेमा पार्टीभित्र योजनाबद्ध रूपले बहस छलफलको आयोजना गरौ र सिद्धान्तिक प्रष्टता कायम गरौ।
२१) नेपाली विशेषताको समाजबादको बारेमा हाम्रो धारणा प्रष्ट पारौ।
२२) पार्टी कार्यकर्ताका निम्ति स्तर अनुसारको पाठ्यक्रम तयार गरौं र त्यसका आधारमा प्रशिक्षणको अभियान चलाऔ।
२३)बहुआयमिक क्षेत्रबाट वर्गसंघर्षको विकास गर्नुपर्छ। राष्ट्रियताको सवाल, शोषण उत्पीडन विरोधी संघर्ष, महिला हिंसा बिरुद्धको संघषर्, विभेदका विरुद्धको संघर्ष, अन्धविश्वास बोक्सी डायनी विरुद्धको संघर्ष, आस्था परिबर्तन.विरुद्धको अभियान, वातावरणको रक्षाका निम्ति अभियान, किसानका हितहकका संघर्षहरु, किसानलाई मल,बिउ,बित्त प्रविधि बैज्ञानिक सेबा,बजार सेवा उपलब्ध गराउने संघर्षहरू अघि बढाऔ।
२४) विभिन्न क्षेत्र क्षेत्रमा प्रचार अभियानहरु संचालित गरौँ  र  व्यापक जनता बीचमा पार्टीलाई पुराआँ  
२५)  हामीले हाम्रा प्रचार र संघर्षहरmलाई संसद भित्र र बाहिरबाट अझ संशक्त रmपले अघि बढाउनुपर्छ। संसदबाट जनता, राष्ट्र र देशका आवाजलाई जोडदार रुपले उठाउनु पर्छ। क्रान्तिकारी संसदबादको कार्यनीतिलाई संसदीय दलले दृढता र कुशलतापूर्बक लागु गर्नुपर्छ तब मात्र समाजबाद प्राप्तिका निम्तिको जनमत बनाउन सकिन्छ र पार्टीलाई पनि बलियो बनाउदै लान सकिन्छ  । 
२६) यसरी हाम्रा आफ्नै कमजोरीहरुले गर्दा पार्टी पङ्क्तिमा सिर्जना भएका विभिन्न प्रकारका पलायनवादी चिन्तनहरु र प्रबृतिहरूको हामीले खण्डन गर्नुपर्छ। क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा पार्टीपंक्तिको चेतनालाई उन्नत धरातलमा उठाउनुपर्छ।  सिंगो पार्टी पंक्तिलाई उद्देश्यमूलक ढंगले क्रियाशील र गतिशील बनाउनुपर्छ। पार्टी सदस्यता विस्तारको अभियान चलाउनुपर्छ।

पार्टी कार्यकर्ता र कमिटीहरुको काम गर्ने गुणस्तरलाई उन्नत बनाउन पर्छ। संसद भित्र र बाहिरका कामहरुलाई कुशलतापूर्वक संचालन गदै देश र प्रवासबाट समेत पार्टीलाई सशक्त रुपले पुनर्गठन,विस्तार र सुदृढिकरणको बाटोमा अघि बढाउनुपर्छ। आजको चुनौतीपूर्ण घडीमा हामीले हिड्नुपर्ने बाटो यही हो।

(नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्दारा पार्टी स्थायी कमिटि बैठकमा शनिबार पेश गरेको प्रतिवेदनको सम्पादित अंश)

प्रतिक्रिया