सोमबार, जेठ ७, २०८१

मानवसेवा आश्रमको भवन बनाउन पोखरामा नेपथ्य कन्सर्ट

मेरोन्यूज २०७९ मंसिर २९ गते ११:११


पोखरा । पोखरामा निर्माणाधीन मानवसेवा आश्रमको भवन पूरा गर्नका लागि नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । मानवसेवा आश्रमकै आयोजनामा पुस १२ गते प्रदर्शनी केन्द्रमा कन्सर्ट हुन लागेको हो । नेपथ्यले देशब्यापी रुपमा कन्सर्ट गर्दै आएको छ । गण्डकी प्रदेशका ४ जिल्लामा मानवसेवा आश्रम सन्चालनमा छन् । कठिन परिस्थितिपछि परिवारबाट बाहिरिएर सडकमा आश्रित ब्यक्तिहरुलाई आश्रमले सहयोग गर्दै आएको छ । 

Advertisement

पोखरास्थित हेमजामा आश्रमका लागि तीन तले भवन निर्माणाधीन छ । सोही भवनका लागि आश्रमले कन्सर्ट गर्न लागेको हो । कन्सर्टबाट २५ लाख हाराहारी आम्दानी गर्ने र त्यसबाट भवनमा केही टेवा पुग्ने केन्द्रिय कोषाध्यक्ष होमनाथ मानवसेवाले बताए । भवन निर्माणका लागि १० करोड भन्दा बढी लागत लाग्ने अनुमान छ । 

यसअघि नै लायन्स क्लव ३२५ वी वानले १ तला निर्माणको जिम्मा लिएको छ । भाडाको घरमा चलिरहेको आश्रम अहिले आफैले जग्गा पाएपछि भवन निर्माणमा जुटेको हो । हाल आश्रममा १ सय २ जना पुरुष र ६३ महिला गरी १ सय ६५ जना आश्रित छन् । गण्डकी प्रदेश सरकारले गण्डकीलाई सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश घोषणा गरेको छ । 

मानवसेवा आश्रमसँग सहकार्य गरेर सरकारले दैनिक एकजना पीडितलाई १ सयका दरले मासिक ३ हजार दिने घोषणा गरेको छ । उक्त घोषणा अनुसार निरन्तर रकम पाएको उनले बताए । अहिलेको रकमले पनि भवन पूरा नहुने र पुनः महायज्ञ लगाउने तयारीमा रहेको कन्सर्टको प्रचार समिति संयोजक दिनेश शर्माले जानकारी दिए । मानवसेवा आश्रम पोखराले हालसम्म ९ सय जनालाई सडकबाट उद्धार गरेको छ भने ३ सय जना समाजमा पुनः स्थापित भएका छन् । 

८९ जनाले आश्रममै ज्यान गुमाएका छन् । ३ सय जना उपचारपछि आफै घर गएका छन् । अहिले पोखराको हेमजामा पुरुषलाई राखिएको छ भने छोरेपाटनमा महिलालाई राखिएको छ । भवन पूरा भएपछि महिला र पुरुष दुवैलाई एकै ठाउँमा राख्न सकिने शर्माले सुनाए ।  
 

प्रतिक्रिया