शनिबार, जेठ ५, २०८१

एमाले सचिव भारतमा, माओवादी उपमहासचिव चीनमा, भाजपाका नेता किन आए नेपालमा ?

मेरोन्यूज २०७९ मंसिर २५ गते १७:०८

काठमाडौँ । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुन यतिबेला चीनमा छन् । स्वास्थ्य उपचारका लागि उनी चीन गएका हुन् ।

Advertisement

उनले चीन जानेबेलामा राजनीतिक भेटघाट पनि हुन सक्ने बताएका थिए । यसैगरी नेकपा एमाले सचिव रघुवीर महासेठ भारतमा छन् । शनिबार साँझ उनी भारत पुगेका हुन् । उनी शनिबार साँझ भिस्तरा एयरबाट भारत पुगेका हुन् ।

यता सत्ता गठबन्धनको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । माओवादी उपमहासचिव पुन चीनमै रहँदा कांग्रेस माओवादीसहितको बैठकले यस्तो निर्णय भएको हो । पछिल्लोपटक निर्वाचनको परिणामलाई लिएर चिनियाँहरूले चासो व्यक्त गरिरहेका छन् । सो विषयमा नेता पुनले रिपोर्टिङ गर्ने बताइएको छ ।

तर, उनी चीन पुगेको भोलिपल्टै सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका नेता जगदम्बिका पाल नेपाल आएका थिए । लोकसभा सदस्य तथा उर्जासम्बन्धी संसदीय समितिका सभापति पाल दिउँसो १ बजे इण्डिगो एयरबाट काठमाडौं आइपुगेका हुन् ।

उनले नेपालमा एमाले सचिव महासेठसँग भेटवार्ता गरेको बताइए पनि त्यसको पुष्टि हुन सकेको छैन । पाल नेपाल आएको चार दिनमै महासेठ भारत पुगेका छन् । तर, पाल किन नेपाल आए भन्ने बारेमा केही जानकारी छैन ।

नेपालका सुरक्षा निकायले उनी आएको सुइको पाएपछि सुरक्षाकर्मी उपलब्ध गराएको थियो । गत कार्तिक १४ गते दिउँसो १ बजे ११ जनाको टोलीसहित आएर जगदम्बा सिमेण्टका साहुजीको महाराजगञ्जस्थित गेस्ट हाउसमा बसेका उनी भोलिपल्ट फर्केका थिए । मंगलबार रितेश पाण्डेसहित अरु दुई जना आए पनि उनीहरू भने नेपालमै छन् । उनीहरू अहिलेसम्म नफर्केको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

नेपालको राजनीतिमा भारत र चीनको बेग्ला बेग्लै चासो रहेको बेला पालको नेपाल भ्रमण र पुनको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ । निर्वाचनपछि भारतीय नेताहरूको ओहोर दोहोर चलिरहेको छ । तर निर्वाचनको सम्मुखमा चिनियाँ नेताहरूको टोली नेपाल आएका थिए ।

कात्तिकको अन्तिम साता नेपालमा चिनियाँ अधिकारीहरू नेपाल आएका थिए । चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन आफ्नो पाँच दिने भ्रमण गरेर फर्केका थिए । नेपालको निर्वाचनको मुखमा आएको चुन नेतृत्वको भ्रमण टोलीले औपचारिक रुपमा उच्च स्तरीय भेटवार्ता भने गरेन । चुनको भ्रमणलाई नेपाल सरकारले सहमति प्रदान नगरेकाले उनी अनौपचारिक गतिविधिमा सहभागी भएर स्वदेश फर्किएका थिए ।

नेपाल सरकारको तर्फबाट उक्त भ्रमण स्थगित गर्न अनुरोध गरिएको थियो । चिनियाँ पक्षले भ्रमणलाई अनौपचारिक र संस्कृतिक बनाउने भने पछि भ्रमण स्वीकृत गरिएको थियो । चुन उपत्यकाका सांस्कृतिक सम्पदाहरूको अवलोकन गरेर स्वदेश फर्किएका थिए ।

त्यतिबेला निर्वाचनको पूर्वसन्ध्यामा भएको चिनियाँ पक्षको यो भ्रमण अर्थपूर्ण रुप रहेको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् । भारत, अमेरिका र युरोपियन युनियनलगायतका देशहरूकै चासोका बीच चिनियाँ चासो पछिल्लो समय बढेको चुनको भ्रमणले देखाएको थियो ।

प्रतिक्रिया