मंगलबार, चैत ६, २०८०

मतदाता शिक्षा नपुग्दा स्थानीय तहभन्दा बढी मत बदर

मेरोन्यूज २०७९ मंसिर २२ गते ११:२४

भैरहवा ।  हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी रूपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत बदर भएको छ । रूपन्देहीमा कुल ६ लाख ३८ हजार ९ सय ९२ मतदाता रहेकामा पाँचवटै क्षेत्रमा गरी ४ लाख ३१ हजार ९ सय ७४ मत प्रत्यक्षतर्फ खसेको थियो  भने ४ लाख ३४ हजार ५ सय ६४ मत समानुपतिकतर्फ खसेको थियो । 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ कुल सदर मतको ५.६८ प्रतिशत बदर भएको छ । ४ लाख ७ हजार ४ सय ५३ मत सदर हुदा २४ हजार ५ सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले  जानकारी दिए । यस्तै समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको ४ लाख ३४ हजार ५ सय ६४ मतमा ५.४६ प्रतिशत अर्थात २३ हजार ७ सय ४३ मत बदर भएको छ । 

प्रदेशसभा प्रत्यक्षतर्फ खसेको ४ लाख ३१ हजार १७ मतमा ४.९९ प्रतिशत अर्थात २१ हजार ५ सय २४ मत बदर भएको छ भने प्रदेशसभा समानुपातिकतर्फ ४ लाख ३० हजार ८ सय ५७ मत खसेकामा ७.६९ प्रतिशत अर्थात ३३ हजार १ सय ४९ मत बदर भएको छ । 

समग्रमा करिब ५ दशमलव ९६ प्रतिशत बदर भएको छ, यसकाे कारण भने मतदाताले मतदाता शिक्षा नपाउनु हो । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि रुपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम गरेको थियो । रुपन्देहीको १ सय ५५ वटा वडामा मतदाता शिक्षा सहजकर्ता हुने गरि खटाइएको र १६ वटै पालिकाका अनुगमन अधिकृतहरुले तालिम लिई वडाका सहजकर्ताहरुलाई तालिम दिई , सहजकताले समिति गठन गरी वडा वडामा स्वंयसेविकाहरुको सहयोगमा शिक्षा दिएका थिए ।

४ वटा मतपत्रमा ४ वटा चिह्नमा मतदान गर्नुपर्ने भएकाले मतदाता झुक्किन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सहजता प्रदान गर्न मतदाता शिक्षा कार्यक्रम संचालन गरेको थियो । आयोगले नै मत बदर घटाउन देशभर करिब ५० करोड रुपैयाँ मतदाता शिक्षामा खर्च गरेको भए पनि ०७४ मा प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएकमा यस पटक बदर दर थप बढेको छ । स्थानीय तह निर्वाचनमा २.४ प्रतिशत मात्रै मत बदर भएको थियो ।

Advertisement

स्वयंसेविकामार्फत् मतदाता शिक्षा दिने नीतिअनुसार कतिपय स्वयंसेविका घरमै नपुग्ने र पुगे पनि राम्रोसँग मतदाता शिक्षा नपुग्दा बदर मत बढेको नेताहरुले निष्कर्ष छ । अहिले बदर हुने धेरैजसो एउटै मतपत्र धेरै छाप लगाइनु, औठाको छाप लगाउनु र कुनै पनि छाप नलगाई मतपेटिकमा राखेको भेटिएको थियो ।

प्रतिक्रिया