शुक्रबार, चैत १६, २०८०

डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

मेरोन्यूज २०७९ मंसिर २२ गते ९:३०


दाङ । दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन ।

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ । त्यस्तै मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ता अघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन ।

नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । मङ्सिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यस अघि र त्यस पछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए । उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ ।

उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि काठमाडौँबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो । त्यसले गर्दा केही सिट काठमाडौँबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो ।

अहिले एयरपोर्टमा १९ सिटे टुइनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् । अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम रु आठ हजार आठ सय १० छ भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ । रासस

Advertisement

प्रतिक्रिया