मंगलबार, चैत ६, २०८०

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच समझदारी

मेरोन्यूज २०७९ मंसिर २२ गते ८:५८

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभवसहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालयबीच समझदारी भएको हो ।

समझदारी गर्ने निर्णयसँगै लिथुवानियाबाट आएका टोलीले बुधबार प्रतिष्ठानअन्तर्गतको अस्पताल निरीक्षण तथा अवलोकनसमेत गरेको छ । त्यसक्रममा टोलीका सदस्यहरुले प्रतिष्ठानअन्तर्गत दिइने सेवाका विषयमा जानकारी समेत लिएका छन् । त्यसैगरी दुवै पक्ष एक अर्कालाई आ–आफ्नो अनुभव, विचार र दक्ष व्यक्तिको आदानप्रदानका विषयमा परामर्शसमेत गरियो ।

यो समझदारीबाट प्रतिष्ठानको सेवामा स्तरीयताका लागि सहयोग हुने प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहले बताए । प्रतिष्ठानबाट हुने विभिन्न अनुसन्धानको काममा समेत यो विश्वविद्यालय सहयोग गर्ने उनको भनाइ छ । समझदारी कसरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच गहन परामर्श भएकोसमेत प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा भिलनियस विश्वविद्यालयका प्रतिनिधिसहित प्रतिष्ठानका रजिष्ट्रार डा विनोद यादवसहितको उपस्थिति थियो ।

प्रतिक्रिया