शुक्रबार, वैशाख १४, २०८१

नेपाल-भारत सीमा समन्वय बैठक

महाकाली नदी किनारामा भारतले बनाइरहेको एकतर्फी संरचनाको काम रोक्ने सहमति

मेरोन्यूज २०७९ मंसिर २१ गते १८:५८

धनगढी । भारतले दार्चुलामा महाकाली नदीको किनारमा एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने भएको छ । नेपालको परराष्ट्र मन्त्रालयले भारतलाई तत्काल काम रोक्न माग गर्दै कुटनीतिक नोट समेत पठाएको सन्दर्भमा बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा भारतले ताटबन्धको काम रोक्ने सहमति भएको हो ।

सहमति अनुसार अव भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको काम रोक्नेछ । विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताएका छन् ।

‘विवादित ठाउँमा काम रोकेर अघि बढ्ने, भारतीय पक्षले निर्माण गरेका तथा प्राकृतिक रुपमा थुप्रिएका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमति भएको छ,’ प्रजिअ उपाध्यायले भने ।

उनका अनुसार, प्राकृतिक रुपमा जम्मा भएका नदीजन्य वस्तु, अस्थायी रुपमा हालिएका ग्याविन तारजाली र तटबन्ध भारतले हटाउने कुरा पनि सहमतिका क्रममा भएको छ ।

विवाद नभएका क्षेत्रमा भने भारतीय पक्षले काम यथावत राख्ने छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी उपाध्याय, सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको बैठकमा सहभागिता रहेको थियो ।

बैठकमा भारतको पिथौरागढका डिएम लगायतका सुरक्षा अधिकारीको सहभागिता थियो । भारतले सदरमुकाम नजिकैको बाङ्गाबगड क्षेत्रमा महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्न थालेपछि विवाद भएको थियो ।

प्रतिक्रिया