शुक्रबार, चैत १६, २०८०

कतार विश्वकप २०२२

पूर्व विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदैं मोरोक्को पहिलोपटक क्वार्टरफाइनलमा

मेरोन्यूज २०७९ मंसिर २० गते २३:३०

काठमाडौं । सन् २०१० को विश्वकप च्याम्पियन स्पेनमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। स्पेनमाथि जित निकाल्नेक्रममा मोरक्को छैटौँ प्रयासमा क्वार्टरफाइनल पुगेको हो। मोरक्कोले ३६ वर्षपछि नकआउट चरण पार गर्न सफल भएको हो।

स्पेनसँग पेनाल्टी सुटआउटमा ३-० ले विजयी हुँदा मोरक्को पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरेका थिए । बदर बनोउनेले भने हानेको बल गोल हुन सकेन ।

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठमा सुरक्षित गराउन सफल भए ।

मोरक्को र स्पेनबीचको निर्धारित ९० मिनेटको खेल र थप गरिएको ३० मिनेटका अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि खेलको निधो पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो ।

एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेल टाइव्रेकरको साहारमा निर्णय लिनुपर्ने अवस्थामा पुगेको थियो ।

Advertisement

स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन बोनोउलाई खासै समस्या भएको छैन । यता, मोरक्कोले काउन्टर अट्याकमा स्पेनको डिफेन्डरमाथि दवाव बढाएपनि गतिलो आक्रमण हुन सकेको छैन ।

१२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन । २७औं मिनेटमा मार्को एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो ।

५५औं मिनेटमा मार्को एसेन्सियोको फ्लिक फ्रिकिकमा ड्यानी ओल्मोको प्रहारलाई गोलरक्षक यासिन बोनोल पञ्च गर्दै बचाउँदा स्पेनले अग्रता लिन सकेन ।

८२औं मिनेटमा अल्भारो मोराटाले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ८६औं मिनेटमा अकरफ हाकिमीको क्रसमा वालिड चेडडिराले एक डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक सिमोनले नियन्त्रणमा लिन सफल भए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुन मोराटा चुके । उनको हेडरले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ड्यानियल ओल्मोको क्रसलाई गोलरक्षक बोनोउले अर्को सुन्दर बचाउँ गरे ।

अव आजै हुने पोर्चुगल र स्वीटजरल्यान्डवीचको खेलको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।

प्रतिक्रिया