शुक्रबार, वैशाख ७, २०८१

जो तीन वर्षपछि फेरि आँखा देख्ने भए !

मेरोन्यूज २०७९ मंसिर २० गते १५:३८

काठमाडौँ । पाँच पोखरी थाङ्पाल गाउँपालिका ६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी देखिए ।

तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्किँदाको खुसी उनको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि आँखा देख्न सक्ने भएका उनी खुसीले नाचे ।

तिलगंगा सामुदायिक आँखा केन्द्रले सोमबार मेलम्चीमा सञ्चालन गरेको निःशुल्क मोतिविन्दु शिविरमा आएका उनले आर्थिक अवस्था कमजोर हुँदा तीन वर्षदेखि उपचार गर्न पाएका थिएनन् ।

लामा जस्तै आँखाको ज्योति फिर्ता पाएर खुसी हुनेको संख्या धेरै थियो । मेलम्ची नगरपालिका १२ का बाबुराम भुजेलको आँखाको ज्योति पनि शिविरमा उपचार गराएपछि फर्किएको छ । शिविरमा आउँदा अरुको साहरामा आएका उनी घर जाँदा आफै हिँड्दै फर्किए ।

शिविरमा आएकी ७२ वर्षीय लीलामाया थापाले लामो समयपछि आँखाले हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनीसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ६५ वर्षीय निरमाई तामाङले पनि उपचार पाएकोमा शिविर आयोजना गर्नेलाई धन्यवाद दिइन् ।

मेलम्ची नगरपालिकाका साथै हेलम्बु, पाँचपोखरी थाङ्पाल, र इन्द्रावती गाउँपालिकामा मङ्सिर नौ देखि १५ सम्म मोतिविन्दु छनोट शिविर सञ्चालन भएको थियो ।

शिविरमा आयोजकले एक सय जना बिरामीको खाजा, खाना र बस्ने व्यवस्थासहित उपचार गराएको थियो ।

प्रतिक्रिया