शनिबार, वैशाख ८, २०८१

सिके राउतको काठमाडौंमा म्याराथन भेटघाट

एक सातामै भेटे सबै शीर्ष नेता, गठबन्धन दलसँग कस्सिदो मोर्चाबन्दी

मेरोन्यूज २०७९ मंसिर २० गते १४:४०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) यतिबेला राजनीतिक भेटघाटमा व्यस्त छन् । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राउतले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

निर्वाचित भएसँगै अध्यक्ष राउतको राजनीतिक व्यस्तता ह्वात्तै बढेको छ । उनलाई प्रधानमन्त्रीदेखि स्वतन्त्र रूपमा निर्वाचन जितेका उम्मेदवारलाई भेट्न भ्याइ नभ्याई देखिन्छ । कुनै बेला मधेशलाई छुट्टै देशको रूपमा स्थापित गर्नुपर्ने पक्षमा रहेका डा. राउत यतिबेला विखण्डनकारी मुद्दा छाडेर शान्तिपूर्ण राजनीतिमा सक्रिय छन् ।

सप्तरी २ बाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरसहित पराजित गरेसँगै राउतको राष्ट्रिय मिडियादेखि र राजनीतिक दलसम्म माग बढेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जिते पनि मधेशमा राउतको उदयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मधेशको नाममा लामो समयदेखि सत्ता राजनीतिका खेलाडी मानिएका जसपा अध्यक्ष यादवलाई पछि पार्दै उदाएका राउत राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित हुन खोज्दैछन् । उनले राजधानी काठमाडौं आएलगत्तै राजनीतिक भेटघाट बाक्लो बनाएका छन् ।

राउतको भेटघाट डेटलाइन

राउतले सबैभन्दा पहिलो भेट कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसँग गरे । गत बुधबार (१४ मंसिर) दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ ।

निधि निवास नयाँबानेश्वरमा भएको भेटघाटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा कुराकानी भएको उल्लेख छ । उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई समेत भेटेका छन् ।

त्यसपछि राउतले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । गत बिहीबार (१५ मंसिर) प्रधानमन्त्री देउवा र राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँग भएको भेटमा राउत सत्तारुढ गठबन्धनमा सामेल हुनेप्रति सकारात्मक थिए । नयाँ सरकार गठनमा सिके राउतको अपरिहार्यता महसुस गरेर प्रधानमन्त्री देउवाले उनलाई भेटेको देखिन्छ ।

बिहीबार साँझ नै गृहमन्त्री बालकृष्ण खाणको सरकारी निवास पुल्चोकमा राउत र खाणबीच भेटवार्ता भएको थियो । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ ।

यस्तै, बिहीबारै (१५ मंसिर) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा। राउतबीच भेटवार्ता भएको थियो । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तातमा भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान तथा आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र अध्यक्ष राउतबीच आइतबार भेटवार्ता भएको छ । बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ ।

आइतबार (१८ मंसिर) कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र अध्यक्ष राउतबीच खड्काको निजी निवास गल्फुटारमा भेटवार्ता भएको थियो । खड्काले राउतलाई उनको पार्टीको विजयका लागि बधाई तथा शुभकामना दिएको बताइएको छ। यस्तै, भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।

अध्यक्ष राउतले सांसद प्रभु साहसँग पनि भेटघाट गरेका छन् । अध्यक्ष सिके राउत र नेता साहबीच आइतबार भेटवार्ता भएको हो । साहले आफूहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । साह एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।

यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि अध्यक्ष राउतले भेटेका छन् । नेपाल निवास कोटेश्वरमा सोमबार (१९ मंसिर) उनीहरूबीच भेटवार्ता भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष नेपाल र जनमत पार्टीका अध्यक्ष डा। राउतबीच भेटवार्ता भएको हो । कोटेश्वरमा प्रचण्ड र नेपालको भेटवार्ता भइरहेको क्रममा जनमत पार्टीका अध्यक्ष राउत पनि पुगेका थिए । उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बुझिएको छ ।

अध्यक्ष राउत र लोसपा वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटघाट भएको छ । उनीहरुबीच सोमबार (१९ मंसिर) भेटवार्ता भएको हो । अध्यक्ष राउत र वरिष्ठ नेता महतोबीचको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

सोमबार नै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. राउत (सिके)बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा. भट्टराईले जानकारी दिए ।

राउत अहिले गठबन्धन दलका निम्ति दरिलो साथी हुन खोज्दै छन् । कुनै पनि दलको बहुमत पुग्ने स्थिति नभएकाले सरकारको धार्नी पुर्‍याउन थ्रेस होल्ड पार गरेका दलहरूलाई सरकारमा अटाउन खोजिँदै छ । जसको पहिलो विकल्प अध्यक्ष राउत नै रहेकोमा सत्ता गठबन्धनको पछिल्लो दौडधुपले पनि पुष्टि गरेको छ ।

प्रतिक्रिया